साप्ताहिक संवाददाता
अभिनेता सुनिल थापालाई आज पनि राते काइँलाका नामले सम्बोधन गर्दा आनन्द लाग्छ । चलचित्र चिनोले दिलाएको यो उपनामप्रति थापा गर्व नै गर्छन् । नेपाली चलचित्रमात्र होइन बलिउडका चलचित्रमा समेत आफ्नो अलग छाप छाडिसकेका यी अभिनेता खानपिनमा निकै सौखिन मानिन्छन् । फुर्सद हुने बित्तिकै काठमाडौंका ह्यापेनिङ प्लेसहरूमा पुग्नु उनको दैनिकी नै हो । साथीभाइहरूसँग रेस्टुराँमा गएर क्वालिटी टाइम बिताउन रुचाउने अभिनेता सुनिल थापाका रोजाइका केही रेस्टुराँ :
हार्टेन क्याफे
काठमाडौंको मध्यबानेश्वरस्थित हार्टेन क्याफे मलाई मनपर्ने क्याफेमध्ये एक हो । यहाँको पूर्ण पारिवारिक वातावरण मलाई निकै मन पर्छ । त्यसबाहेक त्यहाँ आफूले खान चाहेका हरेक खानेकुरा पाइन्छ । स्वादिष्ट खानाका साथै खाजाका हरेक परिकार पाईने भएकाले अन्त डुलिरहनु पर्दैन ।
बेइजिङ गार्डेन
बत्तीसपुतलीस्थित बेइजिङ गार्डेनको नाम मात्र होइन, सेवा पनि उत्तिकै सुन्दर छ । यहाँ विशेषत: स्वादिष्ट चाइनिज परिकार पाइन्छ । त्यहाँको शान्त वातावरण पनि मलाई मनपर्ने एउटा कारण हो ।
थकाली भान्सा घर
गैरीगाउँस्थित थकाली भान्सा घर खानाका लागी एकदमै प्रख्यात छ । मैले त्यहाँ खाना खान थालेको धेरै भयो । त्यहाँको खाना खाएपछि म एकदमै खुसी हुन्छु । खासगरी खानाका साथमा पाइने लोकल कुखुरा त्यहाँको सबैभन्दा मीठो परिकार हो । अर्को कुरा सडकबाट थोरै भित्रपट्टि शान्त वातावरण पाइने भएकाले पनि म त्यहाँ नियमित पुग्छु ।
बेकरी क्याफे
नयाँ बानेश्वरस्थित बेकरी क्याफे मलाई मनपर्ने अर्को रेस्टुराँ हो जहाँ आफूले चाहेका हरेक परिकार पाइन्छ । यहाँको सर्भिस पनि निकै राम्रो छ । विशेषत: यहाँको सिजलर मलाई एकदमै मन पर्छ । प्रशस्त खुल्ला ठाउँ पनि यसको अर्को विशेषता हो ।
नाङ्लो
कमलादी गणेशस्थानसँगैको नाङ्लो पनि मलाई उत्तिकै प्रिय लाग्छ । तीन–चारतले यो रेस्टुराँमा आफ्नो मुडअनुसारको तल्ला तथा टेबलमा बसेर स्वादिष्ट खाना खान पाइन्छ । हरेक प्रकारका खानेकुरा उपलब्ध हुने यो रेस्टुराँको सबैभन्दा महत्वपूर्ण विशेषता भनेको पार्किङ हो । सहरको व्यस्त स्थानमा समेत निर्धक्क पार्किङ गर्न पाइने भएकाले यो रेस्टुराँमा जति धेरै बेर पनि कुनै समस्या छैन ।
प्रस्तुति : रामजी ज्ञवाली