साप्ताहिक संवाददाता
अभिनेत्री रेखा थापा निर्देशकका रूपमा प्रस्तुत भएको पहिलो चलचित्र ‘मालिका’ को सार्वजनिक प्रदर्शन आज शुक्रबारदेखि प्रारम्भ भएको छ । नारीप्रधान यो चलचित्र सुदूर पश्चिमाञ्चल क्षेत्रको एउटा सत्य घटनामा आधारित छ । चलचित्रमा रेखा थापा नै मुख्य भूमिकामा छिन् ।
मालिकामा रेखासँगै कमला ओली पनि प्रमुख भूमिकामा छिन् । कमलाको यो पहिलो चलचित्र हो । रेखाले पश्चिम नेपालमै पुगेर कमलालाई चलचित्रमा ल्याएकी हुन् । चलचित्रको यसअघि नै सार्वजनिक ट्ेरलर दर्शकले मन पराएका छन् । चलचित्रको ट्ेरलरमै कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको नियति चित्रण गरिएको छ । यो चलचित्रले नेपाली चेलीहरूको वर्तमान प्रतिकूलतामाथि कडा व्यंग्य गरेको छ ।
चलचित्रले बाल विवाहको अन्त्य तथा महिला सशक्तीकरणको विषयसमेत समेटेको छ । शिवम अधिकारी यो चलचित्रका लेखक हुन् । रामशरण उप्रेतीद्वारा छायांकन गरिएको यो चलचित्रको सांगीतिक पक्ष पनि सवल छ । चलचित्र मालिकाको हल्का माया के माया गाढा लगाउने तथा सर सर गीत लोकप्रिय भैसकेका छन् । रेखा फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रकी निर्मातृ रेखाकै आमा सरस्वती थापा हुन् जसको छायांकन काठमाडौंसहित पश्चिम नेपालको बाँकेदेखि जाजरकोटसम्म गरिएको थियो ।
निर्देशक : रेखा थापा
कलाकार : रेखा थापा, कमला ओली आदि
संगीतकार : सुरेश अधिकारी