साप्ताहिक संवाददाता
कार्तिक १६, २०७५
गायन तथा नृत्य प्रतिभा खोजी गर्ने नेपाल गोल्डेन आइडलको छैटौं संस्करणको अडिसन कात्तिकको अन्तिम साता काठमाडौंबाट प्रारम्भ गरिँदैछ ।
यो प्रतियोगिताको अडिसन नेपालका विभिन्न ३२ जिल्लामा हुनेछ भने अन्तिम अडिसन पुस २१ गते पोखरामा सञ्चालन गरिनेछ । यसरी भएको अडिसनमा सहभागीमध्ये हरेक जिल्लाबाट गायनतर्फ पाँच तथा नृत्यतर्फ पाँच गरी कुल ३ सय २० जना छानिनेछन् ।
अडिसनमार्फत छानिएका प्रतिभाहरू विभिन्न १२ राउन्डमार्फत नृत्यतर्फ ५ तथा गायनतर्फ ५ गरी १० जनाले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको ग्रान्ड फिनाले आगामी चैत ३० गते शनिबार पोखरा सभागृहमा हुने आयोजक गोल्डेन स्टार मल्टिमिडियाका अध्यक्ष सरन गुरुङले बताए ।