साप्ताहिक संवाददाता
भनिन्छ, जसले लक्ष्मीलाई सम्मान गर्छन् लक्ष्मी उसैसँग प्रसन्न हुन्छिन् । लक्ष्मीको कृपाकै कारण विश्वका कतिपय मानिस अर्बौँको मालिक भएका छन् । लक्ष्मी सधैं दाहिना हुने विश्वका १० अर्बपती तथा उनीहरूको सम्पत्ति :
जेफ बेजोस
गत वर्ष लक्ष्मीले सबैभन्दा पत्याएकी व्यक्ति हुन् वेब कम्पनी एमजोनका संस्थापक– जेफ बेजोस । अमेरीकी नागरिक बेजोस फोब्र्स म्याग्जिनले प्रत्येक वर्ष निकाल्ने धनीहरूको सूचीको एक नम्बरमा छन् । उनीसँग १ सय ३० दशमलव ५ अर्ब डलर बराबर सम्पत्ति छ । बेजोस गत वर्ष आफ्नो सम्पत्तिमा ४० अर्व डलर थप गर्दै पहिलो नम्बरमा आएका हुन् । उनको एमजोन कम्पनीले चलचित्र बेच्नुका साथै केही चलचित्र आफैं पनि बनाउन थालेको छ । बेजोस एक सय बिलियन सम्पत्ति कटाउने पहिलो व्यक्ति पनि हुन् । ५३ वर्षीय यी अमेरिकी व्यापारी न्यु मेक्सिकोमा जन्मिएका हुन् ।
बिल गेट्स
माता लक्ष्मीले सधैंभरि पत्याइरहेका विश्वका अर्का धनाढ्य व्यक्ति हुन् अमेरिकी नागरिक– बिल गेट्स । ६२ वर्षीय गेट्सको सम्पत्ति ९२ दशमलव २ अर्ब डलर छ । कम्प्युटर सफ्टवेयर कम्पनी माइक्रोसफ्टका संस्थापक गेट्स लामो समयदेखि फोब्र्सको धनीहरूको सूचीमा अघिल्लो स्थानमा रहँदै आएका छन् । गत वर्ष एक नम्बरमा रहेका यी व्यापारीलाई जेफ बोसेजले उछिनेका हुन् । सफ्टवेयर कम्पनी माइक्रोसफ्ट बिल गेट्स तथा उनका साथी पल एलेनले सुरु गरेका थिए । उक्त सफ्टवेयर सुरु गर्दा उनीहरूले प्रत्येक घरमा एक कम्प्युटर हुने अवधारणा अघि सारेका थिए । उनीहरूको त्यो सोच अहिले पूरा भएको छ ।
बारेन बफेट
विभिन्न कम्पनीका सेयरमा लगानी गर्ने ८७ वर्षीय वारेन बफेट अर्बौं सम्पत्ति भएका ठूला व्यापारी हुन् । ९१ दशमलव ३ अर्ब डलर सम्पत्तिका धनी बफेटलाई कम्पनीको भविष्य हेरेर लगानी गर्ने व्यक्तिका रूपमा चिनिन्छ । उनी जति कमाउँछन् त्यसको निश्चित हिस्सा विभिन्न फाउन्डेसनमार्फत अरूलाई सहयोग पनि गर्छ ।
बर्नार्ड अर्नाल्ट
बर्नार्ड अर्नाल्ट विश्वविख्यात फेसन ब्रान्ड लुइस भिटोन, शैम्पेन तथा सिग्नेक उत्पादक कम्पनी मोनेट हेनसी मिलेर बनेको लुइस भिटोन मोनेट हेनसी (एलभिएमएच)का कार्यकारी अधिकृत हुन् । विश्वका चौथा धनी अर्नाल्टीसँग ७५ दशमलव ७ अर्ब डलर बराबर सम्पत्ति छ । अघिल्लो वर्ष १४ औं स्थानमा रहेका अर्नाल्ट यो वर्ष चौथो नम्बरमा छन् ।
मार्क जुकरबर्ग
विश्वविख्यात सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरवर्गको कमाइ थप आकर्षक हुँदै गएको छ । उनी संसारका पाँचौं धनी व्यक्ति हुन् । यही वर्ष ३० अर्ब डलर नाफा कमाएर उनी यो सूचीमा आएका हुन् । मार्कसँग हाल ७४ दशमलव ६ अर्ब डलर बराबर सम्पत्ति छ ।
कार्लोस स्लिम हेलु
मेक्सीकोका व्यापारी कार्लोस स्लिम हेलुसँग ७० दशमलव ५ अर्ब डलर सम्पत्ति छ । ग्रुप कार्सोका मालिक कार्लाेसले विभिन्न कम्पनी, स्वास्थ्य सेवा प्रदायक संस्था, सञ्चारमाध्यम, हाइड्रो इनर्जी तथा रियल स्टेटमा लगानी गरेका छन् ।
अमानसिओ अर्टेगा
स्पेनीस इन्टरप्रेनर तथा इन्डिटेक्स फेसनका संस्थापक अमान्सिओको जारा कम्पनी विश्वमै प्रसिद्ध कपडा उत्पादन तथा सप्लाई गर्ने चेन कम्पनी हो । ७० दशमलव ५ अर्ब डलर सम्पत्तिका मालिक अर्टेगा विश्वका सातौं धनी व्यक्ति हुन् ।