साप्ताहिक संवाददाता
शक्तिको पूजामा विश्वास गर्ने शाक्त समुदायमा बलि प्रथा हजारौं वर्षदेखि चलिआएको छ । देवपूजा, पितृपूजा र विशिष्ट अतिथिको सत्कारमा बलि दिने परम्परा छ । महाकाली शक्तिकी अधिष्ठात्री देवी भएकीले बलि आवश्यक भएको शास्त्रीय मान्यता छ । बलि पनि तीन प्रकारका हुन्छन् । सात्विक बलि, राजस बलि तथा तामस बलि । चन्दन, अक्षता, फूल, अघ्र्य, पञ्चामृत एवं पायसले पूजा गर्ने विधिलाई सात्विक बलि भनिन्छ । सात्विकका साथै पशुपक्षीको रगत, मासु दिएर सन्तुष्ट गराउने विधिलाई राजस बलि भनिन्छ । सात्विक र राजस दुबै विधिसहित रक्सीसमेत चढाएर दिइने बलिलाई तामस बलि भनिन्छ । गुह्येश्वरी मन्दिरमा तामस विधिबाट बलि दिने परम्परा छ । दुर्गापक्षमा देवी स्थापना गरिएको स्थानमा विधिपूर्वक पशुमुक्तिका लागि भनेर संकल्प र प्रार्थना गरी पशुबलि दिने चलन छ । नेपालमा विशेषगरी बडादसैंका अवसरमा देवीका मन्दिरहरूमा बलि दिइन्छ । तैपनि परम्परागत रुपमा नेपालमा केही त्यस्ता मन्दिर छन् जहाँ बलि दिने आफ्नै किसिमका परम्परा एवं मान्यता छन् ।
गढीमाई
बारा जिल्लाको प्रसिद्ध शक्तिपीठ हो— गढीमाई मन्दिर । बाराको सदरमुकाम कलैयाबाट झन्डै ८ किलोमिटर पूर्व बरियारपुरस्थित गढीमाईको मेला हरेक पाँच–पाँच वर्षमा मार्ग शुक्ल सप्तमीदेखि आरम्भ हुन्छ । यो पीठमा भारतीय दर्शनार्थीहरू ठूलो संख्यामा उपस्थित हुन्छन् । बरियारपुरको खुल्ला चउरमा राखिएको त्रिशूलबाट मानिसका शूल रूपी तीन ताप आध्यात्मिक, आदिदेविक तथा आदिभौक्तिक नाश हुन्छन् भन्ने जनविश्वास छ । त्रिशूल स्थापना भएको दक्षिणतिर हाल देवीको मूर्तिसहितको मन्दिर छ । मन्दिरबाट पूर्वदक्षिणतर्फ पीपलबोटसँगै ब्रह्माको स्थान छ । पूर्वतिर रहेका ब्रहमास्थलबाट मार्ग शुक्ल सप्तमीका दिन सरसफाइ लिपपोत गरी गढीमाईलाई स्वागत गर्दै पाँच दिनसम्म लामो पूजा गरिसकेपछि अरूका लागि दर्शन खुला गरिन्छ । गढीमाईका पूजारी थारू जातिका छन् । गढीमाईको पूजाका क्रममा कङ्कालीमाई, जाखिनमाई तथा भक्तिमाईको पनि पूजा गरिन्छ । यतिबेला गढीमाईका बहिनीहरू कटबासीमाई, कंकालीमाई, मनकामना, संसारी, साम्ये, राजदेवी, गढवाडा, जोरलाही, वनशक्ति आदिको समेत पूजा गरिन्छ ।
छिन्नमस्ता
छिन्नमस्ता भगवतीको मन्दिर सप्तरीको राजविराजबाट दक्षिण सीमावर्ती क्षेत्र सखडा गाउँमा अवस्थित छ । छिन्नमस्ता भगवती मनोकामना पूरा गर्ने शक्तिपीठहरूमध्ये एक पीठ मानिन्छ । नेपाल तथा भारतका आमजनमानसमा छिन्नमस्ता भगवतीप्रति ठूलो आस्था छ । यो मन्दिर सप्तरी सदरमुकाम राजविराजबाट १० किलोमिटरको दूरीमा पूर्वतर्फ कोसी नदीको किनारमा अवस्थित छ । भारतीय सीमा नजिक रहेको यो मन्दिरमा हिन्दूहरूको