हिन्दूहरूको महान् पर्व दसैं–तिहारमा नेपालमा जति रौनक देखिन्छ विदेशमा समेत उस्तै रमझम हुन्छ । जन्मघर नेपाल आउन नपाएका धेरै नेपालीले प्रवासीमै विविध तरिकाले दसैं मनाउँछन् । आफन्त तथा मान्यजन नहुनेहरू साथीहरूसँग रमाउँछन् ।
प्रवासमा चाडपर्वका बेला विभिन्न खेल प्रतियोगिता एवं सांगीतिक कार्यक्रमहरू आयोजित गर्ने चलन पुरानै हो । नेपाली समुदायको बाक्लो बसोबास भएका स्थानहरूमा त नेपालकै गाउँघरमा जस्तै रौनक हुन्छ । अमेरिकाको टेक्सासमा बसोबास गर्ने सञ्चित कट्टेल भन्छन्, ‘नेपालमा जस्तो रमाइलो त हुँदैन तर आफन्त तथा साथीभाइको जमघटदेखि फुटबल प्रतियोगिता अनि कन्सर्टसम्मको मज्जा लिन पाइन्छ ।’
नेपालबाट कलाकारहरू झिकाएर सांगीतिक धुनमा रमाउनु त प्रवासीहरूको विशेषता नै हो । विदेशका नेपालीले खोलेका संघ–संस्थाहरूले दसैं–तिहार कन्सर्टको आयोजना गरिहाल्छन्, त्यसबाहेक ‘भाले जुधाई’, ‘हाँडी फुटाउने’ प्रतियोगितादेखि फुटबल प्रतियोगिता आदिले प्रवासको दसैंमा बेग्लै रौनक छर्छन् ।
यो वर्ष पनि विदेशका अधिकांश देशमा दसैं विशेष कार्यक्रमहरू भैरहेका छन् । टेक्सासको ड्यालसमा ‘७ औं दसैं कप फुटबल प्रतियोगिता’को भव्य तयारी गरिएको छ । त्यहाँ यो वर्ष नेपालका पूर्व राष्ट्रिय खेलाडी सुनिल तुलाधरलाई सम्मान गर्दै अक्टोबर १४ तारिखदेखि यो प्रतियोगिता सञ्चालनमा आउँदैछ ।
जापानको टोकियोमा भएका पत्रकार गोकर्ण अधिकारी भन्छन्, ‘जापानका रेस्टुराँहरू यतिबेला दसैंमय भएका छन् । सबै शुभकामना आदनप्रदानदेखि सांगीतिक कार्यक्रमहरूमा व्यस्त छन् ।’ अधिकारीका अनुसार त्यहाँ सबै नेपालीका आफन्त नभए पनि चिनजानका मान्यजनकहाँ गएर टीका तथा जमरा लगाउने र मीठो–मसिनो खाने चलन छ भने कतिपयले रेस्टुराँमै बसेर रमाइलो गर्छन् ।
हालै मात्र जापानको टोकियोमा आयोजित गायक रामकृष्ण बम मल्लको एकल साँझले दसैंको झझल्को दिइसकेको छ । त्यसबाहेक दसैं–तिहारकै अवसरमा जापानका १५ वटा सहरमा चलचित्र ‘छक्कापञ्जा–३’को प्रदर्शन हुन लागेकाले अर्को रौनक थपिएको छ । उता अष्ट्रेलियाको सिड्नीमा गायक प्रताप दास, प्रीति आले, हर्कुलस बस्नेत आदिले ‘दसैं रमझम साँझ–२०१८’ मा जोडदार प्रस्तुति दिएर दसैं भित्रिएको संकेत दिइसकेका छन् ।
नेपालीहरूको बाक्लो बसोबास रहेको बेलायतमा पनि दसैंको रौनक उस्तै छ । बेलायतका विभिन्न सहरमा विविध कार्यक्रमको तयारी भैरहेको छ । अक्टोबर १५ तारिखमा लन्डनको लड्स क्लबमा ‘सनराइज दसैं–तिहार शुभकामना साँझ’ प्रस्तुत हुँदैछ । उक्त कार्यक्रममा मिलनराज क्षेत्री, मिना लामा, सिता केसी, सुजन पराजुली आदिले प्रस्तुति दिँदैछन् ।
