साप्ताहिक संवाददाता
लोकदोहोरी क्षेत्रका गायक–गायिकाहरूले विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि तिहार विशेष देउसी–भैलो गीत सार्वजनिक गरेका छन् । यो वर्षको तिहारलाई लक्षित गर्दै ५० भन्दा बढी तिहार गीत युट्युबमा अपलोड भैसकेको पाइन्छ ।
यही क्रममा गायक पशुपति शर्माले तिहारको रमाइलो बोलको देउसी–भैलो गीत सार्वजनिक गरेका छन् । युट्युबको ट्रेन्डिङमा समेत परेको उक्त गीतमा पशुपति शर्मा र देवी घर्तीको स्वर सुन्न सकिन्छ भने त्यसमा शर्माकै शब्द तथा संगीत छ । यो गीत युट्युबमा हालसम्म १ लाख ३० हजारभन्दा धेरै पटक हेरिएको छ । त्यस्तै गायक विनोद गुरुङको झिलिमिली तिहारै शीर्षकको गीत सार्वजनिक भएको छ । एन के ब्रदर्सको शब्द तथा संगीतको उक्त गीत हालसम्म १ लाख ३६ हजार पटक हेरिएको छ ।
लोकदोहोरी गायिका पूर्णकला बीसी तथा बालकुमार श्रेष्ठको स्वरको देउसी रे भन गीतमा कमल सरगम तथा सपना सुनुवार फुच्चीको शब्द एवं कमल सरगमको संगीत छ । उक्त गीतको भिडियोमा रीना थापामगर र रोशन बुढाथोकीले अभिनय गरेका छन् । चित्र माक्सी मगरद्वारा निर्देशित उक्त भिडियो युट्युबमा १ लाख भन्दा धेरै पटक हेरिएको छ । यसैगरी गायक कमल सुशान्त केसी र कृष्ण परियारको स्वरको मेरो निधार तिम्रो हात खाली गीत बजारमा आएको छ । राजेशकुमार नेपालीको शब्द तथा भोजराज विकको संगीतको उक्त गीतको भिडियोमा आर्यन पुडासैनी, आस्था आचार्य तथा गोमु केसीले अभिनय गरेका छन् ।
गायक सन्तोष केसी तथा गायिका शर्मिला गुरुङको स्वरको देउसी रे बोलको तिहार गीतमा सन्तोष केसीको शब्द तथा संगीत छ भने उक्त गीतको भिडियोमा सारिका केसी एवं रमेश केसीले अभिनय गरेका छन् । यो भिडियो युट्युबमा हालसम्म ३ लाख २३ हजारभन्दा धेरै पटक हेरिएको छ ।
गायक लोक जी मिजार तथा सनम श्रीपाली मिजारले डम्फु मादल बोलको तिहार गीत बजारमा ल्याएका छन् । लोक जीको शब्द तथा संगीतको उक्त गीतको भिडियोमा लोक जी मिजार, करिना, निशा आदिको अभिनय छ ।
तिहारको रन्को बोलको गीतमा खुमन अधिकारी, सीता थापा, अमृता लुंगेली मगर, मञ्जु गौतम, साबित्रा बस्नेत भुजेल आदि कलाकारको स्वर सुन्न सकिन्छ । सुस्मिता सापकोटा र दिनेशले अभिनय गरेको उक्त गीतको भिडियोले युट्युबमा हालसम्म ५ लाखको हाराहारीमा भ्युज पाएको छ । गायक सज्जन धामीको आयो तिहार गीतमा काल्पनिक केसीको शब्द तथा संगीत छ भने त्यसको भिडियोमा गणेश चन्द ठकुरी, नरेश एमसी तथा सुस्मिता गिरीले अभिनय गरेका छन् ।
