लखरठ्याँकलाई पनि दसैं मज्जासँग लागेको छ । किन–किन नेपालीहरूलाई दसैंं आउनुको स्वाद नै बेग्लै हुन्छ, हुने गरेको छ । उहिले दसैंं ऋण बोकाउन आउँथ्यो । अहिलेको दसैंं वर्षभरिको खर्च उठाउन र अनधिकृत बजेट जुटाउन आउन थालेको छ । यो त ठूलै परिवर्तनको सङ्केत हैन र ? हैन भन्ने लाग्छ भने दसैंंको सेरोफेरोमा यो लखरठ्याँकले देखे–भोगेका केही दृश्यचित्र हेरौं त :
दृश्य : एक
अरू बेला निदाए पनि दसैंं आउनुभन्दा एक महिनाअघिदेखि नेपालको प्रहरीशक्ति सर्वाधिक क्रियाशील हुन्छ । त्यसमाथि पनि ट्राफिक जातको प्रहरीको त कुरै बेग्लै छ । देशभरिकै ट्राफिक प्रहरीका सकल दर्जामा जोश जाँगर र साँच्चिकै कडाइपनको सक्कली रूप यहीबेलामा मात्र देख्न पाइन्छ । यो लखरठ्याँकको मुकाम देशकै राजधानीमा छ । दसैंं आउनुभन्दा दुई हप्ता अगाडिकै एकदिन खटारा मोटरसाइकलमा सवार भई लखरठ्याँक केही सामान्य किनमेलका निम्ति सहर पस्तो भयो । कुनै पनि चोक पुग्नुभन्दा अगाडिका गल्छेडा र मोडमा हातमा ‘चिट’ को बुक बोकेर आठ–दस जना ट्राफिक तैनाथ छन् । कहि मोटरसाइकल वा स्कुटर मात्र चेकिङ, काहीँ टेम्पो, कार, माइक्रो मात्र चेकिङ, कहीं बस, मिनीबस मात्र चेकिङ, कहि भने मालबाहक टाटामोबाइल, ट्रक–मिनीट्रकको मात्र चेकिङ । काठमाडौं उपत्यकाका सडक यसै त जाम, त्यहाँमाथि जताततै सुरु भएको छ बेला न कुबेला ट्राफिकको चेकिङले डब्बल जाम । कोही पनि कहीँ कतैबाट फुत्किने चानस नै छैन ।
लामो जाम छिचोलेर म बल्ल चेकिङ प्वााइन्टको केही नजिक पुगेको थिएँ, मभन्दा अलि अघिल्लो बाइकवाला चेकजाँच सकेर देब्रेतिरकै गल्लीतर्फ मोडियो, बाटो अलि खुकुलो देखेर मैले आफ्नो बाइक दुई मिटर जति अगाडि के सारेको थिएँ, ट्राफिक जवान सरासर मभए ठाउँ आयो र बाइकको साँचो थुत्यो । मभन्दा अगाडि तीन–चारवटा बाइक छँदैथिए, चेकिङ चलिरहेकै थियो । बाइक घिसारेर म साइड लागेँ, सुरु भो मेरो विशेष जाँच– लाइसेन्स माग्यो– दिएँ, बिलबुक माग्यो दिएँ, हेडलाइट बाल्न भन्यो बालें, ब्रेक हान्न भन्यो हानें । त्यसपछि उसले एक फन्को लगायो र ‘चिट’ काट्न थाल्यो । मैले प्रतिवाद गरें– ‘सबै त ठिकै छ, फेरि किन ‘चिट’ ?’ ‘अनि किन लेन मिचेको त ?’ ऊ रन्कियो, म थन्किएँ । निकै बेरपछि ऊ मेरो छेउमा आएर फेरि फुस्फुसायो– ‘दसैं आएको थाहा छँदैछ, बग्गीखाना गए ५ सय, यही तिरे हजार, के गर्ने ?’ म अवाक भएर निकैबेर टोलाएँ । उपाय नास्ति । ५ सयको नोट थमाएँ, अनेक बिन्ती भाउ गरें मानेन । दुईवटा ५ सयको नोट हात लागेपछि मुसुक्क हाँस्दै उसले लाइसेन्स र ब्ल्युबुक फिर्ता दियो । अब खल्तीमा बचेको ५ सय लिएर के किनमेल गर्न जाने ? लखरठ्याँक लोत्रेकान लगाएर जताबाट आएको थियो उतै फर्कियो ।
दृश्य : दुई
दसैंं आउन एक हप्ता बाँकी थियो । काठमाडौंमा डेरा बसेको लखरठ्याँक दसैंं मान्न स–परिवार सुदूरपूर्वको घरजाने योजनामा छ । पोहोर पनि गइएन, यसपालि त नगई हुँदै भएन । भान्टाङभुन्टुङ दुई र उनीहरूका बाउआमा दुई । आमाचाहिंको पेटमा सात महिनाको प्युसो हुर्कंदैछ । प्रसुति डाक्टरले भनेका छन्– यात्रा भरसक नगर्नू, गर्नैपरे सुविधापूर्ण र अत्यन्त सहज किसिमको मात्र । सहज र सुविधापूर्ण यात्रा त हवाइजहाजकै होला !
