दुई अथवा दुईभन्दा भन्दा बढी अल्कोहलको मिश्रणबाट तयार पारिएको पेयलाई सामान्य भाषामा ककटेल भनिन्छ, तर ककटेल बनाउने प्रक्रिया अलिकति फरक छ । यो हेर्दा आकर्षक हुनुपर्छ, टेस्टी बन्नुपर्छ अनि यसको वासना पनि मगमगाउने खालको हुनुपर्छ । ककटेल वनाउँदा प्रयोग गरिने सामग्रीको मात्रा मिलाउन सकिएन भने राम्रो ककटेल बन्दैन । केही कुरामा ध्यान पुर्याउने हो भने हामी घरमै स्वादिलो ककटेल बनाएर पिउन सक्छौं ।
कसरी गर्ने तयारी
ककटेल तयार पार्दा त्यसको मात्रा सुरुमै अड्कल गर्नुपर्छ । जुन रक्सीको ककटेल बनाइँदैछ, त्यसलाई सकेसम्म अन्य रक्सीसँग मिसाउनु हुँदैन । त्यसो भयो भने स्वास्थ्यमा नकारात्मक असर पर्दैन । हामी धेरैले एउटा रक्सी पिएर पुन अर्को रक्सी पिउँदाँ समस्या उत्पन्न भएको पाएका छौं ।
बजारमा सेकर नाम गरिएको भाँडा किन्न पाइन्छ । यसले अल्कोहललाई घोल्ने काम गर्छ । सेकर किन्ने हो भने आफूले चाहेको समयमा सजिलैसँग ककटेल तयार पार्न सकिन्छ । सामान्य तरिकाले मदिरालाई घोलेर पनि ककटेल बनाउन सकिन्छ ।
भोड्काको ककटेल
बजारमा सजिलैसँग पाइने अल्कोहल हो–भोड्का । यसको ककटेल पनि धेरैलाई मन पर्छ । ४५ देखि ६० एमएलसम्म अथवा आफूलाई कति ककटेल चाहिएको छ, त्यसअनुसार भोड्कालाई कुनै भाँडामा खन्याउनुहोस् । त्यसमा सुन्तला अथवा क्यानवेरी, कोक, रेडवुल, कागती अथवा सुन्तला काटेर मिसाउनुहोस् । अब भोड्काको ककटेल तयार भयो ।
ह्विस्कीको ककटेल
ह्विस्कीबाट पनि विभिन्न प्रकारका ककटेल बनाउन सकिन्छ । ह्विस्कीका पारखीहरूले कोक अथवा सोडाको सम्मिश्रणबाट ककटेल तयार गर्न सक्छन् । कतिपय ठाउँमा ह्वीस्किमा अन्य प्रकारका पेय पदार्थ समेत मिसाइन्छ ।
जिनको ककटेल
जिनको ककटेल पनि नेपालमा उत्तिकै लोकप्रिय छ । खासगरी जीनमा कागतीको रस हालेर ककटेल तयार पारिन्छ । जीन र कागतीसँग टोनिक वाटर मिसाउन सकिन्छ । स्वादका लागि यो मिश्रणमा कोक अथवा रेडबुल समेत मिसाइन्छ ।
रमको ककटेल
रम जाडो मौसमका लागि उपयुक्त पेय हो । जाडो मौसममा धेरैले अन्य प्रकारका अल्कोहलको तुलनामा रम नै रुचाउँछन् । रमको ककटेल तयार पार्न कोक, स्प्राईट, कागतीको रस अथवा कागतीको टुक्रा वा गाउँघरमा पाइने अमिलो मिसाउन सकिन्छ ।
टकिलाको ककटेल
टकिलामा कोक, स्प्राईट, कागती, अमिलो आदि प्रयोग गरेर ककटेल तयार पार्न सकिन्छ ।
लोकल रक्सीको ककटेल
गाउँघरमा बनाइने लोकल रक्सीबाट पनि ककटेल तयार पार्न सकिन्छ । त्यसका लागि लोकल रक्सीमा सुन्तलाको जुस अथवा कागतीको रस मिसाउनुपर्छ । सुन्तलाको जुस अथवा कागतीको रसले लोकल रक्सीलाई निकै स्वादिष्ट बनाउँछ । यसका साथै लोकल रक्सीमा बाबरीको पातको टुक्रा, चिनी, कागतीको टुक्रा तथा सोडा हाल्दा स्वादिष्ट ककटेल तयार हुन्छ ।
स्क्रू ड्राइभर
भोड्का र लोकल रक्सी मिसाएर त्यसमा सुन्तलाको जुस हाल्ने हो भने ‘स्क्रु ड्राइभर’ तयार हुन्छ । दुई भिन्न स्वादका रक्सी मिसाउँदा प्राप्त हुने नयाँ स्वादले मदिरापारखीहरूको मन सहजै जित्न सक्छ ।
(फायर क्लब, ठमेलका बार म्यान सन्त वहादुर वाइबासँगको कुराकानीमा आधारित)