साप्ताहिक संवाददाता
पोखराथोक पाल्पाका नारायण भट्टराई भलिवलका सामान्य खेलाडी हुन् । भलिबल खेल्नु अघि उनी बललाई औंलामा राखेर घुमाउने प्रयास गर्थे । यसरी बल घुमाउँदा उनलाई रमाइलो लाग्थ्यो । रमाइलोका लागि बललाई औंलामा राखेर घुमाउन गरिएको त्यो प्रयास कुनै दिन विश्व कीर्तिमान होला भन्ने भट्टराई आफैंले पनि सोचेका थिएनन् । त्यही रमाइलोका लागि गरिएको प्रयास १० वर्षपछि विश्व कीर्तिमानमा दर्ता भएको छ ।
हातको एउटा औंलामा बललाई राखेर लामो समय घुमाएको कीर्तिमान भट्टराईको नाममा गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा दर्ता भएको हो । वल्र्ड रेकर्ड अफ गिनिज बुकले गत ८ मे (२५ वैशाख) मा भट्टराईलाई यसबापत प्रमाणपत्र हस्तान्तरण गरिसकेको छ । भट्टराईले हातको एउटा औंलामा बललाई राखेर ११ मिनेट २२ सेकेन्ड घुमाएर उक्त कीर्तिमान कायम गरेका हुन् । यस अघि त्यस्तो कीर्तिमान स्पेनका अल्कारेजको नाममा थियो । अल्करेज स्पेनिस बास्केटबल टिमका राष्ट्रिय खेलाडी हुन् । भट्टराईले अल्कारेजको १० मिनेट ३३ सेकेन्डको कीर्तिमान भंग गरेका थिए ।
१० वर्षदेखि रमाइलोका लागि बललाई औलामा राखेर घुमाए पनि कीर्तिमानकै लागि भने १५ महिनादेखि मात्र लागि परेको भट्टराई बताउँछन् । ललितपुरको ग्वार्कोमा औषधि पसल सञ्चालन गर्दै आएका भट्टराई विश्व कीर्तिमान कायम भएपछि मेहनत गर्ने हो भने जस्तोसुकै काम पनि गर्न सकिने रहेछ भन्ने आत्मविश्वास बढेको बताउँछन् । त्यही आत्मविश्वासका कारण पहिलो कीर्तिमान राखेको छ महिना नबित्दै भट्टराई अन्य दुई विश्व कीर्तिमान कायम गर्ने क्रममा छन् । गिनिज बुकबाट अब चाँडै नै अन्य दुई विश्व कीर्तिमानको प्रमाणपत्र थाप्ने तरखरमा रहेका भट्टराई भन्छन्– एक महिना भित्र एउटा थाप्छु भने अर्को विश्व कीर्तिमानका लागि दुई महिना जति लाग्छ । भट्टराईले कायम गर्न लागेका थप दुई विश्व कीर्तिमान मध्ये पहिलो पेन्सिलमा बललाई राखेर लामो समय घुमाउने र अर्को हातको एउटा औंलामा लामो समय बिचबल (जिमबल) घुमाउने हो ।
पेन्सिलमा बल राखेर एक हातले घुमाउने यस अघिको कीर्तिमान ३ मिनेटको मात्र छ भने भट्टराईले २९ मिनेट घुमाएर कीर्तिमानको दाबी गरेका छन् । बिचबल घुमाउने कीर्तिमान पनि लामो अन्तरमा तोड्ने तयारीमा रहेको भट्टराईले बताए । त्यसमा अहिले ६ मिनेटको मात्र विश्व कीर्तिमान भएकोमा भट्टराईले १६ मिनेटसम्म घुमाएका छन् । यी दुवै कीर्तिमान हाल भारतीय नागरिकको नाममा छ ।