साप्ताहिक संवाददाता
ब्रिगेड ब्वाइज क्लब
प्राय: रेलिगेसनबाट जोगिन सघर्ष गर्ने इतिहास बोकेको ब्रिगेड ब्वाइजसँग यसपटक कम्तीमा तल झर्ने तनाव हुने छैन । त्यसैले क्लबले बुनेको छ, अंक तालिकाको मध्यमा रहेर लिग सक्ने योजना । ललितपुरको यो क्लबका प्रशिक्षक पूर्वखेलाडी उज्जन श्रेष्ठ हुन् । श्रेष्ठका अनुसार उनको टिममा युवा खेलाडीहरूको वर्चस्व छ ।
च्यासल युथ क्लब
यसपटकको लिगको सबैभन्दा महत्त्वकांक्षी टिम हो— च्यासल । पहिलोपटक ‘ए’ डिभिजन खेल्न लागेको च्यासलले पर्याप्त खर्च गर्ने बहादुरी देखाएको छ र टिममा केही राष्ट्रिय खेलाडी पनि भित्र्याएको छ । प्रशिक्षक छन्, राजुकाजी शाक्य । यी सबै पृष्ठभूमिमा ललितपुरको च्यासल लिग उपाधिको दावेदारसमेत हो ।
फ्रेन्ड्स क्लब
ललितपुरकै प्रतिनिधित्व गर्ने अर्को क्लब फ्रेन्ड्ससँग कुनै ठूलो योजना छैन, यसपटकको लिगका लागि । तयारी र खेलाडीको अभावका कारण फ्रेन्ड्सको पनि उद्देश्य, लिगको मध्य भागमा रहने नै छ । रमेश महर्जनको प्रशिक्षणमा रहेको फ्रेन्ड्सको प्रदर्शन धेरै हदसम्म विदेशी खेलाडीमा भर पर्नेछ । टिमका अधिकांस खेलाडी युवा नै छन् ।
हिमालयन शेर्पा
लामो इतिहास नभए पनि नेपाली फुटबलमा बलियो उपस्थिति जनाइरहेको क्लब हो— हिमालयन शेर्पा । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको यो क्लबले यसपटक शीर्ष ६ मा स्थान बनाउने योजना बनाएको छ । सुवास लिम्बू प्रशिक्षक रहेको हिमालयन शेर्पाले पनि तयारी ठीक ढंगले गर्न सकेको छैन ।
जावलाखेल युथ क्लब
ललितपुरको क्लब जावलाखेलको सबैभन्दा ठूलो विशेषता हो, ऊसँग अभ्यास गर्ने आफ्नै मैदान छ । त्यसैले सम्भवत: यसले केही राम्रो तयारी पनि गरेको छ । यद्यपि टिमले लिगमा धेरै ठूलो केही गर्ने योजना बनाएको छैन । नरेश थापा जावलाखेलका सहायक प्रशिक्षक हुन् र उनको उद्देश्य छ— क्लबलाई पुछारतिर पुग्न नदिने ।
मछिन्द्र क्लब
लामो समय सुस्ताएर फेरि मैदानमा फर्कने योजनामा छ— मछिन्द्र । पछिल्लो लिगमा सनसनीपूर्ण रूपमा दोस्रो स्थानमा रहेको मछिन्द्रसँग त्यस्तै प्रदर्शन दोहोर्याउने कुनै योजना छैन । त्यसैले उसले औसत टिम तयार पारेको छ । अंक तालिकाको मध्य भागमै रहने योजना बनाएको मछिन्द्रले यसपटक प्रशिक्षणको जिम्मेवारी धनेश्वर प्रजापतिलाई दिएको छ ।
मनाङ मस्र्याङ्दी क्लब
लिग फुटबल इतिहासकै सबैभन्दा सफल क्लब मनाङ मस्र्याङ्दी यसपटक पनि उपाधिको सबैभन्दा ठूलो दावेदार हो । मनाङ प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन पनि हो । यो टिमले प्रशिक्षकमा नाइजेरियाका ताप फुजालाई अनुबन्ध गरेको छ । टिममा नाम चलेका खेलाडीको कुनै कमी छैन । प्रश्न हो, तिनले मैदानमा कसरी खेल्नेछन् ?
