सेतो धरती उपन्यासमा ०६८ सालको मदन पुरस्कार विजेता लेखक हुन्— अमर न्यौपाने । उनी सरल भाषा, मीठो शब्द संयोजन एवं सुन्दर प्रस्तुतीका लागि माहिर छन् । नेपालमा धेरै पढिने र धेरै रुचाइएका लेखक अमरका करोडौं कस्तूरी, पानीको घाम, कलिलो मन जस्ता कृति प्रकाशित छन् । उनको पहिलो कृति पानीको घामले २०६६ सालको पद्यमश्री साहित्य सम्मान प्राप्त गरेको थियो । त्यस्तै २०६७ मा बालकथा संग्रह कलिलो मनले पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार प्राप्त गरेको थियो । साहित्यकार अमर न्यौपानेको नजरमा नेपाली साहित्यका १० सदाबहार पुस्तक :
मुनामदन : महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदनमा मानवतावादी र लोकजीवनको सजीव चित्रण भेटिन्छ । यसको आकर्षक झ्याउरे लय तथा मन्त्र जस्ता लाग्ने हरफहरूले हर कसैको मन छुन्छ । दिमागभन्दा मन छुने पुस्तक हो— मुनामदन ।
नासो : गाउँको जीवनलाई टपक्कै टिपेर यथार्थ चित्रण गर्ने कुशल कथाकार हुन्— गुरुप्रसाद मैनाली । पाठकलाई पात्र र परिवेशभित्र तानेर पुर्याउने क्षमता नासो कथासंग्रहमा छ । यो कृतिमा संग्रहित कथाहरू २००७ सालपूर्व तथा पछिको अवधिमा लेखिएको हो । तत्कालीन समय र समाजको रीतिस्थितिका बारेमा लेखिएका मैनालीका कथामा झर्रो नेपाली भाषाको कलात्मक प्रयोग पाइन्छ । नासोमा ११ वटा कथा पढ्न पाइन्छ ।
वसन्ती : इतिहासलाई उपन्यास बनाउन सक्ने जादु भएका डायमण्डशमशेर राणाको वसन्तीले त्यस्ता मानिसलाई पनि छुन्छ, जसलाई इतिहासमा रुचि छैन । वसन्ती डायमण्ड शमशेरको ऐतिहासिक उपन्यास हो । आधारित यो उपन्यासको कथा दरबारकी नर्तकी वसन्ती, महारानीका प्रेमी गगनसिंह खवास, महारानी लक्ष्मीदेवी र जंगबहादुर राणाको वरिपरि घुम्छ ।
घुम्ने मेचमाथि अन्धो मान्छे : गद्य कविताको ट्रेन्डसेटरमध्ये एक हो, भूपी शेरचनको यो कविता–संग्रह । गोपालप्रसाद रिमालको विद्रोही कविता–संग्रह आमाको सपनाको उत्कर्ष रुप हो यो कविता–संग्रह ।
सुम्निमा : जीवन दर्शनको गहिराइ तथा चिन्तनको उच्चतम रुप हो— सुम्निमा । शरीर ठूलो कि आत्मा भन्ने विषयमा बिपी कोइराला कल्पना अद्भुत लाग्छ । सुम्निमामा सुम्निमा र सोमदत्तबीचको प्रेमको सेरोफेरोमा दुवैको यौन मनोविज्ञान विश्लेषण गरिएको छ । यो उपन्यासको सार प्रेमले मानिसलाई शारीरिक रूपमा टाढा भए पनि मानसिक रूपमा नजिक बनाउँछ भन्ने हो ।
राधा : पुराणलाई उपन्यास बनाउनु र भगवान्लाई मानवीकरण गर्नु नै राधा उपन्यासको शक्ति हो । यसको कथा भन्ने शैली र प्रवाह आकर्षक छ । कल्पनाशीलताका लागि पनि कृष्ण धरावासीको यो उपन्यास पठनीय छ । राधा भगवान् कृष्णको विख्यात प्राणसखी, ब्रज धामका मुखिया वृषभानुकी पुत्री हुन् । राधा–कृष्ण शाश्वत प्रेमका प्रतीक मानिन्छन् । राधाकी आमा कीर्तिका लागि वृषभानु पत्नी शब्द प्रयोग गरिन्छ । राधालाई कृष्णकी प्रेमिका त कतैकतै पत्नीका रूपमा उल्लेख गरिएको छ ।
उलार : निम्नवर्गका मानिसहरू, त्यसमा पनि मधेसको कथा । राजनीतिमा धेरैपछि मधेसको मुद्दा उठ्यो, साहित्यमा धेरै पहिले उलारमा उठाइएको थियो । छोटाछोटा वाक्य र वर्णनमा झड्का दिने गरी यसको कथा बुनिएको छ । उलार २०५३ सालमा पहिलोपल्ट तन्नेरी द्वैमासिक पत्रिकामा र २०५५ सालमा पुस्तकाकार रुपमा तन्नेरी प्रकाशनबाट प्रकाशित चर्चित नेपाली उपन्यास हो । एउटा निम्नवर्गीय टाँगा चालकको घोडाको मृत्युपछिको वियोगान्त कथा समेटिएको यो उपन्यास ८० पृष्ठको छ ।
कर्नाली ब्लुज : बुद्धिसागरको यो उपन्यास आकर्षक भाषाशैली तथा कलात्मक शिल्पका लागि प्रख्यात छ । सानासाना कुराको मिहिन वर्णन, जसलाई हामी त्यति वास्ता गर्दैनौं तर ती मन छुने खालका हुन्छन् । यस्ता अनेक प्रसंग नै यो उपन्यासको शक्ति हो ।
ल्याम्पपोस्टबाट खसेको जून : मनु मन्जिलको यो कविता–संग्रह कविता कतिसम्म कलात्मक हुन्छ भन्ने कुराको उच्चतम रूप हो । पढ्दै जाँदा कविताका डोबहरूले बाँधिरहन्छन् ।
सगरमाथाको गहिराइ : कथा भनेजस्तो लाग्ने यो पुस्तकका कविताको सबैभन्दा ठूलो शक्ति भनेकै भाषाको खेल र उक्ति वैचित्र्यता हो । कवि नवराज पराजुली साधारण कुरालाई विचित्र ढङ्गले भनेर ह्दयको तार हल्लाउँछन् ।