पोखरामा कात्तिक ९ गतेदेखि २० गतेसम्म हुने पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) को रौनक बढ्दै गएको छ । प्रतियोगितामा नेपालका ६ टिम सहभागी हुनेछन् । क्विन्स इभेन्टसले आयोजना गर्न लमगेको पीपीएलमा प्रतिस्पर्धा गर्ने फ्रेन्चाइज टिममा चितवन राइनोज, विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्सपर्ट धनगढी ब्लुज तथा हुलास काठमाडौं रोयल्स छन् । प्रतियोगिता पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुनेछ । यो प्रतियोगिताका लागि टिमको स्वामित्व, मार्की खेलाडी तथा अक्सन मार्फत खेलाडी छनौट सम्पन्न भैसकेको छ । अहिले पीपीएलका लागि मैदान सहित पिच निर्माण भैरहेको छ । सबै टिमले आफ्नो मार्कर्ी खेलाडीमा राष्ट्रिय टिमका बहुचर्चित सदस्यलाई नियुक्त गरेका छन् भने अक्सन मार्फत ६९ खेलाडी छानिएका छन् । दुई सातामा दर्ता भएका १ सय ७८ खेलाडीबीच उक्त अक्सन सम्पन्न गरिएको थियो । पीपीएलका लागि एउटा टिमले न्यूनतम १५ खेलाडी तथा अधिकतम १८ खेलाडी आबद्ध गर्ने प्रावधान छ । जसमा एक जना मार्की, न्यूनतम १० जना अक्सन मार्फत २ जना स्थानीय तथा २ जना अन्तर्राष्ट्रिय खेलाडी रहन सक्छन् ।
विराटनगर टाइटन्स
विराटनगर टाइटन्सको स्वामित्व पूर्वक्रिकेटर तथा व्यावसायी पारस लुनियासहितको टिमले लिएको छ । यसको मार्की प्लेयर युवा क्रिकेटर सन्दीप लामिछाने हुन् । विराटनगर टाइटन्सले अक्सन मार्फत १२ जना खेलाडीलाई आफ्नो टिममा आबद्ध गरेको छ । विराटनगरले दिपेश श्रेष्ठ ९० हजार, साहब आलम १ लाख ५० हजार, जितेन्द्र मुखिया ७५ हजार, राजेश पुलामी १ लाख ५० हजार, किशोर महतो ९० हजार, पुष्प थापा ५० हजार, प्रदीप ऐरी २ लाख ४० हजार, राजु रिजाल ८५ हजार, जितेन्द्र सिंह ठकुरी ७० हजार, सुनिल धमला २ लाख २० हजार, रविन जोशी ३० हजार तथा हिमांशु दत्त ५० हजार गरी कुल १३ लाख रुपैयाँ खेलाडी खरिदमा खर्च गरेको छ ।
बुटवल ब्लास्टर्स
बुटवल ब्लास्टर्सको स्वामित्व रमेश गौतमले लिएका छन् जसको ‘मार्की प्लेयर’ सोमपाल कामी हुन् । बुटबल ब्लास्टर्सले अक्सन मार्फत समसाद शेख ६० हजार, सिद्धान्त लोहनी १ लाख ६० हजार, हरिबहादुर चौहान १ लाख, ललित भण्डारी २ लाख, शंकर राना ८० हजार, पुरन विक ३० हजार, सागर पुन २ लाख ५० हजार, हसिम अन्सारी ५० हजार, भीम सार्की १ लाख ५० हजार, प्रकाश केसी ५० हजार, अभिनाश बोहोरा १ लाख, नितेष थापा ३० हजार, विपिन खत्री ३० हजार रुपैयाँमा खरिद गरेको छ । बुटवलले १२ लाख ९० हजार रुपैयाँ खेलाडी अक्सनमा लगानी गरेको छ ।