महान् चाड दसैंमा ठुलो घुइँचो लाग्छ । यहाँ बोका बलि दिइन्छ । उक्त क्षेत्रका प्राय:जसो हिन्दू साना–ठूला सवारी किन्दा चोख्याउन यही ठाउँलाई रोज्छन् । सिम्रौनगढका राजा शुक्रसिंह देवले आफ्नो कुल देवी शुक्रेश्वरीको स्थापना गरी मन्दिर बनाएका थिए । राजा शुक्र सिंह अपभ्रंश हुँदै उक्त गाउँको नाम सखडा रहेको हो । तीन दशक पूर्वसम्म सखडा भगवतीलाई सखडेश्वरी भगवतीका रूपमा पनि पूजा गरिन्थ्यो । मन्दिरभित्र मूल देवीका रूपमा भगवतीको कालो रङको बुट्टे मूर्ति छ । उक्त मूर्तिको पाउतिर राँगाको काटिएको टाउको ढुङ्गामा कुँदिएको छ । मूल मूर्तिको देब्रेपट्टि दक्षिणकाली र महिषमर्दिनी तथा दाहिनेतिर चामुण्डा भैरवी र त्यस्तै कालो रङको अर्को प्रस्तर मूर्ति छ । ती मूर्तिलाई पञ्चभगिनी पनि भनिन्छ । पूजा समितिले त्यहाँ वर्षका चारवटै नवरात्रमा ५६ प्रकारका परिकार बनाई मध्यरातमा पूजा गर्दै आएको छ । यहाँ पूजा गर्दा केही विघ्नबाधा उत्पन्न हुन थालेपछि भगवतीको सिंहासनमा एउटा जन्तर राखी महाअष्टमीको राति तान्त्रिक विधिद्वारा पूजा गरिन्छ । यहाँ बलि दिँदा निस्किएको रगतमा झिङ्गा नबस्नु, लुगामा रगत लागे पनि दाग नबस्नु, रगत पोखरीको पानीमा मिसिदा रातो नहुनु, बलि दिने नाममा राखिएका बोकालाई केही नहुनु, बलिका लागि भनेर किनिएका पशुलाई कुकुर वा स्यालले टोकेको छ भने मन्दिर नपुग्दै मर्नु आदि आश्चर्यजनक लक्षण देखिँदै आएको बताइन्छ ।
तलेजु भवानी
तलेजु भवानीको मन्दिर काठमाडौं दरवार क्षेत्रमा अवस्थित एउटा प्रसिद्ध मन्दिर हो । मल्लकालमा निर्मित यो ऐतिहासिक मन्दिर वर्षको १ पटक दसैंको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुल्ला गरिन्छ । यो मन्दिरमा महानवमीको अघिल्लो रात अर्थात् कालरात्रिमा मन्दिरका गुठियारहरू तथा तत्कालीन दरबारको नाममा गुठी संस्थानले विशेष पूजा गरी बलि दिने चलन छ । अहिले राजतन्त्र नरहे पनि गुठी संस्थानले बलि पूजालाई भने निरन्तरता दिइरहेको छ । यो मन्दिरमा मध्यरातमा मात्र बलि दिइन्छ । उक्त बलि पूजामा मन्दिरका गुठियार एवं गुठी संस्थान बाहेक अन्य श्रद्धालु सहभागी हुन पाउँदैनन् ।
लमजुङ कालिका
लमजुङ कालिका मन्दिरमा वि.सं. १५५० सालदेखि राजाको नाममा पूजाआजा गरिँदै आएको थियो । अहिले नेपालमा गणतन्त्र स्थापनापछि जनताको नाममा पूजाआजा गर्न थालिएको छ । यो मन्दिरमा बडादसैं र चैते दसैंमा सरकारका तर्फबाट राँगा, बोका, भेडा, कुखुरा, परेवा, हाँस तथा सुँगुरको बलि दिने परम्परा छ । यहाँ बडादसैंका अवसरमा घटस्थापनादेखि १० दिनसम्म पूजाअर्चना गरिन्छ । त्यस्तै चैतेदसैंमा चैत्र शुक्ल प्रतिपदादेखि ८ दिनसम्म विशेष पूजा गरिन्छ । कालिका मन्दिरमा चैते दशैमा