साप्ताहिक संवाददाता
पत्रकार एवं लेखक रामजी बलामीको दोश्रो पुस्तक ‘टिष्टुङ चिनारी’ को हालै बिमोचन गरिएको छ ।
पुस्तकमा उत्तरी मकवानपुरको थाहानगरस्थित ऐतिहासिक बस्ती टिष्टुङको गोपालवंशदेखि गणतन्त्रसम्मका विषयवस्तुहरु समावेश छन् । नाम हराएको ठाउँ टिष्टुङका बारेमा वास्तविक जानकारी प्राप्त गर्न पुस्तक उपयोगी हुने देखिन्छ ।
पुस्तकमा यो ठाउँको नाम कसरी टिष्टुङ हुन पुग्यो, कसरी बज्रबाराही हुन पुग्यो र अहिले कसरी थाहा नगरपालिका भयो भन्ने कुराहरु उल्लेख छ । त्यस्तै गरी पुस्तकमा टिष्टुङको भौगोलिक बनावट, हावापानी, वनजंगल, जिवजन्तु लगायतका विषयहरु पनि पुस्तकमा समावेश छन् । पुस्तकमा यहाँ भएको ३ वटा लिच्छविकालिन शिलालेखहरुका बारेमा विस्तृत व्यहोरा उल्लेख छ । यसका साथै टिष्टुङका अन्य शिलापत्रहरु र कुन्छाल, टौखेल, कलाँटु, चित्लाङ लगायत ठाउँमा रहेका शिलालेख, लालमोहर र ताडपत्रहरुका बारेमा समेत पुस्तकमा पढ्न पाईन्छ ।
त्यस्तै यहाँको वस्ती विकास र अहिलेको सामाजिक संरचनालाई पनि पुस्तकमा समावेश गरिएको छ । यहाँ बसोबास गर्ने समुदाय, उनीहरुको भाषा, धर्म र संस्कृतिलाई पनि पुस्तकले प्रस्तुत गरेको छ । त्यस्तै यस क्षेत्रमा भएका साना ठूला धार्मिकस्थलहरुका बारेमा पनि पुस्तकमा उल्लेख छ । त्यस्तै पुस्तकमा यो क्षेत्रका प्रमख धार्मिकस्थल बज्रवाराही माई र तीन बर्षे बज्रवाराही जात्राका बारेमा पनि विस्तृत जानकारी समावेश छ । वाराही पिठमा गरिने प्रमुख पूजाहरु, बली फाल्ने पूजा, बाह्र बर्षे नाच लगायतका विषयवस्तु पनि पुस्तकमा समावेश छन् । टिष्टुङको कोत दरवार र तलेजु मन्दिरका बारेमा पनि पुस्तकमा लेखिएको छ ।