लखरठ्याँक हवाइटिकटका लागि निस्कियो । ट्राफिकजाँच जारी नै थियो– बडो सतर्कतापूर्वक ऊ सरकारी एयरलाइन्स पुग्यो । ‘टिकट सकिएको एक हप्ता भो, तपाईं अहिले आउने टिकट लिन ? त्यो पनि चार–चारवटा ?’ काउन्टरका केटीहरूको कुरो सुनेर ऊ छक्क पर्यो । गैरसरकारी एयरहरूको टिकट त कसो नपाइएला, भलै अलिकति महंगो न पर्ला ।
लखरठ्याँक लाग्यो एयरहरूका काउन्टरतिर । यता दगुर्यो छैन, उता दगुर्यो छैन । छैन, छैन, छँदै छैन । क्या फसाद † लामो सुस्केरा हालेर फर्कनै लाग्दा एउटा काउन्टरको जुँगामुठेले भीडबाट अलि परतिर तानेर कानमा फुस्फुसायो– ‘तपाईंलाई अप्ठेरै परेजस्तो छ, प्रतिटिकटको २० हजार बेहोर्ने हो भने खोजखाज गरेर मिलाइदिउँला, हुन्छ ?’ उसको दिमागमा झड्का हान्यो– घर जान चारजनाको हवाइभाडा ८० हजार ? अझ प्लेनबाट ओर्लेर साढे दुई घण्टाको गाडीयात्रा त बाँकी छ... ।
दृश्य : तीन
जे जसो होला, लखरठ्याँक खटारा बाइक हाँकेर पुग्यो बसको टिकट लिन कलङ्की बसपार्क । बाइक पार्किङ गर्न भ्याउँदा नभ्याउँदै एउटा ठूलो हूल उसलाई घेर्न आइपुग्यो । कहा जाने, कति नम्बरको सिट चाहियो, कतिवटा टिकट, यता आउनुस् भिडियो हेर्दै जाने, उता आउनोस् फ्री वाइफाइ ! बिस्तारै उसलाई तान्नै थाले । घरी यता लतारिन्छ, घरी उता लतारिन्छ । हैन यो केको फजिती हो ? ऊ करिब–करिब लाप्पा खेल्दै हेल्मेट काखी चेपेर मुस्किलले एउटा काउन्टरभित्र छिर्यो र टिकाको अघिल्लो दिनका लागि नाइटबसको चारवटा टिकट माग्यो । काउन्टरको अर्को जुँगेमुठेले उसलाई शिरदेखि पाउसम्म हेर्दै भन्यो–
‘आज आएर टिकट पाइन्छ त ? हिजो खुलेको टिकट हिजै सकियो ।’
‘टिकट सकिएको भए ती बाहिरका केटाहरू कहाँबाट टिकट दिन भनेर यात्रुलाई तानिरहेका छन् त प्रभु ?’ प्रभु मात्रै भनेन, उसले हात पनि जोड्यो । जुँगे एकपटक जोडले हाँस्यो र उसले भन्यो– ‘त्यो त उनीहरूसँगै सोध्नुस् बा...!’ आजित भएर लखरठ्याँक काउन्टरबाट बाहिर निस्किएर खुइय गर्दै पेटीमा टुसुक्क बस्यो । छेउमा अघिकै ठिटाहरू यात्रुसँग बार्गेनिङ गरिरहेका थिए । सरकार र व्यवसायीसँग संझौता गरेर हालै कायम गरिएको एक हजार दरको भाडामा उनीहरू पाँच हजारसम्म मागिरहेका छन् । उनीहरूले मागे जति पैसा दिन तयार हुने यात्रुलाई टिकट दिन सटरपटर गरिरहेकै छन् । यो देखेसुनेर लखतरान पर्दै डेरा पुगेको लखरठ्याँकले यसपालिको दसैंं कतै नगई काठमाडौंको डेरामै मनाउने घोषणा गर्यो ।