अष्टमीको दिन तथा बडादसैंमा फूलपाती र महाअष्टमीको दिन विशेष पूजापाठ हुन्छ । विशेष गरी यी दिनहरूमा मानिसहरूले आफ्नो मनकामना पूरा होस् भनेर पञ्चबलि, बोका, परेवा तथा कुखुराको बलि चढाउँछन् । यसअघि यो मन्दिरको प्रसाद राजालाई पठाइए पनि गणतन्त्र स्थापनापछि राष्ट्रप्रमुखका हैसियतले राष्ट्रपतिलाई पठाउन थालिएको छ । तत्कालीन घले राजाद्वारा गरिएको राजकाजप्रति असहमति जनाउने खजे दुरा, कुसुमाकर घिमिरे, चामु धिंगाल तथा लक्ष्मण दुराले कास्कीबाट कुलमण्डन शाहका छोरालाई ल्याई १५५० सालको असार १५ गते पहिलो पटक राजाको नाममा यो मन्दिरमा पूजाआजा शुरू गरेको इतिहास छ ।
गोरखा कालिका
गोरखा कालिकामा हरेक वर्ष बडादसैंको अष्टमीका दिन बलि चढाइन्छ । यहाँ दैनिक नित्य पूजाआजा तथा भजन कीर्तन हुन्छ । कालिका र गुरु श्री गोरखनाथलाई हिन्दूहरूको आराध्य वा नेपालको राष्ट्रदेवता मानिन्छ । नेपाली सिक्कामा पनि श्री भवानी र श्री श्री श्री गोरखनाथ लेखिएको पाइन्छ । द्रव्य शाहले गोरखा विजयपछि आफ्नो इष्ट देवीका रूपमा लमजुङमा रहेकी लमजुङ कालिकालाई गोरखामा समेत स्थापना गरेका थिए । यो मन्दिर बडादसैंको अष्टमी र अन्य अष्टमी तिथिमा मात्र खुल्छ । काठमाडौंमा भित्र्याइने फूलपाती यही मन्दिरबाट ल्याइन्छ ।
दन्तकाली मन्दिर
दन्तकाली मन्दिर धरानको विजयपुर डाँडाको मध्य भागमा अवस्थित छ । मध्यकालतिर कालिकाका नामले चिनिने यो मन्दिर भगवान् शिवले सतीदेवीको मृतशरीर बोकेर हिँड्दा सतीदेवीको दन्तपतन भई शक्तिपीठका रूपमा स्थापित भएको मानिन्छ । दन्त्यकाली मन्दिरमा सतिदेवीका दाँतको प्रतीक स्वरूप एउटा कालो प्रस्तरको पूजाआजा गरिन्छ । यो मन्दिरमा बोका, राँगा आदि बलि दिने चलन छ । नेपाल एकीकरण पूर्व विजयपुर राज्यका सेन वंशी राजाहरूको इष्टदेवीका रूपमा पुजित यो शक्तिपीठको महिमा सदाकाल उस्तै छ । दन्तकाली क्षेत्रमा दसैंको नौरथामा मेला लाग्छ । यतिबेला धरान बजारका प्राय: सबै मानिस दन्तकालीमा पुग्छन् ।
दक्षिणकाली
दक्षिणकाली मन्दिर राजधानी काठमाडौंबाट दक्षिण भेगमा करिब १७ किलोमिटरको दूरीमा छ । यो कालीदेवीको मन्दिर राजा प्रताप मल्लले निर्माण गराएका हुन् । ऐतिहासिक महत्वको यो मन्दिर चारैतिर हरियालीले सजिएको दुई नदीको दोभानमा छ । यो मन्दिरमा कालीको मूर्तिबाहेक अन्य देवी–देवताका मूर्तिसमेत छन् । दसैंमा यहाँ विशेष मेला लाग्छ । दसैंको नवरात्रीमा यहाँ हाँस, कुखुरा, राँगो तथा बोकाको बलि दिइन्छ । शाहवंशीय राजाहरू प्रत्येक वैशाखमा आफ्नो देवाली मनाउँथे ।
पलाञ्चोक भगवती
