साप्ताहिक संवाददाता
टिक्का बोटी
टिक्का बोटी माईक्रो ओभन विना पनि बनाउन सकिने मुस्लिम समुदायको परिकार हो । हल्का सेकुवा जस्तो फ्लेबर आउने यो परिकार बनाउन सजिलो पनि छ ।
खसीको मासुमात्रको भागलाई एउटै आकारमा काट्ने । पाकेपछि खसीको मासुको आकार सानो हुने हुनाले मासु केही ठुलो आकारमा काट्नुपर्छ । काटिएको मासुलाई प्रेसर कुकरमा एक कचौरा दही, लसुन तथा अदुवाको पेष्ट, थोरै पानी र थोरै नुन हालेर पकाउने । यसमा पछि नुन हाल्नुपर्ने हुनाले कम मात्रा नुन प्रयोग गर्नुपर्छ । अब प्रेसर कुकरमा २ सिठ्ठी लगाएपछि बिर्को खोलेर बाँकी रहेको पानीलाई ठूलो आँचमा सुकाउने ।
अर्को भागमा भुटेको बेसनको पिठो, जिरा–धनियाँको धुलो, कागतीको रस, नुन, धुलो खुर्सानी, बेसार, मरिचको धुलो, गरम मसला तथा दही हालेर मोल्ने । यसरी मोल्दा पेस्ट बाक्लो भए एक चम्चा पानी हालेर हल्का पातलो गर्ने । यसरी बनेको पेष्टमा पकाएर सेलाएको मासु हालेर राम्रोसँग मोल्ने ।
अर्को प्यानमा थोरै तेल तताउने, तेल तातेपछि घ्यू हाल्ने अनि मोलेको मासु हालेर पकाउने । एकापट्टीको भाग गाढा खैरो भएपछि फर्काउने । दुवैतर्फको भाग खैरो भएपछि एउटा गोललाई बालेर रिकापीमा हाली सोही भाडा भित्र राख्ने र गोलमा तेल हालेर छोप्ने । उक्त धूवाँले मासुमा स्मोकी फ्लेबर दिन्छ । ५ मिनेटपछि त्यसलाई झिक्ने । यो परिकार अर्थात् टिक्का बोटी बाट धूवाँ तथा घ्यूको विशेष गन्ध आउँछ ।
फोक्सो तावा फ्राई
खसीको फोक्सो फ्राई धेरैतिर पाइन्छ । दक्षिण भारतको तामिलनाडुमा खसीको फोक्सो फ्राई बनाउने शैली केही फरक छ । खसीको चोट नलागेको फोक्सोलाई भित्रसम्म पानी हालेर दुई–तीन पटक सफा गर्ने । धनियाँ तथा खुर्सानीको धूलो, गरम मसला, नुन, बेसार तथा तीनवटा अण्डा हालेर फिट्ने, त्यसपछि थोरै पानी हालेर बाक्लो घोल बनाउने । उक्त घोललाई सफा गरिएको फोक्सोमा बिस्तारै हाल्दै जाने । फोक्सो भरिएपछि फोक्सोको मुल मुखमा धागो बाँध्ने । मम पकाउने भाँडाको एक खण्डमा केराको पातले छोपेर २० मिनेट जति स्टिम गर्ने । त्यसपछि झिकेर फोक्सोलाई स–साना टुक्रामा काट्ने । तावामा हल्का तेल तताउने अनि स–साना टुक्रामा काटिएको फोक्सोलाई फ्राई गर्ने । डढेर हल्का कालो भएपछि झिक्ने ।
कलेजो मसला
खसीको यो परिकार मूलत: मुसलमानहरूले आफ्नो धार्मिक पर्व बकर इदमा बनाउँछन् । यो ग्रेभी परिकार निकै स्वादिलो हुन्छ । खसीको कलेजो र मृगौलाको बाहिरको झिल्ली झिकेर ठिक्कको सानो टुक्रामा काटेर कागती वा भिनेगर हाली पानीमा केही समय राख्दा कलेजो र मृगौलाको गन्ध हराउँछ । यसरी भिजाइएको आधा घन्टापछि कलेजो र मृगौलालाई पानीले राम्रोसँग पखाल्नुपर्छ ।
कराई वा प्रेसर कुकरमा तेल तताउने, जिरा फुराउने, दालचिनी, ल्वाङ, सुकुमेल, अलैंची तथा टिम्मुर हालेर चलाउने, मसलाको स्वाद तेलमा गएपछि प्याजको पेस्ट हाल्ने र खैरो नहुन्जेल चलाउँदै पकाउने । ठिक्कको टुक्रा बनाइएको कलेजो र मृगौलाको टुक्रा हाल्ने अनि चलाउँदै करिब ५ मिनेट पकाउने । मात्रा अनुसार जिरा, गरम मसला, खुर्सानी, बेसारको धूलो हाल्ने अनि अदुवा र लसुनको पेस्ट पनि हालिदिने । अब थोरै पानी हालेर चलाएर पकाउने ।
सबै मसला राम्रोसँग घुलेपछि गोलभेडाको पेस्ट हालेर गोलभेडाको पानी सुक्न दिने । त्यसपछि दही हाल्ने र दहीको पानी पनि नसुकुन्जेल चलाउँदै पकाउने । त्यसपछि नुन हाल्ने । पछि नुन हाल्दा कलेजो चाम्रो हुँदैन । सिसाको ग्लासमा एक चौथाई पानी हालेर कराईमा भए केही बेर छोपेर पकाउने, प्रेसर कुकरमा भए एक सिट्ठी लाग्न दिने । अब यो परिकार लगभग तयार भयो यसमा हरियो धनियाँको पात, सिङ्गै हरियो खुर्सानी, लामो आकारमा काटिएको अदुवाको टुक्रा हालेर केही बेर चलाउने अनि झिकेर सर्भ गर्ने ।
भुन्नी
भारतको गढवालमा बसोबास गर्ने नेपालीहरूले निकै रुचाउने खसीको एउटा परिकार हो— भुन्नी ।
खसीको शरीर भित्रका विभिन्न अंगलाई लिएर बनाइने यो परिकार नौलो र स्वादिलो समेत हुन्छ । खसीको रगतलाई कराईमा पकाउने, रगत खैरो रंगको भएपछि स–साना टुक्रा पारिएको खसीको कलेजो, तातो पानीले सफा गरेर छोटो–छोटो टुक्रा पारिएको आन्द्रा–भुँडीलाई खैरो भएको रगतको कराईमा हालेर मध्यम आँचमा पकाउने । त्यसमा स्वाद अनुसार नुन, धनियाँको धुलो, धुलो खुर्सानी, बेसारको धुलो हालेर पकाउने । जब यो पाक्छ त्यसपछि आधा गिलास पानी हालेर फेरि पकाउने । पानी पूरा सुकेको केही बेरमा झिकेपछि यो परिकार तयार हुन्छ ।