त्यस्तै हिन्दू पण्डित समाज बेलायतले लन्डन साउथहल मन्दिरमा बडादसैं भित्र्याउने तयारी गरेको छ । दसैं कार्यक्रमअन्तर्गत घटस्थापनामा विशेष पूजा गरी जमरा राख्ने, दैनिक दुर्गा सप्तशती चण्डीपाठ एवं आरती, सप्तमीका दिन फूलपाती भित्र्याउने, अष्टमीका दिन कालरात्री विशेष पूजा, नवमीका दिन नवदुर्गाका रूपमा नवकन्या पूजन गरी दशमीका दिन पूजा विसर्जन तथा जमरा वितरणको कार्यक्रम छ । नेपाल पत्रकार महासंघ, बेलायतका महासचिब संजयभक्त कंडेल भन्छन्, ‘बेलायतमा सामान्य नेपालीहरूले मात्र होइन, गोर्खा पल्टनहरूमा समेत फूलपाती भित्र्याउने तथा रमाइलो गर्ने चलन छ । त्यहाँ गोर्खा फौजका लागि परिवारसहित विशेष कार्यक्रमको आयोजना नै गरिन्छ ।’
युरोप, अमेरिका, क्यानाडा आदि देशमा दसैंको रौनक छाउँदा खाडी देशमा रहेका नेपालीहरूले पनि दसैंको भब्य तयारी गरिरहेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, कतार शाखाले अक्टोबर ५ तारिखमा गायक बद्री पंगेनीका साथमा दसैं–तिहार सांगीतिक साँझ सम्पन्न गरेर दसैंको स्वागत गरिसकेको छ । उता इजरायलमा पनि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्ले दसैं कप फुटबल प्रतियोगिताको तयारी गरिरहेको छ ।
प्रवासमा रहेका नेपालीहरूले चाडपर्व मनाउन मात्र होइन, आफ्नो मौलिक पहिचानका लागि पनि विशेष जमघट तथा विविध कार्यक्रम आयोजित गर्न थालेका छन् ।
सिड्नीमा नेपाल चंगा महोत्सव
दसैंका अवसरमा भोलि शनिबार अष्ट्ेरलियाको सिड्नीमा पाँचौं संस्करणको नेपाल चंगा महोत्सव–२०१८ हुँदैछ । नेपाली समुदायमाझ अत्यन्त लोकप्रिय यो फेस्टिभलको मुख्य आकर्षण चंगा उडाउनु भए पनि यो वर्ष आयोजना संस्थाले नेपालका लोकप्रिय गायक दीपक बज्राचार्य तथा उनको रिदम ब्यान्डलाई प्रमुख आकर्षण बनाएको छ ।
उक्त कार्यक्रम स्थानीय समयअनुसार दिउँसो १२ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुने बताइएको छ । कार्यक्रमको निर्धारित तालिकाअनुसार दिउँसो १२ बजेदेखि ५ बजेसम्म स्थानीय कलाकारहरूको प्रस्तुति, चंगा उडान प्रतियोगिता, म:म खाने प्रतियोगिता, रथ जात्रा, लाखे नृत्य, पुलुकिसी नृत्य आदि सञ्चालन गरिनेछ ।
कार्यक्रममा आठ वटा फरक–फरक फुड स्टलको व्यवस्था गरिएको छ । त्यसका साथै बालबालिकाहरूका लागि जम्पिङ क्यास्टल, फेस पेन्टिङसहितका मनोरञ्जक कार्यक्रमहरू समेत सञ्चालन गरिनेछ । आयोजक गुठि अष्ट्ेरलियाका अध्यक्ष शिव श्रेष्ठका अनुसार उक्त कार्यक्रममा सहभागिताका लागि कुनै शुल्क लाग्ने छैन, यद्यपि चंगा तथा लट्टाई भने निश्चित शुल्कतिरी भाडामा लिनु पर्नेछ ।
घर विदा लिएर दसैं
सचित कट्टेल
टेक्सास, अमेरिका
