साप्ताहिक संवाददाता
ट्रेलर र गीतबाट निकै चर्चा कमाएको चलचित्र जय भोले प्रदर्शनका लागि तयार भएको छ । यो चलचित्र यही असोज ३० गते फूलपातीको दिनदेखि देशभरका हलमा एकसाथ प्रदर्शनमा आउँदैछ । एक महिनाअघि सार्वजनिक ट्रेलर अनुसार यो चलचित्र हास्यले भरिपूर्ण छ । उक्त ट्रेलर सार्वजनिक भएको एक महिनामा १० लाख पटक हेरिसकिएको छ ।
झन्डै २ करोडमा निर्माण सम्पन्न भएको यो चलचित्रमा नाम चलेका कलाकारहरूले अभिनय गरेकाले पनि यसको छुट्टै चर्चा छ । किरण शर्मा, कृति शर्मा तथा अंकित शर्माले संयुक्त रूपमा निर्माण गरेको चलचित्र जय भोलेले दर्शकलाई निराश नबनाउने निर्देशक अशोक शर्माको दाबी छ । झन्डै २ महिना लगाएर छायांकन गरिएको यो चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।
चलचित्रको कथा स्वयं अभिनेता खगेन्द्र लामिछानेले लेखेका छन् । उनले झन्डै १ वर्ष लगाएर जय भोलेको कथा लेखेका हुन् । काठमाडौं तथा बाहिरका जिल्लामा समेत खिचिएको यो चलचित्र झन्डै १ सय हलमा एकसाथ प्रदर्शन हुने निर्देशक शर्माले बताए ।
निर्देशक : अशोक शर्मा
कलाकार : सौगात मल्ल, खगेन्द्र लामिछाने, सलोन बस्नेत, स्वस्तिमा खड्का, बुद्धि तामाङ, राजाराम पौडेल, लक्ष्मी गिरी, बसुन्धरा भुषाल आदि ।
संगीत : राजनराज शिवाकोटी