दृश्य : चार
जहा जसरी भए पनि दसैं त मनाउनै पर्यो– जो आइनै सक्यो । दसैंं भनेको त फेरि पनि खसी नै हो । दसैंमा नयाँ लुगा आफैंले रोजेर किन भन्दै हातमा राखिदिएको ३/३ हजार रुपैंयाँमध्ये छोराले त समात्दै समातेन, छोरीले भने समाते पनि अमिलो मुख लगाएकी छ । छोरीछोरीको कलेज फि, कोठाभाडा, सापटी तिरनतारन गर्दा बाँकी छ ५ हजार । बल्लबल्ल आएको दसैंं, सानोतिनो भए पनि खसी नै नढाले के दसैंं ? भन्दै छोराछोरीकी माउ अघिल्लै हप्तादेखि गनगनाइरहेकी छे । उसको गनगन सुन्न नसकी फूलपातीको तीनचार दिनअघिदेखि नै लखरठ्याँक खसी बजार धाउँदै छ ।
अलि सस्तेला कि भन्दाभन्दै फूलपाती आइहाल्यो । खाद्य संस्थानदेखि भएभरका सबै खसीबजार चहार्दा–चहार्दै खसीको मोल सुनेर उसलाई रिँगटा लाग्न थाल्यो । अघिल्लो दिन ७/८ किलोको खस्यौटोलाई १५ हजार भनेको थियो– खोज्दै गयो, बिकेको रहेनछ, भेट्यो । खसीवालाले पनि चिनिहाल्यो– ‘हिजै लगेको भए हुन्थ्यो क्यारे, आज त १८ हजार गन्नुस्’ पो भन्छ । ए उल्का † अर्को एक फन्का मार्दा अर्को एउटा त्यै ८ किलोजतिकै खस्यौटो फेला पर्यो । मोलमोलाइ गर्दा त २२ हजार घटीमा दिदैदिन्न रे † नबिके लैजान्छु घर र अर्को साल ४० हजार मोलिने बनाउँछु रे † सस्तो खोज्नेले त तरकारी बजारतिर गएर घिरौंला–लौका आदि खोजी खुट्टा हालेर काटे हुन्छ रे †
दृश्य : पाँच
नभन्दै खसी किन्न नसकेपछि फूलपातीको दिन लखरठ्याँक लखरलखर गर्दै पुग्यो तरकारी बजार । पूरै तरकारी बजार घुम्यो र सस्तो मूल्यको तरकारी खोज्यो । सबैभन्दा सस्तो भनेको ९० रुपैयाँ किलोको भ्यान्टा र ८५ रुपैयाँ किलोको मुला २/२ किलो अनि सय रुपैयाँ किलोको १ किलो लौका जोखायो । मूल्य तिर्यो अनि हेण्डलमा दुईतिरै
झुन्ड्याएर खटारा बाइक स्टार्ट गर्यो । खसी किन्न गएको लखरठ्याँक घर आइपुगेको सङ्केत पाएर छोराछोरी र माउ पनि बाहिर निस्किए । ‘हैन, खै त खसी ?’ माउको प्रश्न भुइँमा खस्न नपाउँदै बाउले तीनवटा पोका थमाउँदै भन्यो– ‘लौ, यसपालिको दसैंखसी यही हो । अब काटकुट पार, मुलाको सुरुवा बनाऊ, लौकामा झोल हाल र भ्यान्टा भुट ! ३/४ छाक पुगिहाल्छ । बस् † यस्तै दसैंं मनाउन त हामीले लोकतन्त्र ल्याएका हौं ।’ आमा र छोराछोरी घरी लखरठ्याँकको अनुहार घरी लौका, मुला र भ्यान्टाको थैलो हेरेका हेर्यै हुँदा भए... !