गायक रोशन कुतल क्षेत्री तथा गायिका शान्ति सुनारको स्वरमा सजिएको लाहुरे दाइ बोलको तिहार गीत सार्वजनिक भएको छ । सतिश अधिकारीको शब्द तथा रोशन कुतलको संगीतको उक्त गीतको भिडियोमा श्रीप्रसाद थापा, रीना थापा तथा रबिना भण्डारीले अभिनय गरेका छन् । यो भिडियो हालसम्म १ लाख २० हजार पटक हेरिसकिएको छ । गायिका संगीता थापामगर तथा गायक प्रसाद खप्तरी मगर र सुमन थापामगरको स्वरको देउसी–भैलो गीतमा शिव हमाल र प्रसाद खप्तरी मगरको शब्द तथा शिव हमालको संगीत छ ।
गायक तेजश रेग्मी तथा गायिका सम्झना भण्डारीको स्वरको नयाँ गलबन्दी तिहार गीतको भिडियोमा रीना थापा तथा प्रेम थापाको अभिनय छ । यस्तै गायिका राधिका हमाल, गायक रेशम सापकोटा तथा गायिका मीरा सापकोटाको स्वरको कात्तिके दान बोलको तिहार गीतमा रेशम सापकोटाको शब्द तथा संगीत छ भने उक्त गीतको भिडियोमा विजय थापा एवं सुशीला थापाले अभिनय गरेका छन् ।
गायिका देवी घर्ती तथा गायक पीताम्बर जिसीको स्वरको थुङ्गेश्वरी फूलै फूल्यो तिहार गीतको भिडियोमा शंकर बिसी, करिश्मा ढकाल आदि कलाकारको अभिनय हेर्न पाइन्छ ।
गायक खुमन अधिकारी तथा गायिका टीका पुनको स्वरको अहिलेको साल बोलको तिहार गीतमा लालवीर बूढामगरको शब्द तथा संगीत छ भने उक्त गीतको भिडियोमा हेमन्त बुढाथोकी, चाहना मगर, याम रानामगर एवं अमृता मगरले अभिनय गरेका छन् ।
गायक मेक्सम खाती तथा गायिका कुसुम बुढाथोकीको स्वरमा सजिएको छैन आउनी भाडा गीतमा विष्णु खत्रीको शब्द तथा संगीत छ भने उक्त गीतको भिडियोमा मोडल शीतल केसी एवं कुसुम बुढाथोकीले अभिनय गरेका छन् ।
चन्द्र चलाउने र लिला कुँवर गुरुङको स्वरको दिदीबहिनी बोलको तिहार गीतको भिडियोमा बाबु थापा, शोभा त्रिपाठी आदि कलाकारले अभिनय गरेका छन् । त्यस्तै, गायिका डोमा शेर्पाको देउसी–भैलो गीतमा सूर्य थुलुङको शब्द तथा पवन लामाको संगीत छ ।
गायिका मुना थापा र नेत्र अर्यालको दाजु हरायो बोलको तिहार गीतमा नेत्र अर्यालको शब्द तथा संगीत सुन्न सकिन्छ । उक्त गीतको भिडियोमा डिना कार्की र दिपेश थापाको अभिनय छ । यसैगरी गायिका विष्णु माझीले फेरि आयो दसैं–तिहार गीत बजारमा ल्याएकी छिन् । जगदीश भण्डारीको शब्द तथा संगीतको उक्त गीतमा सारिका केसी र विपेश घिमिरेले अभिनय गरेका छन् ।
गायक रामकृष्ण निरौला लगायतका कलाकारको स्वरको लौ फेरि आयो तिहार बोलको गीत पनि सार्वजनिक भएको छ भने रेशम सापकोटा र जुना शिरिषको स्वरमा सजिएको झलमलै तिहार गीतसमेत बजारमा आएको छ ।
गायक ललित केसी तथा गायिका चाँदनी मल्लको स्वरको आयो आयो देउसी र भैलो गीतमा ललित केसीको शब्द तथा संगीत सुन्न सकिन्छ । उक्त गीतको भिडियोमा ललित, चाँदनी, सिर्जु अधिकारी तथा निशा केसीले अभिनय गरेका छन् ।
