साप्ताहिक संवाददाता
अभिनेत्री स्वस्तिमा खड्काले टेम्पो ड्राइभरको भूमिकामा अभिनय गरेको चलचित्र ‘बुलबुल’ले फ्ल्यास मोब शैलीमा चलचित्रको पहिलो गीत सार्वजनिक गर्ने भएको छ । यो शैलीमा भिडमा रहेका कलाकार अचानक गीत बजेसँगै एक जुट भएर नाच्न थाल्नेछन् ।
‘खुद्राखुद्री’ बोलको गीत एकै साथ पाँच सहरमा सार्वजनिक गरिन लागेको हो । निर्माण टिमले जानकारी गराए अनुसार चलचित्रको गीत यही कात्तिक १५ गते काठमाडौको काठमाडौं मल ,पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्समा एकै समयमा रिलिज गरिन लागेको हो । १५ गते दिनको ३ बजे एकै समयमा बजारमा छरिएर रहेका डान्सरले अचानक गीतमा नृत्य गर्ने कार्यक्रम रहेको निर्माता अविरल थापाले जनाएका छन् ।
काठमाडौं बाहिर स्वयंसेवी डान्सरले नृत्य गरे पनि काठमाडौंको काठमाडौ मल अगाडि भने चलचित्रकी नायिका स्वस्तिमा खडका र नायक मुकुन भुसालले पनि अरुसँगै नाच्नेछन् । बजारमा नाचेसँगै युटयुब र मिडियामार्फत एकै समय संसारभर गीत सार्वजनिक हुनेछ ।
भक्तपुरको हेलमेट डाँडामा पच्चीस वटा टेम्पो र १०० जनाको कोरससहित ४ दिन लगाएर खिचिएको गीतमा १८ लाख खर्च भएको निर्माण टिमको दाबी छ ।
गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन । ‘खुद्रा खाद्री’ बोलको गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ भने गीतको रचना र संगीत कोशिस क्षेत्रीले गरेका हुन् ।
गीतमा स्वस्तिमा खड्का र अभिनेता मुकुन भुसालले नृत्य गरेका छन् । चलचित्रका निर्देशक विनोद पौडेलले ‘बुलबुल’मा स्वस्तिमा खडकाको अभिनयले धेरैलाई चकित तुल्याउने दाबी गर्दै आएका छन् भने स्वस्तिमा स्वयंले पनि यो चलचित्र आफनो करियरकै कोशेढुंगा हुने अभिव्यक्ति दिँदै अएकी छिन् ।
चलचित्रमा स्वस्तिमा खडकाका अलावा मुकुन भुसाल, बुद्धि तामाङ, दिपक क्षेत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी, सृष्टि भट्टराई लगायतका कलाकारले अभिनय गरेका छन् । यो चलचित्र फागुन ३ बाट अल नेपाल प्रदर्शन गर्ने जनाईएको छ ।