विराटनगर–१७ का १७ वर्षिय मोहम्मद अस्फाकको आफ्नै साथीले पैसाका लागि क्रुरतापूर्वक हत्या गरेको प्रहरीले खुलासा गरेको छ । सोही ठाउँका २० वर्षीय मोहम्मद सद्दिन हुसेन तथा २१ वर्षीय मोहम्मद आरिफ आलमले पैसाका लागि आफनै साथीको १ असोजमा हत्या गरे । उनीहरूले हत्या गरेपछि अस्फाक अपहरणमा परेको भन्दै परिवारसँग फिरौती माग गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए ।
हत्याको आरोपमा पक्राउ परेका दुवै अस्फाकका छिमेकी हुन् । विराटनगर–१५ मा मोबाइल पसल सञ्चालन गर्ने मोहम्मद आरिफ अस्फाकका मिल्ने साथी हुन् । बजार जाने भन्दै असोज १ गते घरबाट निस्किएका अस्फाकको हत्या सोही दिन राति साढे ८ बजे भएको अनुसन्धानबाट खुलेको एसपी केसीले बताए । ‘लामो समयको अनुसन्धानपछि हत्याको आरोपी पक्राउ परेका छन्,’ एसपी केसीले भने, ‘यो घटनामा एक दर्जन बढीलाई अनुसन्धानको दयारामा ल्याएपछि हत्याको मुख्य अभियुक्तिहरू पक्राउ गरिएको हो ।’ हत्या गर्नुको मुख्य कारण अपहरणको नाटक मञ्चन गरी मृतकको परिवारबाट पैसा असुली गर्नुनै रहेको अहिलेसम्मको प्रारम्भिक अनुसन्धानबाट देखिएको एसपी केसीले बताए । ‘हत्या गरेपछि मृतककै मोबाइलबाट एसएमएस गरी उनका बुवा मोहम्मद खलिलसँग सुरुमा ५० लाख रुपैयाँ फिरौती मागिएको थियो,’ एसपी केसीले भने, ‘त्यसपछि पटक–पटक फिरौती रकम माग गर्दै गए । अत्यमा पाँच लाख रुपैयाँसम्ममा कुरा मिलाउने उनीहरूको योजना देखियो । अपहरणमा परेको विश्वास दिलाउन अभियुक्तहरूले मृतकले लगाएको पाइन्ट सिमेन्टको बोरामा हालेर घर अघि समेत पुर्याएको भेटियो,’ एसपी केसीले भने । प्रहरीले असोज ७ गते शव फेला पारेपछि अभियुक्तहरूले मृतकका परिवारलाई एसएमएस गर्न छोडेका थिए । शव फेला परेको एक सातापछि हत्या आरोपीलाई पक्राउ गरिएको हो ।
अस्फाकको लाश प्रहरीले विराटनगर–१४ र १७ नम्बर वडाको सिमानामा रहेको ‘ह्युमपाइप’ भित्र असोज ७ लाश दुर्गन्धित अवस्थामा फेला पारेको थियो । शवको प्रकृति हेरी कपडा तथा आंैठीको आधारमा मृतक अस्फाक भएको पहिचान उनका बुवा खलिलले गरेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । यो घटनामा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी), १ नम्बर प्रदेश प्रहरी कार्यालय, मोरङ प्रहरी तथा ई.प्र.का रानीको अनुसन्धान टोलीले संयुक्त रूपमा अनुसन्धान गरेका थिए । दुवै जनालाई अपहरण शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दा अन्तर्गत जिल्ला अदालत मोरङबाट म्याद थप गरी थप अनुसन्धान भैरहेको एसपी केसीले जानकारी दिए ।
यसरी भयो हत्या
हत्याका मुख्य योजनाकार सद्दिम हुसेन बढी नै फजुल खर्च गर्ने प्रवृत्तिको भएको स्थानीय बासिन्दाहरू बताउँछन् । गाउँघरमा हुने कुनै पनि प्रतियोगितामा उनी ‘सट्टाबाजी’ खेल्थे । त्यही भएर उनलाई फजुल खर्च गर्न पैसा आवश्यक भयो । पैसा आवश्यक पर्दै गएपछि उनले अपहरण गर्ने र परिवारसँग फिरौती माग्ने योजना बुने । उनले आफ्नो योजना विश्वास गरेका साथी आरिफलाई सुनाए । उनी पनि तयार भए र असोज १ गते विश्वकर्मा पूजाको अवसर पारेर सद्दिम हुसेन र आरिफले अस्फाकलाई रमाइलो गर्नुपर्छ भन्दै होटलमा गएर मदिरा सेवन गर्ने योजना सुनाए । विराटनगर–१८ स्थित २ नम्बर ढाट नजिक अस्फाकको उनीहरूसँग भेट भयो । तीनै जना भएर रानीको एक होटलमा पुगेर मदिरा सेवन गरे । सद्दिम र आरिफले अलि कम खाए, अस्फाकलाई निक्कै मदिरा ख्वाए । मदिराको नशामा लठ्ठिएपछि तिनै जना मुन्डापोखरीको बाटो हुँदै विराटनगर–१८ बुधनगर जाने बाटोतर्फ अघि बढे । सुनसान र एकान्त ठाउँमा पुगेपछि सद्दिम र आलमले अस्फाकमाथि ढुङ्गा प्रहार गरे । उनी त्यही ढले । ‘अस्फाकलाई ढुङ्गा प्रहार गरेर बेहोस मात्र पार्ने र सिमापारी लगेर राख्ने योजना मुख्य अभियुक्त सद्दिम हुसेनले बुनेका थिए,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘ तर उनको घटना स्थलमै मृत्यु भएपछि लाशलाई कसैले नदेख्ने ठाउँमा लुकाई अपहरण गरेको नाटक गरेर परिवारसँग फिरौती मागियो ।’
तीन बजे राति शवलाई ह्युपाइपमा
अस्फाकको मृत्यु भएपछि उनीहरूलाई शव व्यवस्थापन गर्न समस्या भयो । दुवै जनाले जुक्ति निकाले– राति घटना भएको छेउ धानबारीको बीचमा शव लुकाउने र बिहान सबेरै व्यवस्थापन गर्ने । त्यसपछि उनीहरू दुवै जना घरतर्फ लागे । असोज २ गते बिहान ३ बजे उनीहरू २ वटा बोरा बोकेर घटना स्थलमा पुगे अनि पटुवाको बोरामा शव हाले र सिमेन्टको बोरामा अस्फाकले लगाएको पाइन्ट राखे । उक्त शवलाई विराटनगर–१८ हुँदै बुधनगर जाने बाटोको ‘ह्युमपाइप’ भित्र हाली दुवैतिर परालले त्यसको मुख बन्द गरे । त्यसपछि अस्फाक अपहरणमा परेको भन्दै उनीहरूले फिरौती माग गरेका थिए ।