गायक राजेशपायल राईले पनि सयपत्री बोलको तिहार गीत सार्वजनिक गरेका छन् । प्रेम राईको शब्द तथा बिनोद खम्बुको संगीतको उक्त गीतमा उमेश राई, अनु लिम्बू, दीपा तामाङ, राजेशपायल राई आदिको अभिनय छ । उक्त गीतलाई युट्युबमा हालसम्म १ लाख ६० हजारभन्दा बढी पटक हेरिसकिएको छ ।
गायिका पूर्णकला बिसी, गायक थममान परियार तथा प्रेम सागर पौडेलको स्वरको चिउरीको पातमा दियो बालेर बोलको गीतमा सिर्जना र निर्मलको अभिनय छ । यसैगरी गायक रामजी खाँड, गायिका राधिका हमाल, पूर्णकला बीसी आदि कलाकारको स्वरको तिहार देउसी–भैलो गीत पनि सार्वजनिक भएको छ ।
तिहारलाई विशेष गरी उज्यालो पर्वका रूपमा लिइन्छ । यही उज्यालो चाडलाई प्रतिनिधित्व गर्ने उद्देश्यले गायक प्रकाश सपूत, डिबी गुरुङ तथा गायिका सुनिता दुलाल र टीका पुनले उज्यालो तिहार गीत सार्वजनिक गरेका छन् । प्रकाश सपूतको शब्द तथा संगीतको उक्त गीतको भिडियोमा लक्ष्मी गिरी, सूरवीर पण्डित, सुवर्णा दुलाल एवं तथा राजेश कार्कीले अभिनय गरेका छन् ।
अमृत खाती, डिबी लोप्चन, भिमसेन खतिवडा, उमा श्रेष्ठ आदि गायक–गायिकाको स्वरको देउसी र भैलो हजुरको आँगनीमा बोलको तिहार गीतमा अमृत खाती र माधव प्रधानको शब्द तथा माधवको संगीत सुन्न सकिन्छ । उक्त गीतको भिडियोमा सञ्जीव ठकुरी र टीका जैशीको अभिनय छ । यस्तै तारापती सुवेदी, जीवन दाहाल र लक्ष्मी रामदामको स्वरको हजुरका आँगनीमा बोलको गीत पनि सार्वजनिक भएको छ ।
ईश्वरी बस्याल, पुरुषोत्तम गैरे, शर्मिला गुरुङ र योगराज पोखरेलको स्वरको देउसी–भैलो सार्वजनिक भएको छ भने गायक खुमन अधिकारी तथा गायिका देवी घर्तीको स्वरको यो तिहारमा म घर आउँला गीतसमेत सार्वजनिक भैसकेको छ । महेन्द्र भण्डारीको शब्द तथा संगीतको उक्त गीतको भिडियोमा मोडल महेन्द्र गौतम, गायत्री थापा, ऋचा थापा आदिले अभिनय गरेका छन् ।
गत तीजमा नेपाली ब्याकरण सिकाउने तीज गीत बनाएर चर्चामा आएको शंखमुल, काठमाडौंको अवेरनेस ईन्टरनेशनल स्कूलले तिहारको अवसर पारेर पुन: त्यस्तै प्रकारको शैक्षिक तिहार गीत सार्वजनिक गरेको छ । विद्यालयकै विद्यार्थीहरूको सहभागिता तयार पारिएको ‘सात प्रदेश’ शीर्षकको उक्त गीतमा संघीय नेपालका बारेमा सम्पूर्ण जानकारी प्रदान गरिएको छ । विद्यालयका नेपाली विषयका शिक्षक बिमल घिमिरेको सक्रियतामा उक्त गीत तयार पारिएको हो । गीतको भिडियोमा विद्यार्थीहरूले आकर्षक नृत्य गरेका छन् ।
यसैगरी गायिका निशु ढकालको स्वर रहेको आयो तिहार लिएर देउसी बोलको गीत सार्वजनिक भएको छ । नवीन के तिमल्सिनाको शब्द तथा संगीत रहेको उक्त गीतको भिडियोमा एञ्जिला, शिल्पा र रुपाले अभिनय गरेका छन् ।