साप्ताहिक संवाददाता
आफ्नो स्मार्टफोनमै तिहार मनाउन र तिहारको झलक प्राप्त गर्न सकिन्छ । तिहारको अवसरमा गरिने लक्ष्मीपूजादेखि लिएर रंगोलीको डिजाइन समेत आफ्नो एन्ड्रोइड स्मार्टफोनमा गर्न सकिन्छ । गुगल प्ले स्टोरमा यी एप्स उपलब्ध छन् ।
नेपालमा भन्दा पनि भारतमा यस्ता एप्स प्रशस्तै निर्माण भएका छन् । भारत र नेपालको संस्कृति मिल्दोजुल्दो भएकाले हामीले यी एप्स प्रयोग गरी तिहारलाई थप उल्लासमय बनाउन सक्छौं । भारतमा तिहारलाई दिवाली भनिने भएकाले धेरै एप्समा दिवाली शब्द प्रयोग भएका छन् ।
रंगोली फर दिवाली
तिहारमा रंगोलीको पनि प्रशस्त चर्चा हुन्छ । घरको अगाडि सुन्दर रंगोली डिजाइन गर्न रंगोली फर दिवाली एप्सको सहयोग लिन सकिन्छ । यो एप्समा रंगोलीका १ सयभन्दा बढी डिजाइन उपलब्ध छन्, जसबाट आफूलाई मन परेको रंगोली छनौट गर्न सकिन्छ । यो एप्सको प्रयोग अफ लाइनमा समेत गर्न मिल्छ ।
लक्ष्मीपूजा–जनाना प्रबोधिनी
लक्ष्मीपूजाका क्रममा लक्ष्मीका साथ गणेशको पनि पूजा गरिन्छ । यस्तो पूजाका लागि सधै पुरोहित उपलब्ध हुन्छन् भन्न सकिदैन । त्यसका लागि यो एप्स आफ्नो स्मार्टफोनमा इन्स्टल गर्न सकिन्छ । यसमा लक्ष्मीपूजाको सबै विधि उपलब्ध हुन्छ । यस्तो पूजा विधि पुरोहितकै आवाजमा सुन्न सकिन्छ । पूजाको तयारीदेखि लिएर संकल्पको समयसम्मका सबै प्रक्रिया यसमा समेटिएका छन् । त्यसैगरी लक्ष्मी पुजन नामक अर्को एप्स पनि छ, जसमा लक्ष्मीपूजा एवं आरतीको विधि आदिका बारेमा जानकारी दिइएको छ ।
दिवाली पूजा अडियो एचडी
यो तिहारको सबै समयका लागि वान–इन–अल एप्स हो । यसमा अडियो एचडी वालपेपर, रंगोली, लक्ष्मी–गणेश आरती, मन्त्र आदि हिन्दी तथा अंग्रेजी भाषामा उपलब्ध छ । यो एप्स गुगल प्ले स्टोरमार्फत इन्स्टल गर्न सकिन्छ ।
५० टप दिवाली सङ्स
लक्ष्मीपूजाका साथै तिहारका अन्य अवसरलाई थप रोमान्चक बनाउन यो एप्स प्रयोग गर्न सकिन्छ । यो एउटै एप्लिकेसनमा लक्ष्मीसँग सम्बन्धित ५० वटा गीत उपलब्ध छन् । यसमा लक्ष्मी आरती, भजन, ब्रत कथा, मन्त्र, देवीका १ सय ८ नाम आदि समेत उपलब्ध छन् ।
लक्ष्मी टेम्पल फर दिवाली
पूजाको समयमा ब्यस्तताका कारण मन्दिर जान नपाए आफ्नो स्मार्टफोनमै यो एप्स प्रयोग गरी भर्चुअल मन्दिर निर्माण गर्न सकिन्छ । यति मात्र नभई मन्दिरलाई आफ्नै तरिकाले डिजाइनसमेत गर्न सकिन्छ । यसमा वालपेपर, मन्दिरका पिलर, आरती, फुल, बत्ति आदि समेत बनाउन सकिन्छ ।
दिवाली–२०१८
तिहारको समयमा साथीभाइ तथा आफन्तलाई शुभकामना पठाउन यो एप्स प्रयोग गर्न सकिन्छ । त्यसबाहेक यसमा वालपेपर, रिङटोन तथा रंगोली डिजाइन आदि सेयरसमेत गर्न सकिन्छ । यीबाहेक दिवाली धमाल, ह्याप्पी दिवाली, दिवाली ग्रिटिङ कार्ड, दिवाली दियाजस्ता एन्ड्रोइड एप्स समेत उपलब्ध छन् । यी एप्स गुगल प्ले स्टोरमार्फत डाउनलोड गर्न सकिन्छ ।