पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता आज शुक्रबारदेखि पोखरा रंगशालाको क्रिकेट मैदानमा प्रारम्भ हुँदैछ जसमा बिहान ११ बजेको उद्घाटन खेलमा विराटनगर टाइटन्सले घरेलु टिम पोखरा पल्टनसँग प्रतिस्पर्धा गर्नेछ । यो प्रतियोगितामा विराटनगर टाइटन्स, चितवन राइनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, हुलास काठमाडौं रोयल्स तथा एक्स्पर्ट धनगढी ब्लुज गरी ६ टिमले भाग लिएका छन् ।
११ दिनसम्म चल्ने प्रतियोगिताअन्तर्गत दोस्रो दिन कात्तिक १० गतेदेखि बिहान ९ बजे र दिउँसो सवा १ बजे गरी लिग चरणका दुई खेल हुनेछन् । दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोज बुटवल ब्लास्टरसँग भिड्नेछ ।
सोही दिनको अर्को खेलमा हुलास काठमाडौं रोयल्सले एक्स्पर्ट धनगढी ब्लुजसँग प्रतिस्पर्धा गर्दैछ ।
कात्तिक ११ गते पहिलो खेल विराटनगर टाइटन्स र एक्स्पर्ट धनगढी ब्लुजकाबीच हुनेछ भने दोस्रो खेलमा बुटवल ब्लास्टर र पोखरा पल्टनले प्रतिस्पर्धा गर्नेछन् । कात्तिक १२ गते पहिलो खेल विराटनगर टाइटन्स र हुलास काठमाडौं रोयल्सकाबीच हुनेछ भने दोस्रो खेलमा चितवन राइनोज र पोखरा पल्टनले खेल्नेछन् । कार्तिक १३ गते कुनै खेल हुने छैन ।
कात्तिक १४ गतेको पहिलो खेलमा चितवन राइनोज र एक्स्पर्ट धनगढी ब्लुजले प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेल विराटनगर टाइटन्स र बुटवल ब्लास्टरकाबीच हुनेछ । कात्तिक १५ गते पहिलो खेल चितवन राइनोज र हुलास काठमाडौं रोयल्सबीच हुनेछ । दोस्रो खेलमा एक्स्पर्ट धनगढी ब्लुज र बुटवल ब्लास्टरकाले प्रतिस्पर्धा गर्नेछन् । कात्तिक १६ गते पहिलो खेल पोखरा पल्टन र एक्स्पर्ट धनगढी ब्लुज तथा दोस्रो खेल बुटवल ब्लास्टर र हुलास काठमाडौं रोयल्सकाबीच हुनेछ । कात्तिक १७ गतेको पहिलो खेल हुलास काठमाडौं रोयल्स र पोखरा पल्टन तथा दोस्रो खेल विराटनगर टाइटन्स र चितवन राइनोजबीच हुनेछ ।
लिग चरणमा हरेक टिमले पाँच खेल खेल्नेछन् । पाँच खेलबाट सर्वाधिक अंकप्राप्त गर्ने शिर्ष स्थानको टिमले सिधै फाइनल खेल्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहेका टिमबीच अर्को प्रतिस्पर्धा हुनेछ । दोस्रो र तेस्रो टिमबीच बिहान ९ बजे फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ भने कात्तिक २० गते फाइनल हुनेछ ।
यो प्रतियोगिताका लागि पोखरा रंगशालामा ४ वटा पिचका साथै ४ हजार ५ सय दर्शक क्षमताको अस्थायी प्यारापिट निर्माण गरिएको छ । पोखरा प्रिमियर लिग क्रिकेटका लागि उमेश पटवाललाई प्रतियोगिता निर्देशक नियुक्त गरिएको छ । पटवालसँग नेपाली राष्ट्रिय टिम तथा अफगानस्तानी टिमका लागि समेत व्याटिङ कन्सल्ट्यान्टका रूपमा काम गरेको अनुभव छ । पीपीएल क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले समेत मान्यता प्रदान गरेको छ ।
तीन महिनाको निरन्तर मेहनतपश्चात् तयार भएको खेल मैदानको आउटलुक उत्कृष्ट रहेको राष्ट्रिय टिमका कप्तान तथा चितवन राइनोजका मार्की पारस खड्काले बताएका छन् । पोखरामा हिमश्रृंखला हेर्दै क्रिकेट खेल्न पाइने भएका कारणले समेत पीपीएलका खेलाडीहरू उत्साहित छन् । प्रतियोगीतामा सहभागी ६ वटै फेन्चाइज टिमका खेलाडीलाई पोखरामा ६ वटा छुट्टाछुट्टै होटलमा राखिएको छ । यो प्रतिस्पर्धाको अवलोकन आईसीसीले गर्नेछ ।