पलाञ्चोक भगवतीको मन्दिर काभ्रे जिल्लाको साठीघर भगवती गाविसमा अवस्थित छ । काभ्रेको पाँचखालबाट ७ किलोमिटर पूर्वस्थित यो मन्दिर लिच्छवीकालिन राजा मानदेवले आफ्नी आमाको सम्झनामा निर्माण गर्न लगाएका हुन् । शिल्पकलाको दृष्टिले पलाञ्चोक भगवतीको मूर्ति अद्वितीय मानिन्छ । बडादसैं तथा चैते अष्टमीका अवसरमा यो मन्दिरमा विभिन्न समुदायका मानिसले आ–आफ्नो गच्छेअनुसार कुखुरा, हाँस, बोका आदि बलि चढाउँछन् । यो मन्दिरमा बडादसैंमा मात्र नभै अन्य अवसरमा समेत बलि पूजा गर्नेहरूको घुइँचो लाग्छ ।
पाथीभरा
पाथीभरा ताप्लेजुङ जिल्लास्थित प्रसिद्ध तीर्थस्थल हो । हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल मानिन्छ । ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९ दशमलव ४ किलोमिटर पूर्वउत्तरतर्फ ३ हजार ७ सय ९४ मिटर उचाइमा अवस्थित छ । पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पत्तिस्थल भएकाले यी देवीको नाम पाथीभरा रहेको बताइन्छ । ताप्लेजुङका रैथाने लिम्बूहरू पाथीभरालाई मुक्तुवुङ भन्छन् । लिम्बूभाषामा मुक्तुको अर्थ शक्ति वा बल, वुङको अर्थ बोट हो, अर्थात् लिम्बू जातिले पाथीभरालाई शक्ति वा बलको स्रोत मान्छन् । पाथीभरा देवीलाई दैनिक सयौं भेडा, बोका, पाठी आदि बलि चढाइन्छ । यहाँ बलि चढाउँदा बलिस्थलमै रगत हराएको जो–कोही दर्शनार्थीले प्रत्यक्ष देख्न सक्छन् ।
त्रिपुरासुन्दरी
डोल्पाका धार्मिक सम्पदाहरूमध्ये श्रीबाला त्रिपुरासुन्दरी मन्दिर पनि एक हो । यो मन्दिरको पृथक् धार्मिक महत्व छ । मन्दिरको पूर्वतर्फ सुन्दरी गंगा, पश्चिमतर्फ ताम्रवणी नदी, उत्तरमा मुकुटेश्वर हिमाल, दक्षिणमा भैरवी गंगा आदि प्रसिद्ध तीर्थस्थलहरू छन् भने बीचको टाकुरामा मन्दिर छ । श्री महादेवले सतीदेवीको मृत शरीर बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा यहाँ सतीदेवीको ढाड पतन भएको विश्वास गरिन्छ । यो मन्दिरको पूजाआजा व्यवस्थापन नौ घर पूजारीले वर्षैपिच्छे पालैपालो गर्दै आएका छन् ।
खैराबाङ भगवती
सल्यानको खैराबाङ भुवनेश्वरी मन्दिर समुन्द्री सतहबाट १ हजार ६ सय फिट अग्लो पहाडमा अवस्थित छ । सल्यानको सदरमुकाम खलंगादेखि १६ किलोमिटर पश्चिम–दक्षिण हिवल्चाको खैराबाङमा पर्छ । सल्यानको व्यापारिक केन्द्र शीतलपाटीबाट दुई घण्टा तथा सदरमुकाम खलंगाबाट साढे दुई घण्टामा खैराबाङ मन्दिर पुग्न सकिन्छ । खैराबाङ भुवनेश्वरी मन्दिरमा शुक्लपक्ष, मंगलबार र शनिबार विशेष घुइँचो लाग्छ भने शुक्लपक्ष अष्टमी, नवमी तथा चतुर्दशीमा विशेष पूजा हुन्छ । चैत्र शुक्लपक्ष र आश्विन शुक्लपक्षमा १५ दिन भक्तजनको घुइँचो लाग्छ । भवानी भुवनेश्वरीले मनले चित्ताएको मनोरथ (मनकामना) पूरा गर्ने विश्वासका साथ यहाँ बलि चढाइन्छ भने बाह्मण–क्षेत्रीहरूले मन्दिर वरिपरि चण्डीपाठ गर्ने चलन छ ।