नेपालमा विगतको तुलनामा शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन भैरहेको तथ्यांक सार्वजनिक भैरहेको छ । स्कुल, कलेज तथा विश्वविद्यालय सञ्चालन गर्ने होडबाजी नै चलिरहेको छ । अहिले नेपालमा विश्वविद्यालय मात्र नौवटा छन् ।
प्राविधिक शिक्षा दिने शिक्षालय तथा कलेज सयौं छन् । विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर कोर्स सञ्चालन गरिरहेका कलेजहरू लगभग ९५ वटा छन् । हाल खुला विश्वविद्यालयको अवधारणाको पनि विकास भएको छ । यति धेरै शिक्षालय हुँदाहुँदै पनि विद्यार्थी भिसामा देश छाड्ने विद्यार्थीहरूको संख्या भने बर्सेनि बढिरहेको छ ।
आधुनिक जिवनशैली, सुविधा सम्पन्न कलेज, गुणस्तरीय एवं व्यवहारिक शिक्षा लिने बहानामा देश छाड्ने युवाहरूको जमात ठूलै छ । वैदेशिक अध्ययनका लागि शिक्षा मन्त्रालयले दिने ‘नो अब्जेक्सन लेटर’ लिने विद्यार्थीको संख्या हेर्ने हो भने साँचै नेपालमा पढ्ने कलेज नै छैनन् भन्ने भान हुन्छ । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखामा मात्र दैनिक ३ सयजति विद्यार्थी बाहिर जाने अनुमति लिन आउने गरेका छन् ।
बर्सेनि बढेको बढ्यै
०७४ साल वैशाखदेखि ०७५ साल असारसम्मको तथ्याक हेर्ने हो भने ६९ हजार ६ सय २३ जना विद्यार्थीले शिक्षा मन्त्रालयबाट विदेश जाने अनुमति लिएका छन् । विदेश जान चाहने विद्यार्थीहरूलाई नो अब्जेक्सन लेटर दिएबापत मात्र शिक्षा मन्त्रालयले वार्षिक १४ करोड रुपैयाँ राजस्व उठाउने गरेको छ ।
आर्थिक वर्ष ०७३/७४ मा मात्र ५० हजार ६ सय ५९ जनाले नो अब्जेक्सन लेटर लगेका छन् । यसबाट सरकारले १० करोडभन्दा बढी राजस्व संकलन गरेको थियो । ६ वर्षअघिको तथ्यांक हेर्ने हो भने त्यतिबेला १० हजार विद्यार्थीले नो अब्जेक्सन लेटर लिएको देखिन्छ । त्यसपछि बर्सेनि औसत १० हजार थपिँदै गएका छन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष १९ हजारभन्दा बढी विद्यार्थीले नो अब्जेक्सन लेटर लिएको पाइन्छ ।
धेरैको रोजाइ अस्ट्रेलिया र जापान
नेपालीहरूले ७४ देशमा पढ्न जान पाउने अनुमति पाए पनि अस्ट्रेलिया र जापान धेरैको रोजाइमा परेका छन् । पहिलो नम्बरमा अस्ट्रेलिया छ । यो वर्ष अस्ट्ेरलिया जान अनुमति लिनेहरूको संख्या ३७ हजार ५ सय ५५ जना छ । दोस्रो नम्बरमा जापान छ, जहाँ जान १२ हजार ५ सय ३२ विद्यार्थीले अनुमति लिएका छन् । त्यस्तै अमेरिका जाने विद्यार्थीको सख्या २ हजार ७ सय ३६ छ ।
सामान्यत: एक जना विद्यार्थीले बाहिर जाने प्रक्रिया मिलाउनेदेखि भिसा लगाउने समयसम्म १४ देखि २५ लाख रुपैयाँसम्म खर्च गर्नुपर्ने बाध्यता छ । भारत, चीन, क्यानाडा, पोल्यान्ड, बंगलादेश, जर्मनी, बेलायत, डेनमार्क, श्रीलंका आदि देश पनि नेपाली विद्यार्थीको रोजाइमा पर्ने गरेका छन् । त्यसबाहेक बेलारूस, गुयना, साउदी अरेबिया, स्लोभाकिया, स्विजरल्यान्ड, पोल्यान्ड, भियतनाम, अर्मेनिया, रोमानिया, हल्यान्ड पनि नेपालीहरूको रोजाइमा परेका छन् ।
किन विदेश नै रोज्छन्
कतिपयले विदेश पढ्न जानुलाई फेसनकै रूपमा लिए पनि नेपालमा गुणस्तरीय शिक्षाको अभाव नै त्यसको प्रमुख कारण मानिएको छ । अन्तर्राष्ट्रिय शिक्षा लिएर सक्षम र सवल बन्न मात्र नभई सुरक्षित भविष्यका लागि पनि विदेश धेरैको रोजाइमा परेको पाइन्छ । विदेशी डिग्री लिएपछि विदेशी श्रमबजारमा बिक्न र करियर सुरक्षित बनाउन सकिन्छ भन्ने धारणा बलियो हुँदै गएको छ । नेपालको राजनीतिक अस्थिरता तथा व्यवहारिक शिक्षाको अभावले नै विद्यार्थी बाहिरिने गरेको बागबजारस्थित रोहिणी इन्टरनेसनल सर्भिसका म्यानेजिङ डाइरेक्टर श्याम भन्डारी बताउँछन् । भण्डारी भन्छन्– नेपालमा डिग्री सकेर पनि वेरोजगार बस्नुपर्ने साथै विदेशमा पढिसक्दा रोजगारी मिल्ने भएकाले, विद्यार्थीहरू उतै आकर्षित भैरहेका हुन् । नेपाली युवालाई स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्न नसक्नु तथा रोजगारीको ग्यारेन्टी नहुनुमा सरकार जिम्मेवार रहेको भन्डारी बताउँछन् ।
पढाइपछि रोजगारी मिल्छ ?
विदेश अध्ययनका लागि गैसकेपछि पढ्दै वा पढाइ सकेर रोजगारीको अवसर प्राप्त हुन्छ । क्षमता, योग्यता वा सीपका आधारमा सामान्य रोजगारी पाउन कठिन छैन । पढाइ खर्च जुटाउन ‘पार्ट टाइम जब’पाउन समस्या पर्दैन । सातामा १५ देखि २५ घन्टासम्म काम गर्न पाइन्छ । पुतलीसडकस्थित टिम कन्सल्टका म्यानेजिङ डाइरेक्टर विनोद कुमार सुवेदी भन्छन्– विदेश गएपछि सुरुका केही महिना समस्या भए पनि पढ्दै काम गर्न थालेपछि असहज महसुस हुँदैन । विदेशमा जुनसुकै स्तरका काम गरे पनि सम्मान नै रहन्छ, त्यहाँ श्रमको सम्मान गर्ने चलन छ, सुवेदीका अनुसार पार्ट टाइम जबले विद्यार्थीको दैनिकी र पहिलो तथा दोस्रो सेमेस्टरपछिको खर्च धान्न सक्छ ।