गुगलले सेवा प्रारम्भ गरेको २० वर्ष पुगेको छ । गुगलले सेप्टेम्बर ४ देखि आफ्नो अनलाइन सेवा सुरु भएको र एक दशकभन्दा अघिदेखि सेप्टेम्बर २७ लाई वार्षिक उत्सवका रूपमा मनाउने गरेको बताएको छ ।
अहिले गुगलमा दसौं हजार कर्मचारी कार्यरत छन् भने विश्वका ६० भन्दा बढी मुलुकमा यसको शाखा कार्यालय छन् । अहिले भने गुगल अल्फाबेटको एक सब्सिडेयरी कम्पनी हो । अल्फाबेट कम्पनीको स्थापना सन् २०१५ मा गरिएको थियो ।
गुगलको महत्वपूर्ण उत्पादन गुगल क्रोम आएको पनि १० वर्ष पूरा भएको छ । सुन्दर पिचाइको नेतृत्वमा गुगल तथा युट्युबको प्रयोगकर्ता एवं व्यापारमा उल्लेख्य वृद्धि भएको छ । गुगलको राजस्व सन् २०१८ को दोस्रो तीन महिनामा २६ प्रतिशतले बढेर २३ अर्ब ३० करोड डलर पुगेको थियो । सोही अवधिमा अल्फावेटको राजस्व २६ अर्ब २४ करोड डलर पुगेको थियो भने नाफा ३ अर्ब २० करोड डलर पुगेको छ ।
ल्यारी पेज र सर्गेइ ब्रिनले सन् १९९८ मा स्थापना गरेको गुगलले आफ्नो जन्मदिन सेप्टेम्बर महिनामा फरक–फरक मितिमा मनाउँदै आएको छ । सन् १९९८ सेप्टेम्बर ४ तारिखमा स्थापना भएको गुगलको हिस्ट्री पेजमा उल्लेख भए पनि सन् २००३ मा सेप्टेम्बर ६ मा वार्षिकोत्सव मनाइएको थियो भने सन् २००४ मा सेप्टेम्बर ७ मा मनाइएको थियो । सन् २०१३ देखि भने सेप्टेम्बर २७ तारिखमा गुगलको वार्षिकोत्सव मनाउन थालिएको हो ।
सन् १९९६ मा स्ट्याण्डफोर्ड युनिभर्सिटीमा ल्यारी पेज र सर्गेइ ब्रिनबीच भेट भएपछि उनीहरू सर्च इन्जिनसम्बन्धी वेबसाइट बनाउने आइडिया निकालेका थिए । पहिले उनीहरूले यसको नाम ब्ल्याकरब राख्ने सोच बनाएका थिए, तर सन् १९९६ मा गुगल राख्ने निर्णय गरे । गुगल शब्द गुगोलबाट लिइएको हो । १० को पछाडि १ सयको घातांक अर्थात टु द पावरलाई गुगोल भनिन्छ । सन् १९९८ मा गुगल सर्च इन्जिन याहुलाई बेच्ने प्रयास भएको थियो, तर कुरा नमिल्दा उक्त कार्य रोकियो । हाल यो विश्वकै सर्वाधिक ठूलो सर्च इन्जिन हो । विश्वका १ सय ९० देशमा १ सय ५० भाषामा गुगलमार्फत सर्चको काम गरिन्छ ।