एपीएफ क्लब
नेपाल सशस्त्र प्रहरीको एपीएफ टिमले पनि लिगमा राम्रो प्रदर्शन गरेको इतिहास छैन । लिगमा प्रत्येक पटक सघर्ष गर्दै आएको एपीएफले धेरै पटक रेलिगेसनबाट जोगिन नै संघर्ष गरेको छ । त्यसैले यसपटक पनि एपीएफबाट धेरै आशा गरिएको छैन । प्रशिक्षक राजेन्द्र तामाङ भने टिमले राम्रो प्रदर्शन गर्ने कुरामा आशावादी छन् ।
पुलिस क्लब
नेपाल प्रहरीको यो टिम लिगको अर्को दावेदार हो । केही अघिसम्म नेपाली फुटबलमा एकछत्र राज गरेको पुलिस अब त्यस्तो टिम रहेन् । नाम चलेका खेलाडीका लागि पनि आजभोलि पुलिस राम्रो गन्तब्य हुन छाडेको छ । यद्यपि पुलिसले आफू शीर्ष दुई स्थानभित्र पर्ने दाबी गरेको छ । क्लबका प्रशिक्षक हुन्— पूर्व खेलाडी अनन्त तामाङ ।
एनआरटी
एनआरटी जत्तिको लामो इतिहास भएको टिम नेपाली फुटबलमा विरलै छन्, तर पछिल्ला केही वर्ष भने उसका लागि सम्झना लायक छैन । एनआरटी भर्खरै मात्र माथिल्लो डिभिजनमा उक्लिएको हो र यसपटकको उसको योजना हो, लिगको मध्यभागमा रहने । प्रशिक्षक छन्, लामो अनुभव बटुलेका, महेश्वर मुल्मी । एनआरटीले अरू टिमलाई दु:ख दिन सक्छ ।
संकटा क्लब
घरेलु फुटबलमा निकै सक्रिय र सफल क्लब हो— संकटा । त्यसैले संकटा यसपटक राम्रो खेल्ने अपेक्षा गरिएको टिममा पर्छ । यद्यपि क्लबले शीर्ष पाँच भित्र पर्ने योजना मात्र बुनेको छ । पूर्व खेलाडी सल्यान खड्कीको प्रशिक्षणमा रहेको संकटाले नकआउट प्रतियोगितामा प्राप्त सफलतालाई लिगमा समेत कायम राख्ने प्रयास गर्नेछ ।
सरस्वती क्लब
पछिल्लो समय निकै सुस्ताएको क्लबमा पर्छ, सरस्वती पनि । सकेसम्म बढी स्थानीय खेलाडीमा भर पर्ने योजना बनाएको सरस्वतीका प्रशिक्षक हुन्— प्रदीप नेपाल । सरस्वतीले पनि यसपटकको लिगमा धेरै ठूलो सपना पालेको छैन । क्लबको दाबी छ, टिमले प्रतियोगितामा राम्रो प्रदर्शन गर्नेछ ।
थ्री स्टार क्लब
उपाधिको प्रमुख दावेदार हो— थ्री स्टार । लिग हुन नसक्दा पनि लगातार फुटबल खेलिरहेको एकाध टिममा पर्छ, थ्री स्टार । टिममा स्टार खेलाडीको कुनै कमी छैन । यद्यपि प्रशिक्षक मेघराज केसी मान्छन्, लिग जित्न सजिलो छैन, त्यसैले विपक्षी टिमको प्रदर्शन अनुसार रणनीति बनाएर अघि बढ्ने हो । कम्तीमा थ्री स्टारबाट राम्रो प्रदर्शनको अपेक्षा राख्न सकिन्छ ।
आर्मी क्लब
नेपाली सेनाको आर्मी क्लब पनि उपाधिको दावेदार रहनेछ । धेरै अनुभवी खेलाडीले भरिएको टिम हो— आर्मी । त्यसैले पनि उसले राम्रो गर्ने अपेक्षा गर्न सकिन्छ । आर्मीको सबैभन्दा राम्रो पक्ष हो, घरेलु फुटबलमा लगातार खेलिरहनु र यसक्रममा केही सफलताको स्वाद पनि चाख्नु । टिमका प्रशिक्षक छन्— नवीन न्यौपाने ।