विश्व यात्रामा रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप क्रिकेट ट्रफीलाई गत शनिबार पोखरा पुर्याइयो । पोखरा प्रिमियर लिग (पीपीएल) सञ्चालन भैरहेको पोखरा रंगशालामा ट्रफी पुर्याइएपछि नेपाली क्रिकेट खेलाडी, पीपीएलमा सहभागी विदेशी खेलाडी तथा क्रिकेटप्रेमी दर्शकले त्यसको अवलोकन मात्र गरेनन्, ट्रफीसँगै सेल्फीसमेत लिए । नेपाली राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन पारस खड्का तथा सन्दीप लामिछानेले ट्रफी उचालेर त्यसलाई सार्वजनिक गरे भने खड्काले आफूहरूको सपना विश्वकप क्रिकेट ट्रफी जित्नु रहेको र त्यसका लागि निकै मेहनत गर्नुपर्ने प्रतिक्रिया दिए ।
संयुक्त अरब इमिरेट्स (युएइ) बाट कात्तिक ९ गते नेपाल ल्याइएको उक्त ट्रफी पोखराको फेवाताल किनार, काठमाडौंको स्वयम्भु, चन्द्रगिरी, दरबार स्क्वायरमा समेत प्रदर्शनीमा राखिएको थियो । उक्त ट्रफीलाई शीतल निवास समेत पुर्याइयो, जहाँ राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई हातले उचालेर खुसी व्यक्त गरिन् । विश्वकप क्रिकेट ट्रफी पहिलो पटक नेपाल ल्याइएको हो । यो ट्रफी टुर ९ महिना चल्नेछ । विश्वकप खेल्ने राष्ट्रमा मात्र पुर्याइने यसअघिको परम्परा तोड्दै यसपालि क्रिकेटका उदाउँदा ११ राष्ट्रमा समेत विश्वकप ट्रफी टुर सञ्चालन गरिएको हो ।