चितवन राइनोज
चितवन राइनोजको स्वामित्व युवा व्यवसायी राहुल महरासँग छ जसका मार्की प्लेयर पारस खड्का हुन् । चितवन राइनोजले अक्सन मार्फत अनिलकुमार साह तथा करण केसी, आरिफ शेखका लागि जनही २ लाख ५० हजार, भुवन कार्की १ लाख ५० हजार, रामनरेश गिरी ८५ हजार, सुमित मर्हजन ५० हजार, सोनु तामाङ ८५ हजार, विनोद लामा ७० हजार, हरिशंकर साह ९० हजार र शक्ति गौचन २ लाख १० हजार रुपैयाँ गरी कुल १४ लाख ९० हजार रुपैयाँ लगानी गरेको छ । शक्ति गौचनको मूल्य २ लाख १० हजार भए पनि अक्सनको सीमा १३ लाख कटेका कारण चितवनले २५ प्रतिशत पेनाल्टी तिर्दै उनलाई भित्र्याएको छ ।
एक्सपर्ट धनगढी ब्लुज
एक्सपर्ट धनगढी ब्लुजको स्वामित्व व्यवसायी सन्जीव शर्माले लिएका छन् । धनगढी ब्लुजका मार्की प्लेयर दीपेन्द्रसिंह ऐरी हुन् । धनगढीले मंजित श्रेष्ठ ५० हजार, योगेन्द्र सिंह कार्की १ लाख १० हजार, सन्तोष भट्ट ९० हजार, रोविन क्षेत्री ६० हजार, सन्दीप सुनार ९० हजार, कमल सिंह ऐरी १ लाख ५० हजार, दिलीप नाथ २ लाख ४० हजार, सागर ढकाल १ लाख ३० हजार, सन्दीप जोरा ९० हजार, फिर्दोस अन्सारी ३० हजार, सौरभ खनाल १ लाख, विक्रम ठगुन्ना ३० हजार, सन्दिप राजाली ३० हजार रुपैयाँ गरी कुल १२ लाख रुपैयाँ खेलाडीमा लगानी गरेको छ ।
हुलास काठमाडौं रोयल्स
हुलास काठमाडौं रोयल्सको स्वामित्व राज्यलक्ष्मी गोल्छासँग छ । यसका मार्की प्लेयर ज्ञानेन्द्र मल्ल हुन् । काठमाडौं रोयल्सले अक्सन मार्फत १० जना खेलाडी अनुबन्ध गरेको छ, जसमा पवन सरार्फ १ लाख ५० हजार, सुसन भारी १ लाख ५० हजार, पृथु बास्कोटा १ लाख २० हजार, अमरसिँह रौतेला १ लाख, आदिल खान ५० हजार, नरेश बुढाएर २ लाख ३० हजार, नन्दन यादव ५० हजार, बसन्त रेग्मी २ लाख ५० हजार, अमित श्रेष्ठ १ लाख ५० हजार, सुमित झा ३० हजार गरी कुल १२ लाख ८० हजार रुपैयाँ खेलाडीमा लगानी गरिएको छ ।
पोखरा पल्टन
पोखरा पल्टनको स्वामित्व व्यवसायी विनायक पोखरेलसँग छ जसको मार्की प्लेयर शरद भेषवाकर हुन् । पोखरा पल्टनले अक्सन मार्फत ११ जना खेलाडी चयन गरेको छ । यसका लागि पोखरा पल्टनले १२ लाख ९० हजार रुपैयाँ लगानी गरेको छ, जस अनुसार रोहितकुमार पौडेल २ लाख ५० हजार, विनोद भण्डारी २ लाख ३० हजार, ललितनारायण राजवंशी १ लाख, रसिद खान ७० हजार, कृष्ण कार्की १ लाख, कुशल भुर्तेल १ लाख ५० हजार, विक्रम भुसाल ५० हजार, महबुब आलम १ लाख ६० हजार, आसिफ शेख ८० हजार, ब्यान्सु मल्लिक ३० हजार, इशान पाण्डे ५० हजार रुपैयाँमा अनुबन्धित भएका छन् ।