साप्ताहिक संवाददाता
धर्म र संस्कृतिले समाज उपयोगी कुरालाई विशेष मान्यता दिन्छ । त्यसै अनुरुप धेरै गुण भएको जौको जमरालाई दसैंका बेला विशेष महत्व दिइएको हो ।
घटस्थापनाको दिन राखिएको जमरा दसैंका दिन टीकासँगै लगाइन्छ ।
प्रकाश नआउने स्थानमा शुद्ध माटोमा जौलाई प्रकाश प्रवेश नहुने गरी छरेर उमारिएको पहेंलो जमरालाई धर्मशास्त्रमा समृद्धिको प्रतीक मानिन्छ । जौ अध्याँरो बनाएर शुद्ध स्थानमा माटोको भाँडामा राख्ने चलन छ ।
अँध्यारो ठाउँमा राख्दा जौको जमराको गुण अझ राम्रोसँग विकसित हुन्छ । छोपेर राखिएको जौको जमरा अष्टमीको दिन झिकेर पूजा गर्ने चलन छ । छोपिएको जमरालाई अष्टमीको दिनदेखि टीकाको दिनसम्म खुल्ला राख्दा यसको गुण अझ बढेर आउँछ ।
जमरा पुरुषको कान वा टोपीमा सिउरिदिने तथा महिलाको बाटिएको केशमा राखिदिने चलन छ । कसै–कसैले दसैंका दिन टीकासँगै जमराको मालासमेत लगाउँछन् ।
हिजोआज कतिपयले मकै तथा गहुँको पनि जमरा राख्छन् । यद्यपि जौको जमरा नै शुद्ध मानिन्छ ।