साप्ताहिक संवाददाता
डन जोन्सन
ग्याम्बलिङको संसारमा डन जोन्सनलाई रियल हिरो मानिन्छ । सन् २०११ मा एट्लान्टिक सिटी क्यासिनोका टप तीन क्यासिनोमा केही दिनमै १ करोड ५० लाख डलर जितेर जोन्सन संसार प्रसिद्ध भएका थिए । उनले कानुनी रूपमै यति धेरै पैसा जितेका थिए र त्यसमा कुनै छलछाम गरेका थिएनन् । विभिन्न क्यासिनोमा खेल्ने क्रममा क्यासिनोले गर्ने ट्रिक पत्ता लगाएर जोन्सन त्यसैअनुसार खेल्थे । कतिपय अवस्थामा क्यासिनोले नै उनलाई दण्डका रूपमा पैसासमेत तिर्नुपथ्र्यो ।
फिल इभी
पोकर गेमका लागि संसारकै उत्कृष्ट खेलाडी मानिन्छ— फिल इभीलाई । मेगा क्र्याप टुरका रूपमा प्रत्येक डाइसको रोलमा उनी १ लाख डलरको बाजी हाल्थे । इभीले सन् २०१२ मा लन्डनको क्र्याकफोर्ड्स क्यासिनोमा एक ब्याकारेट सेसनमा १ करोड १० लाख डलर जिते । त्यसभन्दा पहिले उनले एट्लान्टिक सिटीस्थित बोर्गाटा क्यासिनोमा ९० लाख ६० हजार डलर जितेका थिए, तर क्यासिनोले विशेष तरिका अपनाएर गेम जितेको आरोप लगाउँदै उक्त रकम दिन अस्वीकार गर्यो । यसको फैसला अझै भएको छैन । उक्त फैसलापछि यो इतिहासकै सर्वाधिक नगद राशिको जित हो वा ईभीले ठगी गरेकै हुन् भन्ने कुरा प्रमाणित हुनेछ ।
जो फ्रान्सिस
जो फ्रान्सिसले विन होटलको क्यासिनोमा एकैपटक २० लाख डलर हारे । रोचक कुरा के छ भने उनले उक्त रकम तिर्न अस्वीकार गरे । उक्त पैसा असुल्न क्यासिनोले फ्रान्सिसविरुद्ध मुद्दा दायर गर्यो । क्यासिनोले पछि उनलाई केही रकम छुट दिने कुरा पनि बतायो, तर कति छुट दिइयो भन्ने कुरा खुलाइएन ।
रोबर्ट म्याक्सवेल
मिडिया टाइकुन रोबर्ट म्याक्सवेलले बेलायतको एम्बासडर क्यासिनोमा एक मिनेटमै २० लाख डलर हारे । उनले मल्टिपल राउलेट ह्विल खेलेका थिए र कुनै पनि ब्रेक क्याच गर्न सकेनन् । यही कारणले उनको ठुलो र प्रतिष्ठित प्रकाशन कम्पनी नै धराशायी भयो ।
टेरी वातानावे
टेरी वातानावेलाई क्यासिनोको इतिहासमा सर्वाधिक पैसा हार्ने ब्यक्ति मानिन्छ । उनले सन् २००७ मा एकैपटकमा १२ करोड डलर हारेका थिए । उनले त्यो बर्ष मात्र सबै गरी २० करोड डलर हारे । लस भेगासको क्यासिनोमा जुवा खेल्ने वातानावेले क्यासिनोले आफूलाई फसाउन विभिन्न औषधी तथा पेय पदार्थ दिने गरेको आरोप लगाएका थिए ।
ओमार सिद्धिकी
ओमार सिद्धिकी एउटा प्रसिद्ध इलेक्ट्रोनिक्स कम्पनीका कर्मचारी थिए । सुरु–सुरुमा क्यासिनोमा खेल्दा उनले जितेका पनि थिए, तर पछि उनले क्रमश: साढे ६ करोड डलर हारे । उनी ब्ल्याकज्याकको पर ह्यान्डमा २ लाख डलरसम्म बाजी राख्थे । पछि उनले विभिन्न तरिकाले कालो धन जम्मा गरेको पत्ता लाग्यो र उनलाई ४० वर्षको जेल सजाय भयो ।
आर्ची कारास
आर्ची कारास पहिलो पटक लस भेगास आउँदा ६० डलर मात्र लिएर आएका थिए । ग्रीसमा जन्मिएका आर्ची पछिल्लो समय अमेरिकी भएका थिए । उनले डाइस, ब्याकारेट, पुल तथा पोकर आदि खेलेर ३ करोड डलर जिते, तर पछिल्लो समयमा उनले प्रत्येक खेल हार्दै गए ।
केरी प्याकर
अस्ट्रेलियाका मिडिया टाइकुन केरी प्याकरको खेल पनि निकै चर्चित छ । उनले तीन हप्ताको अवधिमा डेढ करोड स्टर्लिङ पाउन्ड सिध्याएका थिए । त्यसभन्दा पहिले उनले धेरै पैसा जितेका पनि थिए । मानिसहरू उनीसँग खेल्न डराउँथे, किनभने उनको भाग्य दर्हो छ भनिन्थ्यो, तर पछि उनी कंगालजस्तै भए ।
अकियो कासिवागी
जापानका प्रोपर्टी डेभलपर अकियो कासिवागी सामान्य जीवन बिताइरहेका थिए । उनी राति–राति क्यासिनो पुगेर ब्याकारेट खेल्थे, तर एक दिन ट्रम्प क्यासिनोमा उनले डेढ करोड डलर हारे । सिंगल सेसनमा यति ठूलो रकम हारिएको यो पहिलो घटना थियो । त्यसैले कासिवागीलाई ठूलो ग्याम्बलरका रूपमा लिइन्छ ।
फ्र्यांक साराकाकिस
ग्रीसमा जन्मिएका कार उद्योगी फ्र्यांक साराकाकिस लन्डनको क्रकफोर्ड्स तथा रिट्ज क्यासिनोका ग्राहक थिए । उनी आफूलाई भाग्यमानी खेलाडी सम्झिन्थे । उनी रूलेट निकै रमाइलो गर्दै खेल्थे । एकपटक छोटो समयमै उनले १ करोड स्टर्लिङ पाउन्ड हारे । त्यही पैसा फिर्ता आउने आशामा उनी लगातार खेल्दै गए र ठूलो रकम गुमाउन पुगे ।
जिम्मी ह्वाइट
स्नूकर र पुलका सौखिन जिम्मी ह्वाइटले पहिले पोकर र अन्य खेलका कारण प्रशस्तै पैसा कमाए, तर युरोपमा खेल्ने क्रममा उनले ६० लाख पाउन्ड हारे । जिम्मी क्यासिनोमा ब्ल्याकज्याक खेल्न रमाउँथे ।
फवाद–अल–जायद
जायद रूलेट खेल्न रुचाउँथे । उनले सुरुमा ५ लाख पाउन्ड हारेका थिए । त्यसपछि लगातार हार्दै गए । पछि बेलायती अदालतले उनको सम्पत्ति नै रोक्का गरीदियो । जायद लन्डनका ठूलो जुवाडेका रूपमा परिचित छन् ।