पवन सुब्बालाई लागेको थिएन, एक दिन मोडलिङ र फेसन डिजाइनिङ उनको जीवनको पर्यायवाची बन्छ भन्ने कुरा । भविष्य र करियरको रनभुल्लमा पर्दै एक दशक बिताएका पवनले कलकत्ताको एक फेसन डिजाइन कम्पनीमा काम गर्दागर्दै केही योजना बनाइसकेका थिए । त्यही योजना र दृढ इच्छाशक्तिले आज उनको सेन्स अफ क्लिक एसियाकै फेसन हब हङकङमा स्थापित हुँदैछ ।
मोडलिङ एजेन्सीबाट करियर प्रारम्भ गरेका पवनले सुरुवाती दिनमा निकै संघर्ष गर्नुपर्यो । सुरुमा उनी साथी मौसम श्रेष्ठसँग मिलेर कोरियाग्राफी, फोटोसुटसँगै फेसन तथा मोडलिङका विभिन्न इभेन्ट आयोजित गर्थे ।
निरन्तरताले नै हङकङेली नेपालीहरूमाझ पहिलो रोजाइ बनिरहेको छ–सेन्स अफ क्लिक । फेसन शोहरू आयोजना गरिरहने सेन्स अफ क्लिकले हन्ट फर सुपर मोडलको पनि आयोजना गरिरहेको छ । सुपर मोडलको पहिलो तथा दोस्रो संस्करणमा पूजा राना एवं नम्रता गुरुङ विजयी भएका थिए भने नम्रताले मिस नेपालमा समेत भाग लिई मिस ट्यालेन्टको उपाधि जितिसकेकी छिन् ।
नेपाली फेसन तथा मोडलिङलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन प्रयासरत सेन्स अफ क्लिकले फेसन डिजाइनिङ शोरुम खोलेर आफ्ना ग्राहकहरूलाई थप सेवा प्रदान गरिरहेको छ । नेपाली डिजाइनर तेन्जिङ भुटिया, युबी थापा आदिका डिजाइन बिक्री गरिरहेको सेन्स अफ क्लिकले ग्राहकको अनुरोधमा केही डिजाइन आफैं पनि तयार गर्छ ।
हाम्रो उद्देश्य हङकङका नेपालीहरूका लागि मोडलिङ तथा फेसनको प्लेटफर्म उपलब्ध गराउनु हो । यस क्रममा नेपाली उत्पादन तथा मौलिकतालाई चिनाउने कामसमेत गरिरहेको पवन बताउँछन् ।