साप्ताहिक संवाददाता
छक्कापञ्जा तथा छक्कापञ्जा–२ को व्यवसायिक सफलतापछि आमा सरस्वती मुभिजको तेस्रो श्रृंखला ‘छक्कापञ्जा–३’ घटस्थापनाको दिन अर्थात असोज २४ गते बुधबारका दिनदेखि देशभरिका सिनेमा हलमा प्रदर्शन हुँदैछ । हास्यप्रधान भए पनि यसपटक चलचित्रले गम्भीर विषयवस्तु उठान गरेको निर्देशक दीपाश्री निरौलाको भनाइ छ ।
निरौलाका अनुसार यसपटकको छक्कापन्जाले नेपालको शिक्षा प्रणालीलाई आफ्नो विषय बनाएको छ । चलचित्रमा नेपाली शिक्षा प्रणालीलाई व्यङ्ग्यात्मक शैलीमा चित्रण गरिएको छ । देशभरीका झन्डै १ सय सिनेमा हलमा प्रदर्शन हुने छक्कापञ्जा–३ का चलचित्रको गीत तथा ट्रेलर दर्शकले मन पराइसकेका छन् । दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, दीपाश्री निरौला आदिको लगानी रहेको यो चलचित्रको कथा दीपकराज गिरीले तयार पारेका हुन् ।
रोशन श्रेष्ठको द्वन्द्व निर्देशनको यो चलचित्रमा कविराज गहतराज तथा प्रविन सिंहले कोरियोग्राफी गरेका छन् । छायांकार पुरुषोत्तम प्रधानले काभ्रे, पोखरा तथा नवलपरासीका रमणीय लोकेशनमा यो चलचित्रको छायांकन गरेका छन् । गत वैशाख २८ गते छायांकन प्रारम्भ भएको यो चलचित्रले करिब ७० दिन फ्लोरमा बिताएको थियो । यसमा झन्डै २ करोड रुपैयाँ लगानी भएको बताइन्छ ।
निर्देशक : दीपाश्री निरौला
कलाकार : दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, दीपिका प्रसाई, संजोग कोइराला, प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, बुद्धि तामाङ आदि ।
संगीत : दीपक शर्मा तथा अर्जुन पोखरेल