विछोडको पीडा नसकी खप्न दसैंको बेलामा
सन् १९७० को दशकमा नारायणगोपालले दार्जीलिङ पुगी दिलमाया खातिसँग भेटेरै यो गीत गाउन आग्रह गरेका थिए । त्यसपछि कोलकतामा नारायण गोपाल र दिलमाया खातिको स्वरमा रेकर्ड गरिएको यो गीत रेडियो नेपालमा सबैभन्दा बढी बज्ने दर्सैंको गीतमध्ये एक हो ।
नमुछे आमा दहीमा टीका
नारायण रायमाझीले एकसरो लोकभाकामा गाएको यो गीत वि.सं.२०५७ मा कृष्णभक्त राईले विभिन्न बाजाका साथ गाएपछि चर्चित भएको थियो । भारतीय सेनामा रहेका रायमाझीका दाई लक्ष्मण रायमाझीले भारत–पाकिस्तानबीच भएको कारगिल युद्धका क्रममा सन् १९९९ ताका यो गीत लेखेका थिए ।
दसैं नै हो कि यो मेरो दशा
फर्की आएको
योगेश्वर अमात्यको स्वरको यो गीतमा फरक स्वाद पाइन्छ । यो गीतमा बढ्दो महँगीले नेपाली समाजलाई पारेको असर प्रतिविम्बित छ । न्ह्युँँ बज्राचार्यको संगीतको यो गीतको शब्द प्रेम बस्नेतले लेखेका हुन् ।
यसपालि दसैंमा ठूलो दाजु आउने रे
स्व. कुल पोखरेलको स्वरको यो गीतलाई अन्य गायकले पनि आफ्नो स्वर दिएर युट्युबमा राखेका छन् । यो गीत बालबालिकाहरूले विशेष मन पराउने गरेका छन् ।
यो दसैमां म घर आइनँ
यो गीतमा रेशम थापा र उद्धव कार्कीलाई सीता थापा र गीता कोइरालाले साथ दिएका छिन् । लोकदोहोरी मन नपराउनेहरूले समेत यो गीत गुनगुनाउने गरेका छन् । यो गीतमा परदेशबाट घर फर्कन नसकेका नेपालीहरूको यो पीडा समेटिएको छ ।
रातो टीका दसैंको जमरा
चलचित्र मनमन्दिरको यो गीतले पनि दसैंको झझल्को दिन्छ । राजेश हमाल र झरना थापामाथि फिल्माङ्कन गरिएको यो गीत दसैंमा निकै बज्छ ।
दसैं आयो
चलचित्र मुग्लानको यो गीत पछिल्लो पुस्ताका युवाहरूबीच चर्चित गीत हो । युवा–युवतीहरू दसैंका कार्यक्रमहरूमा यही गीतमा नाचिरहेका हुन्छन् ।
वर्ष र दिनमा लैलै
सुगम पोखरेलको स्वरको यो गीत पनि युवा पुस्ताले औधी रुचाइएको दसैं गीत हो । रवि श्रेष्ठको शब्दको यो गीत फरक स्वादको छ ।
थालैभरि रातो–रातो अक्षता र पाती
सुनिल गिरीको स्वर, संगीत तथा शब्दको यो गीत युट्युबमा डेढ लाख पटक भन्दा बढी हेरिसकिएको छ । यो गीतमा दसैंमा घर फर्किएको लाहुरे तथा गाउँको रमाइलो वातावरणको वर्णन गरिएको छ ।
परदेशबाट फरिया ल्याइदिउँला
शिव थापामगरको स्वर, शब्द तथा संगीतको यो गीत पनि चर्चित दसैं गीत हो । उदयराज पौडेलको संगीत संयोजनको लोकपप शैलीको यो गीतमा दसैंमा प्रदान गरिने उपहारका सम्बन्धमा वर्णन गरिएको छ ।