साप्ताहिक संवाददाता
परदेशमा व्यस्त नेपालीहरू चाडपर्वका बेला भने फुर्सद निकालेर जमघट तथा रमाइलो गर्छन् । दसैंको रमझममा सामेल हुन नसकेकाहरू तिहारमा एकजुट हुने गरेका छन् । यसपालीको तिहारमा पनि स्थानीय संघ–संस्थाले रमाइलो गर्ने–गराउने मेसो मिलाइरहेका छन् । सामूहिक दिपावली, देउसी–भैलो, म्ह:पूजा, भाइटीका आदि कार्यक्रमहरूको तयारी विभिन्न देशका विभिन्न सहरमा भैरहेको छ ।
कतिपय देशमा नेपालबाट कलाकार झिकाएर वा स्थानीय कलाकारहरूको उपस्थितिमा सांगीतिक कार्यक्रमको तयारी भैरहेको छ । दिनहुँ कामको व्यस्ततामा रहेका प्रवासीहरूलाई यस्ता कार्यक्रम खुसी साट्ने गतिलो माध्यम बन्ने गरेका छन् । बेलायतमा रहेका कुश बस्नेत भन्छन्, ‘यहाँ कार्यक्रमहरू त भैरहन्छन् तर चाडपर्वमा जस्तो एकता र भाइचारा अरू बेला फेला पार्न मुस्किल पर्छ, त्यसैले चाडपर्वमा आयोजना हुने कार्यक्रमले हामी सबैलाई भावनात्मक रूपमा एक गराउन सहयोग पुर्याउने काम गरिरहेका छन् ।’
पासा पुच: गुठी साउथ इस्ट लन्डनले यो वर्ष सामूहिक म्ह:पूजा तथा सांस्कृतिक कार्यक्रमको तयारी गरिरहेको छ । नेपाल संवत् ११३९ को अवसर पारेर कात्तिक २२ गते बिहीबार साँझ एसियन कन्युनिटी सेन्टर ह्वाइट हर्ट रोड लन्डनमा कार्यक्रम आयोजना गरिएको छ । उक्त अवसरमा लाखे नाच, हुलाँ प्याखँ (नाच), धिमे बाजा, कुमारी जात्रा झॉकी, मञ्जुश्री नाच समेत प्रस्तुत गरिँदैछ ।
यता, नेपाली समुदायको अधिक बसोबास रहेको अष्ट्रेलियाको सिड्नीमा कलाकार हरिबंश आचार्यको उपस्थितिमा विशेष कार्यक्रमको तयारी भैरहेको छ । त्यसका लागि बाबा एजुकेसन कन्सल्टेन्सीले गाला डिनर र रमाइलो प्रस्तुतिको योजना बनाएको छ । गायक सञ्जीव पराजुली तथा समीर आचार्यसमेत सहभागी हुने उक्त कार्यक्रम भोलि शनिबार कात्तिक १७ गते हुँदैछ ।
अमेरिकाका विभिन्न राज्यमा दीपावलीका विभिन्न कार्यक्रमको तयारी भैरहेको छ । मेरिल्यान्डमा सामूहिक देउसी भैलो हुँदैछ । उक्त देउसी–भैलो नेपाल सांस्कृतिक तथा शैक्षिक केन्द्र (एनईसीसी) नेपाली पशुपति बुद्ध मन्दिरको अगुवाइमा सम्पन्न हुनेछ । देउसी–भैलो कार्यक्रम भोलि शनिबार कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म चल्ने बताइएको छ ।
नेपा: पासा पुच: अमेरिकाले नेपाल सम्बत ११३९ का अवसरमा विशेष कार्यक्रम गर्दैछ । उक्त अवसरमा सपनाश्री, न्हुछे डंगोल, उत्तम श्रेष्ठ, प्रजित श्रेष्ठ आदिले प्रस्तुति दिनेछन् ।
अमेरिकाकै नर्थ क्यारोलिनाको हाइपोष्टमा ‘तिहार सांगीतिक धमका’मा रविन शर्माले बृहत प्रस्तुति दिने छन् । सरगम समूहको अगुवाइमा भोलि शनिबार कात्तिक १७ गते हुने उक्त कार्यक्रममा स्थानीय कलाकारहरू पनि सहभागी हुने आयोजकहरूले जनाएका छन् ।
जापानमा नेवा: अन्तराष्ट्रिय फोरमले म्ह: पूजा तथा नेपाल सम्वत्को शुभकामना आदनप्रदान कार्यक्रम गर्ने भएको छ । कोतुको स्थित कितासुना दान्ची हलमा कात्तिक २४ गते म्ह:पूजा गर्ने तयारी गरिएको आयोजकहरूले बताएका छन् ।
विदेशमा रहेका नेपालीहरू यमपञ्चकका पाँच दिनमध्ये लक्ष्मीपूजा, म्ह:पूजा, नेपाल सम्वत तथा भाइटीकालाई विशेष प्राथमिकता दिएर मनाउने गरेको बताउँछन् । सामूहिक भाइटीका लगाउने वा कसैलाई चेली–माइती मानेर भाइटीका लगाउने चलन पनि उत्तिकै रहेको टेक्सासमा रहेका पवन पौडेलले बताए । पौडेलका अनुसार यहाँ आफन्त वा दिदी बहिनी नहुनेले नजिकका साथीलाई दिदी–बहिनी मानेर टीका लगाउने र रमाइलो गर्ने चलन छ ।