साप्ताहिक संवाददाता
चलचित्र निर्माता माधव वाग्लेले संगीतकार राजनराज शिवाकोटीलाई ५० हजार पुरस्कार प्रदान गरेका छन् । चलचित्र ‘चङ्गा चेट’को गीत ‘गोजीमा दाम छैन...’ ले युट्युबमा एक करोड ५० लाख भ्युज प्राप्त गरेको अवसरमा निर्माता वाग्लेले उक्त रकम गायक तथा संगीतकार रानजराजलाई प्रदान गरेका हुन् ।
‘१५ मिलियन भ्युज क्रस गरेको सुखद उपलक्ष्यमा सर्जकको सम्मान स्वरुप निर्माताकोतर्फबाट पहिलो चरणमा ५० हजार रुपैयाँ नगद प्राप्त भएको छ । यो सम्मान संपूर्ण नेपाली संगीत क्षत्रको सम्मान हो’ पुरस्कार रकम लिएपछि गायक तथा संगीतकार राजनराजले भने । उक्त सम्मानले गीत/संगीत आफूलाई थप जिम्मेवार बनाएको पनि राजनराजले बताएका थिए ।
राजनराजले आफूले प्राप्त गरेको ५० हजारको ५ प्रतिशत रकम गीतका रचनाकार हरिहर तिमल्सेनालाई प्रदान गर्ने बताएका छन् । चलचित्र ‘चङा चेट’को गीत ‘गोजीमा दाम छैन...’ मा राजनराजलाई स्वरमा मेलिना राई र ग्रिष्मा शिवाकोटीले साथ दिएकी छन् । संगीत राजनराज स्वयम्ले गरेका छन् ।
राजनराजलाई यसअघि चलचित्र ‘कान्छी’को गीत ‘चरी चट्ट परी भुरुरु...’ लोकप्रिय भएपछि उक्त चलचित्रकी निर्मात्री तथा नायिका स्वेता खड्काले उनलाई मोटरसाइकल उपहार दिएकी थिइन् । दीपेन्द्र के खनालले निर्देशन गरेको यो चलचित्र यहि शुक्रबारबाट रिलिज हुँदै छ ।