साप्ताहिक संवाददाता
यमपञ्चकको पहिलो दिनदेखि दियो बालिन्छ । तिहारमा हरेक घर झिलिमिली बत्तीले सजाइन्छ ।
पहिले पात वा माटोको दियोमा बत्ती बालेर घर झिलिमिली पार्ने चलन थियो । अहिले मैनबत्ती तथा विभिन्न डिजाइनका विद्युतीय झलरको प्रयोग बढ्दो छ ।
तिहारमा एलइडी बल्ब तथा झलरको प्रयोगले आगलागीबाट जोगाउँछ भने विद्युत् खपत पनि कम गर्छ । यस्ता बल्ब टिकाउ हुने भएकाले उपभोक्ताको रोजाइमा पर्ने गरेका छन् । यद्यपि विद्युत्को प्रयोगमा पर्याप्त सावधानी अपनाउनुपर्छ ।
तिहारमा विद्युत् खपत बढी हुन्छ । यस्तो अवस्थामा विद्युतीय झलरको स्थानमा मैनबत्ती तथा दियो राम्रो विकल्प हो ।
माटाको पालामा बत्ती बाल्दा आगो टिप्ने सामान नजिक दियो राख्नु हँुदैन । बालबालिका हिड्डुल गर्ने ठाउँमा पनि दियो राख्नु हुँदैन ।
दियो बलेको स्थानबाट यताउता हिड्डुल गर्नु हुँदैन । दियो पर्दा तथा झ्यालढोकाको नजिक पनि बाल्नु हुँदैन ।
दियो आगो छिट्टै टिप्ने वस्तुभन्दा केही पर राख्नुपर्छ ।