एक दशकदेखि अमेरिकाको टेक्सासमा भएका इलाम, फिक्कलका सचित कट्टेल विशेषत: आफ्नै सर्कलमा भएका मान्यजनबाट टीका लगाउँछन् । आफन्तहरू नभए पनि साथी सर्कलसँगै बसेर तासमा रमाउने तथा विभिन्न परिकार बनाएर खाने गरेको उनी सुनाउँछन् । कट्टेल त्यसबाहेक नेपाली समुदायले आयोजना गर्ने कन्सर्ट तथा फुटबल टुर्नामेन्टहरूमा पुग्छन् । एनिमल ल का कारण मार हान्न बन्देज लगाइएकाले अमेरिकामा हिन्दू परम्परा अनुसार पशु बलि दिन पाइँदैन भने त्यहाँ पिङ हाल्ने चलन पनि छैन । यद्यपि हिन्दू मन्दिरहरूमा भने दस दिनसम्म दुर्गा पूजा लगाउने चलन छ । घरमै जमरा
उमार्ने तथा रातो अक्षता लगाएर आशीर्वाद लिने चलन भने यथावत रहेको कट्टेलले बताए । सचित भन्छन्– सार्वजनिक बिदा नभए पनि घर बिदा लिएर दसैंमा रमाउने परम्परा रहँदै आएको छ ।
आलोपालो बिदा मिलाएर टीका लगाउँछौं
प्रमोद राय क्षेत्री
दोहा, कतार
विगत चार बर्षदेखि कतारको दोहामा कार्यरत हरिवन, सर्लाहीका प्रमोद राय क्षेत्रीले प्रवासमा दसैं मनाएको तीन बर्ष भयो । नेपालमा आफ्नै घर परिवारसँग जस्तो रमाइलो नभए पनि साथीभाइ भेटेर रमाइलो गर्ने र टीका लगाउने राय बताउँछन् । मुस्लिम समुदायको बाहुल्यता भएको कतारमा दसैंको खासै महत्व नभए पनि आ–आफ्नो क्याम्पमा बसेर सामूहिक टीका लगाइन्छ । सबैलाई बिदा मिल्दैन । पालो–पालो बिदा मिलाएर साथीहरूसँग भेट्ने र जमरा नभए पनि रातो अक्षता भने टाँस्ने उनले बताए । दसैंमा नेपालमा भएका आफन्तसँग फेसबुक, भाइबर आदि माध्यमबाट दुख–सुख आदनप्रदान गरिन्छ । पिङ देख्न नपाए पनि साथीहरू मिलेर मार हान्ने गरेको राय बताउँछन् । मन्दिर नभएकाले कोठामै दुर्गाको तस्बिर टाँसेर पूजाआजा गर्छौं । दोहाको कर्नेस, सनैया नेपालीहरू धेरै भेटिने स्थान हो । त्यहाँ हामी भेला हुन्छौं र मीठा परिकारहरू खाँदै नाचगान गर्छौं । आलोपालो बिदा मिलाएर बिहान टीका लगाउनु तथा साँझपख रमाइलो गर्नु यहाँको पुरानै चलन हो ।
जमरा राख्छौं, मारकाट गर्दैनौं
अर्जुन कुमार श्रेष्ठ
स्वीडेन
एनआरएनए स्वीडेनका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ पुर्खौली घर पर्वतको कुश्माबाट स्वीडेन पुगेको एकदशक भैसकेको छ । श्रेष्ठले एकाधबाहेक सबै दसैं स्वीडेनमै मनाएका छन् । उनले कुनै वर्ष आमा–बुबालाई स्वीडेन नै बोलाएर पनि टीका तथा आशीर्वाद ग्रहण गरे । बर्सेनि एनआरएनएले दसैंमा सामूहिक टीका लगाउने कार्यक्रमको आयोजना गरे पनि यो वर्ष आ–आफ्नै तरिकाले मनाउने तयारी भैरहेको उनले बताए । श्रेष्ठका अनुसार यहाँ मठ मन्दिर नभएकाले घरमै जमरा राखिन्छ अनि टीका तथा आशीर्वाद आदानप्रदान गरिन्छ ।’ यसपटक यहाँ भएका आफन्त बोलाउने र नाचगान गर्ने, घुम्न जाने र मीठोपरिकार बनाएर खाने उनको योजना छ । मारकाट गर्ने र फूलपाती भित्र्याउने मेलो नजुरे पनि जमरा चाहीं राख्ने गरिएको श्रेष्ठले बताए ।