साप्ताहिक संवाददाता
सुरेश मानन्धर नेपालको मोडलिङमा चिनिएको नाम हो । नेपालको लोकप्रिय मोडलिङ एजेन्सी द र्याम्पका फेसन कोरियोग्राफर मानन्धरले हजारभन्दा बढी तन्नेरीलाई फेसन कोरियोग्राफी सिकाए अनि आफू पनि ४५ भन्दा बढी र्याम्पमा उत्रिए । चर्चित ब्रान्ड सानमिगल, होटल सोल्टीदेखि नेबिको बिस्कुट हँुदै विभिन्न जुस कम्पनी आदिका विज्ञापनमा मोडिलिङ गरे । मानन्धरले अनेकन र्याम्प शो आयोजित गरेर नेपालको मोडलिङलाई गति प्रदान गरे ।
उनी नेपालका लोकप्रिय पत्रपत्रिकामा कभर मोडल भए । विभिन्न म्युजिक भिडियोमा पनि अभिनय गरे । सन् १९९५ तिर फेसन मोडलिङमा करिअर प्रारम्भ गरेका मानन्धर अहिलेसम्म पनि यही क्षेत्रमा सक्रिय छन् । मानन्धर अहिले भने अमेरिकामा आफ्नो क्षमता देखाइरहेका छन् ।
पाँच वर्षअघि अमेरिका आएका मानन्धरले यहाँका चर्चित कम्पनी तथा ब्रान्डका झन्डै ३० वटा फेसन शोमा अमेरिकी मोडलहरूसँग क्याटवाक गरिसकेका छन् । उनले अमेरिकाका बहुचर्चित फेसन ब्रान्ड ग्यापदेखि अन्य बहुराष्ट्रिय कम्पनीहरूका शोमा आफूलाई उभ्याइसकेका छन् । अमेरिका आएपछि उनले अमेरिकाको फेसन/मोडलिङ कम्पनी एफएमा रन वे मोडलका रुपमा काम प्रारम्भ गरे । एफएमार्फत नै अमेरिकामा मेरो मोडलिङ तथा फेसन यात्रा सुरु भयो, मानन्धर भन्छन्– त्यसले अहिलेसम्म निरन्तरता पाइरहेको छ । सन् २०१४ तथा २०१५ मा लगातार दुई वर्ष पुरा समय यही कम्पनीको रन वे मोडलका रूपमा संलग्न मानन्धर अहिले अन्य ब्रान्डका शोहरूमा समेत सहभागी हुँदै आएका छन् ।
मानन्धरले अमेरिकाका चर्चित फेसन डिजाइनर एडिक एडलरदेखि एलेनसम्मका डिजाइनिङ शोमा सहभागिता जनाइसकेका छन् । उनको खुबी तथा क्षमता केही फेसन शोमा प्रशंसा–पत्रसहित सम्मानितसमेत भैसकेको छ ।
मानन्धरको कामलाई अमेरिकी मिडियाहरूले पनि कभरेज गरेका छन् । मानन्धरले मिस नेपाल युएस–२०१४ तथा २०१८ को अफिसियल कोरियोग्राफरका रूपमा भएर काम गरिसकेका छन् । हालसालै सम्पन्न मिस नेपाल युएस–२०१८ मा उनले प्रस्तुत गरेको नयाँ थिमको कोरियोग्राफीबाट नेपालका लागि अमेरिकाका पूर्वराजदुत स्कट डेलिसीसमेत प्रभावित भए । मानन्धरले प्रतियोगितामा सहभागी १७ जना सुन्दरीलाई बाहुन, क्षेत्री, गुरुङ, मगर, नेवार, राई, लिम्बु, तामाङ, शेर्पा आदि जातिको पहिरनमा फरक ढंगले उतारेका थिए । पहिरनसँगै सबै जातजातिको भाषागत गीत पनि बजाउँदै उनीहरूलाई परिचय राउन्डमा प्रस्तुत गरिएको थियो भने अन्त्यमा सबैको प्रतिनिधित्व गर्दै एक प्रतियोगीमार्फत हामी सबै एक हौं, हामी नेपाली हौं भन्ने सन्देश दिइएको थियो । उक्त अवसरमा जहाँ छन् बुद्धका आँखा गीतसँगै जीवित देवी कुमारीको महिमा प्रतियोगीहरूमार्फत प्रस्तुत गरिएको थियो ।
खासमा मानन्धरको करिअर पप ब्यान्डको ड्रमरबाट प्रारम्भ भएको थियो । त्यो उनको स्कुले दिन थियो । सुरेश आफ्नै भाइ जय मानन्धर भोकलिस्ट रहेको क्याप्सन ब्यान्डमा ड्रमर थिए । मोडलिङमा लाग्न उनलाई अग्रज मोडल तथा चलचित्र राजमतीका अभिनेता मणिराज लवटले प्रोत्साहित गरे । सान मिगल बियरको विज्ञापनका लागि लिड मोडल भएपछि उनको मोडलिङमा भाग्य चम्कियो । त्यसपछि उनले नेपालका चर्चित तथा बहुराष्ट्रिय कम्पनीहरूको विज्ञापनमा मोडलिङ गर्ने अवसर पाएका छन् । मैले काम सुरु गर्दा नेपालमा मोडलिङका बारेमा धेरैलाई जानकारीसम्म थिएन, विगत सम्झँदै मानन्धरले भने– त्यतिबेला मोडलिङलाई व्यवसायिक बनाउन धेरै प्रयास गरियो । अझै पनि नेपालमा मोडलिङ पूर्ण व्यवसायिक भैसकेको छैन ।