साप्ताहिक संवाददाता
चलचित्रको छायांकन सम्पन्न भए पछि प्राय: निर्माता–निर्देशकबीच सम्बन्ध चिसिएका उदाहरण धेरै छन् । चलचित्र इन्टु मिन्टु लन्डनमाकी निर्देशक रेनसा वान्तवा राई तथा सोही चलचित्रकी अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहबीच पानी बाराबार हुने गरी सम्बन्ध बिग्रिएको बताइन्छ । चलचित्र प्रदर्शन पूर्व आयोजित केही कार्यक्रममा सहभागिता नजाएकी साम्राज्ञी उक्त चलचित्र प्रदर्शन हुने अघिल्लो साता नै एउटा एवार्ड समारोहमा भाग लिन जापान उड्नि, त्यसले निर्माण पक्षलाई चोट पुर्यायो ।
चलचित्रको सफल प्रदर्शनपछि आयोजित सक्सेस पार्टीमा समेत विरामी भएको बताउँदै साम्राज्ञी अनुपस्थित भइन् । चलचित्रमा धीरज मगर र साम्राज्ञीको जोडी मन पराइएको प्रतिक्रिया आइरहे पनि सोही ब्यानरले निर्माण गर्ने नयाँ चलचित्र आइ एम ट्वान्टी वानमा भने साम्राज्ञी नहुने निश्चित भैसकेको छ ।
‘साम्राज्ञी अहिलेकी सबैभन्दा डिमान्डेड अभिनेत्री हुन्, उनलाई लिन निर्माताहरू दौडधूप गरिरहन्छन्, रेनशाले उक्त समारोहमा राखिएको एउटा जिज्ञासामा भनेकी थिइन्–‘हामीलाई समय दिन नभ्याएकी होलिन्, हामी उनको सुन्दर भविष्यको कामना गर्छौं । यद्यपि हामीले सक्सेस पार्टीमा उनलाई धेरै नै मिस गर्यौं ।’