सूचना–प्रविधिमा दख्खल राख्ने इन्टरनेट प्रयोगकर्ताहरूको संख्या राजधानी तथा सहर केन्द्रित मात्र मानिने नेपालमा यो साता देशव्यापी रूपमा एउटा छुट्टै विषयले चर्चा पायो र त्यो हो ‘भीपीएन’ । युट्युब, फेसबुक, ट्विटर तथा इन्स्टाग्राममा मात्र रमाउने अधिकांश नेपाली इन्टरनेट प्रयोगकर्ताका बीचमा भीपीएनले देशव्यापी चर्चा पाउनुको कारण भने सरकारले गरेको वयस्क सामग्री प्रसारण तथा वितरण गरिने वेबसाइटमा रोक लगाउनु नै हो ।
के हो त भीपीएन ?
भीपीएनको विस्तारित रूप ‘भर्चुअल प्राइभेट नेटवर्क’ हो । पहिले व्यवसायिक गोपनियता तथा सुरक्षालाई मध्यनजर गर्दै प्रयोगमा ल्याइएको भीपीएन अहिले आइपी ठेगाना परिवर्तन गरी गोपनियता कायम गर्न तथा सरकारी एवं इन्टरनेट सेवा प्रदायकका सेन्सरसिप अनि वेबसाइट बन्देज बाइपास गर्न प्रयोग गरिन्छ । अनलाइनमा बिभिन्न प्रकारका भीपीएन सेवा उपलब्ध छन् जसका लागि भिन्न–भिन्न शुल्क तिर्नुपर्ने हुन्छ । केही भीपीएनको प्रयोगमा भने शुल्क लाग्दैन ।
किन चुलियो भीपीएनको चर्चा ?
भीपीएनको प्रयोग नेपालमा पहिलेदेखि नै हुँदै आएको हो । अनलाइनमा विभिन्न कार्य गर्दा गोपनिता कायम होस् वा नेपालमा उपलब्ध नभएका सेवाहरू, जस्तै गीत सुन्न स्पटिफाइ, चलचित्र हेर्न नेटफ्लिक्स होस् वा युट्युबमा नेपालमा प्रसारणमा रोक लगाइएका सामग्री हेर्न सामान्य स्तरमा पहिले देखि नै भीपीएनको प्रयोग हुँदै आएको हो । सरकारले केही समयअघि पोर्नमा बन्देज लगाएपछि यसको चर्चा ह्वात्तै चुलिएको छ । सरकारको उक्त कदम तर्कसंगत नरहेको मान्ने तथा सुचना प्रविधिमा दख्खल राख्ने विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरूले त्यसको विरोधस्वरुप सामाजिक सञ्जालमा भीपीएनको प्रयोगका सम्बन्धमा जानकारी दिँदै आएका छन् ।
कुन भीपीएन प्रयोग गर्ने ?
भीपीएन विभिन्न शुल्कमा उपलब्ध भए पनि धेरैजसो नेपाली भने नि:शुल्क भीपीएनको प्रयोगतर्फ आकर्षित पाइन्छन् । नि:शुल्क भीपीएनमा पनि विभिन्न समस्या सिर्जना हुन् सक्छन् । मोबाइल वा कम्प्युटरमा भीपीएन प्रयोग गर्दा राम्रो र विश्वासिलो ब्राण्डको भीपीएन प्रयोग गर्नु उचित हुन्छ । यसको उचित छनोट नगर्नु भनेको कम्प्युटरमा भाइरस, स्पामवेयर आदि घातक सफ्टवेयरलाई निम्तो दिनु नै हुन सक्छ । सबैभन्दा सजिलो रूपमा भीपीएन प्रयोग गर्न कम्प्युटरमा ‘अपेरा’ ब्राउजर प्रयोग गर्न सकिन्छ । यसमा ब्राउजरमै भीपीएन उपलब्ध हुन्छ, जसलाई पहिलो पटक प्रयोग गर्दा सेटिङ्समा गएर इनेबल गर्न सकिन्छ ।
पब्लिक डिएनएस
सन् २०१४ मा टर्कीको अदालतले त्यहाँको सरकार बिरोधी आन्दोलन ट्विटरको व्यापक प्रयोगका कारण चर्किएको निश्कर्ष सहित त्यसको प्रयोगमा प्रतिबन्ध लगायो । उक्त बन्देज बाइपास गर्न गुगलको पब्लिक डिएनस यति धेरै मात्रामा प्रयोग भयो कि सडकमा गुगलको पब्लिक डिएनएसको आइपी र त्यसलाई प्रयोग गर्ने विधिसमेत पेन्ट गरिएको फेला पर्यो । परिणामस्वरुप सरकार गुगलको पब्लिक डिएनएसलाई नै बन्देज लगाउन बाध्य भयो ।
के हो त पब्लिक डिएनएस ?
कुनै वेबसाइट खोल्न, ब्राउजरको एड्रेसबारमा वेबसाइटको ठेगाना (युआरएल र एड्रेस) हालेर इन्टर थिच्दा त्यसको रिक्वेस्ट इन्टरनेट सेवा प्रदायकको डिएनएस सरभरमा जान्छ । त्यसपछि सर्भरले वेबसाइटको आइपी ठेगाना ब्राउजरमा पठाउँछ । त्यसपश्चात वेबसाइट खुल्ने प्रक्रिया सुरु हुन्छ । गुगल, क्लाउडफेयर, नर्टन, कोमोडो, ओपन डिएनएस आदि केही कम्पनीले इन्टरनेट प्रयोग गर्दा सुरक्षा, सहजता, गति, गोपनियता तथा स्वतन्त्रता महसुस गर्न पाउन भन्ने उदेश्यका साथ डिएनएस सर्भर राखेका हुन्छन् । यसको प्रयोग सबैले गर्न सक्ने हुनाले यसलाई पब्लिक डिएनएस भनिएको हो ।
पब्लिक डिएनएस प्रयोग गर्दा बन्देज हुँदैन ?
पब्लिक डिएनएस प्रयोग गर्दा हाम्रो रिक्वेस्ट सीधै उसको सर्भरमा जाने हुनाले, इन्टरनेट सेवा प्रदायकको डिएनएस सर्भर सरकारले नियन्त्रण गरेझैं यसको सर्भर भने सरकारले नियन्त्रण गर्न सक्दैन । यो डिएनएस सर्भरमा कसैको सेन्सरसिप नहुने हुनाले सरकारले लगाएको बन्देज यसमा लागू हुँदैन ।