साप्ताहिक संवाददाता
दसैंका सामाजिक, सांस्कृतिक तथा आर्थिक पक्ष पनि क्रमश: बदलिँदै गएका छन् । पहिले दसैं भेटघाट गर्ने, मासु खाने, बलि चढाउने, टीका लगाउने, आशीर्वाद थाप्ने तथा दक्षिणा लिने–दिनेजस्ता कुराहरूमा सीमित थियो तर पछिल्ला वर्षहरूमा यसको सामाजिक, आर्थिक एवं सांस्कृतिक दायरामा व्यापक परिवर्तन आएको छ । तास, ड्रिक्स एवं जमघटका जस्ता कुराहरू दसैंका नयाँ विषय भएका छन् । बजारको घुइँचो, किनमेल, मोलमोलाई र दसैंका छुट अफरहरू पनि छुटाउनै नहुने विषय हुन् ।
कपडा व्यवसायीहरूका अनुसार दसैंमा झन्डै ३० अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने गरेको छ । दसैंमा मासु, लत्ताकपडा, ड्रिक्स, इलेक्ट्रोनिक्स सामान तथा सवारी साधनहरूको उल्लेख्य कारोबार हुन्छ । नेपाली समाजमा परम्परागत चलनजस्तै भैसकेको छ— दसैंमा सबैले एकजोर नयाँ लुगा लगाउनै पर्ने, मिठो मसिनो खानैपर्ने ।
पछिल्लो समयमा आफन्तहरूलाई दसैं–तिहारजस्ता पर्वमा गिफ्ट दिने चलनसमेत बढ्दो क्रममा छ । दसैं मनाउने तरिकाहरू पनि बदलिएका छन् । कोही दसैंको छुट्टीलाई उपयोग गर्न घुमघाममा निस्कँदैछन् भने कोही खसीको जोहो गर्दैछन्, जसले नेपाली अर्थतन्त्रलाई गतिशील बनाएको छ ।
धार्मिक आस्थाका हिसाबले मनाउन थालिएको भए पनि यो सबै नेपालीको साझा पर्व भएको छ । नेपालमा विविध जातजाति, धर्म एवं सम्प्रदायका मानिसहरू मिलेर बसेका छन् । यस्ता चाडपर्वमा पनि त्यही झझल्को मिल्छ । सबैले दसैंलाई सामाजिक सद्भाव एवं भ्रातृत्वको विकास गर्ने अवसरका रूपमा उपयोग गर्छन् ।