साप्ताहिक संवाददाता
छायांकनको क्रममै चर्चा तथा विवादमा तानिएको चलचित्र ‘चंगा चेट’ को प्रदर्शन आज शुक्रबारदेखि नै प्रारम्भ भएको छ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको यो चलचित्र डार्क कमेडी विधाको भएको बताइन्छ । सत्य घटनामा आधारित चलचित्र चंगा चेटमा नक्कली नोटको कारोबारदेखि सुन तस्करीसम्मका आपराधिक विषयवस्तु समेटिएको छ ।
यही चलचित्रको प्रोपर्टीका रूपमा प्रयोग गरिएका नक्कली नोट बजारमा आउँदा चलचित्रका निर्माता माधव वाग्ले केही महिना थुनामा समेत परेका थिए । यद्यपि अहिले उनी थुनामुक्त भैसकेका छन् । वाग्लेसहित शर्मिला पाण्डेको समेत लगानी रहेको यो चलचित्रका लेखक प्रदीप भारद्वाज हुन् । चलचित्रमा निश्चल बस्नेत, अर्पण थापा, ऋचा शर्मा तथा बेनिशा हमालले अतिथि कलाकारका रूपमा अभिनय गरेका छन् ।
यो चलचित्रमा समावेश राजनराज शिवाकोटी र मेलिना राईको स्वरको ‘गोजीमा दाम छैन...’ गीत लोकप्रिय भैसकेको छ । उक्त गीतमा चलचित्रका मुख्य तीन जोडीले अभिनय तथा नृत्य गरेका छन् । यूट्युबमा यो गीतको भिडियोले डेढ करोडभन्दा बढी भ्युज पाइसकेको छ । पैसाको पछाडि दौडँदा मानिसको जीवन चंगा जस्तै चेट हुन समय लाग्दैन भन्ने सन्देश बोकेको यो चलचित्रको पार्टी थिमको गीत ढल्की ढल्की नाचन...पनि उत्तिकै लोकप्रिय छ ।
निर्देशक : दीपेन्द्र के खनाल
कलाकार : सन्दिप क्षेत्री, आयुष्मान देशराज जोशी, प्रियंका कार्की, सुरक्षा पन्त, पारमिता राणा, रवीन्द्र झा आदि ।
संगीतकार : राजनराज शिवाकोटी/मिस्टर आरजे