साप्ताहिक संवाददाता
मीठो, साह्रै मीठो, अचम्मै मीठो, साँच्चै मीठो— यी शब्द सुन्नेबित्तिक्कै युवायुवतीहरूका कान ठाडा हुन्छन्, जिब्रो सलबलाउन थाल्छ । यो केही समयअघिको भाइरल गीत हो र उक्त गीतमा रहेको स्वर गायक विश्व नेपालीको हो । चर्चामा रहेका गायक विश्व काठमाडौंको कीर्तिपुरमा जन्मिएका हुन् । गायक नेपालीको परिवारमै सांगीतिक वातावरण छ । उनको बुबा भिबशरण नेपाली, दाइ श्याम नेपाली तथा ठूलोबुबा रामशरण नेपाली गीतसंगीतमा लागेका हुनाले आफू पनि सानैदेखि यतैतिर तानिएको विश्व बताउँछन् । क, ख, ग, घ सिक्ने क्रममै उनको मानसपटलमा संगीतको धुन पस्यो । उनको रगतमा पनि संगीत बहन थाल्यो ।
त्यसो त विश्व सानैदेखि आफूले सुनेका र मन परेका गीत गुनगुनाउँथे । उनले गुनगुनाएको गीत दाइ श्याम नेपालीको कानमा पर्यो । श्याम चर्चित सारङ्गी बादक हुन् । यही क्रममा कक्षा ३ मा अध्ययन गर्दै गर्दा विश्वलाई आफ्नै दाइ श्यामले गीत रेकर्ड गराउन अफर गरे । श्यामकै शब्द तथा संगीतको हो कि होइन रेलीमाई बालगीतमा विश्वले स्वर दिए । उक्त गीत रेकर्ड भएर बजारमा आएपछि आफूलाई गीत संगीतमा लाग्न थप हौसला मिलेको विश्व बताउँछन् । नेपाली भन्छन्– त्यति बेला गीत रेकर्ड गराउनु भनेको सपनाको कुरा थियो, तर मलाई कक्षा ३ मा पढ्दै दाइले बालगीतमा अवसर दिनुभयो ।
विश्वले आफूले अध्ययन गर्ने विद्यालय पुष्पसदन बोर्डिङ हाइस्कुलका विभिन्न प्रतियोगितामा गीत गाउन थाले । त्यसपछि उनलाई सोही विद्यालयकी संगीत शिक्षिका एवं गायिका कुन्ती मोक्तानले संगीत सिकाउन थालिन् ।
उनी कक्षा ४ मा अध्ययन गरिरहेका बेला अधिराज्यव्यापी बालगीत प्रतियोगिताको आयोजना भयो, जसमा विश्वले प्रथम स्थान हासिल गरे । यसरी प्रारम्भिक तहमा अध्ययन गर्दादेखि नै गायनमा सफलता हात पारेका विश्व २०५८ सालमा नेपाल टेलिभिजनबाट प्रसारण हुने ब्राइटर तिम्रो सुर मेरो गीतमा समेत विजेता भए । त्यसपछि उनले गीतसंगीतमै आफ्नो करियर बनाउने निर्णय गरे । यही क्रममा उनले प्लस टुको अध्ययनसँगै शास्त्रीय संगीत सिक्न थाले । शास्त्रीय संगीत सिक्न संगीतकार आनन्द राईले आफूलाई सुझाव दिएको विश्व सम्झन्छन् । आनन्दले उनलाई शास्त्रीय संगीत सिक्न गायिका संगीता प्रधान रानासँग चिनाजान गराइदिएका थिए, जहाँ उनले तीन वर्षजति संगीतको शिक्षा लिए ।
यसरी गीत–संगीतका बारेमा राम्रो ज्ञान लिइसकेपछि विश्वलाई आफ्नै एल्बम निकाल्न मन लाग्यो । यही क्रममा उनले ०६८ सालमा ५ वटा गीत समावेश भएको ‘उत्कृष्ट’ शीर्षकको एल्बम सार्वजनिक गरे । उक्त एल्बममा समावेश भएको सबैलाई जित्ने ईश्वर पनि गीतले त्यो वर्ष तीनवटा इमेज एवार्ड प्राप्त गर्यो । यस्तै त्यही एल्बममा संग्रहित अर्को गीतले सोही वर्ष रेडियो नेपालको आधुनिक गायनमा उनलाई दोस्रो बनायो । पहिलो एल्बमले नै अवार्ड हात पारेपछि आफूले गीतसंगीतको क्षेत्रमा पछाडि फर्कनु नपरेको विश्व बताउँछन् ।
यद्यपि आफूलाई पहिलो एल्बम निकाल्नकनिकै गाह्रो भएको उनी सम्झन्छन् । त्यतिबेला एल्बम निकाल्नु सपनाजस्तै थियो, विश्व भन्छन्– सुरुमै एल्बम निकाल्न आफूसँग रकमको अभाव थियो, म राजधानीका विभिन्न स्कुलमा संगीत सिकाउँथे । मैले एल्बम निकाल्ने भनेपछि स्कुलका प्रिन्सिपलहरूले आर्थिक सहयोग गर्नुभयो । यसरी सुरुमा अरूको आर्थिक सहयोगमा एल्बम निकालेका विश्वले हालसम्म २ सयभन्दा बढी गीतमा स्वर दिइसकेका छन् ।
घर–परिवारको सांगीतिक वातावरणले उनलाई यो क्षेत्रमा तानेको भए पनि आफूलाई सांगीतिक क्षेत्रमा स्थापित गराउन संगीतकार आनन्द राईले ठूलो भूमिका खेलेको विश्व बताउँछन् । त्यसो त उनी राईलाई नै आफ्नो आइडल मान्छन् । राईकै सहयोग र योजनामा विश्वको पहिलो एल्बम उत्कृष्टले सफलता पाएपछि उनी संगीतकारहरूको आँखामा पर्न थाले । त्यसपछि उनलाई विभिन्न गीत गाउन अफर आउन थाल्यो ।
विश्व अझै पनि राजधानीका विभिन्न विद्यालयमा संगीत शिक्षकका रूपमा आवद्ध छन् । यसका साथै उनी देश–विदेशका विभिन्न सांगीतिक कार्यक्रमहरूमा समेत त्यत्तिकै व्यस्त हुन्छन् । एक हजारभन्दा बढी स्टेज कार्यक्रममा प्रस्तुति दिइसकेका विश्वले फिनल्यान्ड, जापान, अस्ट्रेलिया, हङकङ, दुबई आदि देशको सांगीतिक यात्रा गरिसकेका छन् ।