साप्ताहिक संवाददाता
अभिनेता राजेश हमाललाई कफी असाध्यै मन पर्छ । त्यसैले त उनले कफीलाई श्रीमतीसँग तुलनासमेत गरे । राजेश भन्छन्— आफूले भनेजस्तो कफी र आफूले भनेजस्ती श्रीमती भए लाइफ ह्याप्पी हुन्छ । पोखरामा नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको होटल माउन्टेन टपको उद्घाटनका लागि लेकसाइड पुगेका राजेशले उक्त कुरा बताएका हुन् ।
होटल उद्घाटनका लागि राजेश आउने भएपछि उनलाई स्वागत गर्न तयार अवस्थामा रहेकाहरूलाई नदेखेझैं गर्दै उनी छेउकै स्टार कफी सेन्टर छिरे । त्यहाँ कफी पिउँदै आफूलाई कफी मन पर्ने बताए । सम्भवत: आफूले खोजेजस्तो कफी पाएर होला, उनले होटल उद्घाटन गरिसकेपछि पुन: अर्को कफी अर्डर गरे । बल्ल उनको धीत मर्यो अनि बाराही मन्दिर दर्शनका लागि फेवातालतिर हान्निए ।
यसअघि पोखरामा हमाल साँझ पनि सम्पन्न भयो । साँझमा उनले अभिनय गरेका चलचित्रका गीत सुन्दै रम्ने व्यवस्था मिलाइएको थियो । राजेश हमाल तत्कालका लागि चलचित्रको अभिनयबाट फुर्सदिलो भए पनि उनको क्रेज भने उस्तै देखियो । उनीसँग तस्बिर खिच्न खोज्ने नयाँ तथा पुराना पुस्ताको भीड उत्तिकै थियो ।