साप्ताहिक संवाददाता
अमेरिकामा सञ्चालन हुने मेगा मिलियन ज्याकपट जित्ने सपना धेरैको हुन्छ । चिठ्ठा भएका कारण यो अवसर प्राप्त गर्ने सौभाग्य धेरै थोरैले मात्र पाउँछन्, तर जसले पाउँछन् उनीहरू रातारात अर्बपति हुन्छन् । मेगा मिलियनको पछिल्लो ज्याकपट कात्तिक ३ गते खोलिएको थियो, जसको पुरस्कार राशि अहिलेसम्मकै सर्वाधिक छ । १ खर्ब ८७ अर्ब २० करोड रुपैयाँ नगदको यो पुरस्कार विजेताले ३० वर्षको किस्ताबन्दीमा उक्त रकमको भुक्तानी पाउनेछन् भने एकै पटक चाहे १ खर्ब ५ अर्ब ८७ करोड ३३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यो पुरस्कार एउटै व्यक्तिले पाए कर कट्टा गरेर २५ अर्ब ४१ करोड २४ लाख रुपैयाँ हात पार्छन् । २ डलर अर्थात् २ सय ३४ रुपैयाँको टिकट किनेर यसरी रातारात धनी हुनेहरू अरू पनि छन् ।
१ खर्बको पावरबल
सन् २०१६ को जनवरी १३ तारिखमा पावरबल अन्तर्गत १ खर्ब ८५ अर्ब ५६ करोड २० लाख रुपैयाँको चिठ्ठा खोलिएको थियो । यो नगद पुरस्कार ३ जनाले जितेका थिए । उनीहरूलाई कर कट्टा गरेर दामासाहीले पुरस्कार दिँदा एक जनाको भागमा ३८ अर्ब ३५ करोड २६ लाख रुपैयाँ परेको थियो ।
८८ अर्बको पावरबल
पावरबल ज्याकपटअन्तर्गत सन् २०१७ को अगस्ट महिनामा खोलिएको चिठ्ठाको कुल धनराशि ८८ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ थियो । उक्त चिठ्ठाले माभिस वाज्कीलाई रातारात अर्बपती बनायो । चिठ्ठा परेपछि उनले विगत ३२ वर्ष देखि काम गर्दै आएको मेडिकल सेन्टरको जागिरवाट राजीनामा दिईन् । राज्यको कर कट्टा गरेर उनको हातमा ५६ अर्ब २१ करोड ८५ लाख रुपैयाँ परेको थियो ।
७६ अर्बको मेगा मिलियन्स
सन् २०१२ को मार्च महिनामा मेगा मिलियन्सको अर्बौ रुपैयाँको चिठ्ठा खोल्दा तिन जना टिकटधारी विजेता घोषित भए । यो पुरस्कारमा मार्ली एन्ड प्याट्रिसिया बुट्लरले मात्र दावी गरे । यो पुरस्कार जितेका मेरिल्यान्डका खरिदकर्ता अज्ञातसरह नै भए । एक स्कुलका तिन जना कर्मचारी मिलेर किनेको यो टिकटमा उनीहरूले द थ्रि एमिगोज नाम लेखाएका थिए भने अर्का विजेता कन्सास राज्यका थिए । उनी पनि पुरस्कारको दावा गर्न आएका छैनन् । भागबन्डाका क्रममा मार्लि एन्ड प्याट्रिसियाले कर कट्टा गरेर २५ अर्ब ५७ करोड ६२ लाख रुपैयाँ हात पारेका थिए ।
७५ अर्बको मेगा मिलियन्स
सन् २०१३ को डिसेम्बरमा मेगा मिलियन्सको ७५ अर्ब ८१ करोड ६० लाख रुपैयाँको चिठ्ठा खोलिएको थियो । यो पुरस्कार जर्जियाका इयान करी तथा क्यालिफोर्नियाका स्टिभ ट्रान्सलाई परेको थियो । एक गिफ्ट सफ्टमा काम गर्ने ट्रान्स चिठ्ठाको टिकटसमेत बिक्री गर्थे भने भाग्य अजमाउन आफैं पनि चिट्ठा खरिद गर्थे । चिठ्ठा परेको थाहा पाएपछि उनले आफूले काम गरिरहेको गिफ्ट सपको जागिर त्यागे । चिठ्ठा परेको टिकट बिक्री गरेबापत उनले ११ करोड ७० लाख रुपैयाँ प्राप्त गरे । अर्की विजेता करीले परिवारको वर्थडे मनाउने क्रममा अन्तिम समयमा उक्त टिकट खरिद गरेकी थिइन् । भाग्य अजमाउन ७ नम्बरलाई समेत समावेश गरेकी करी तथा ट्रान्सले जनही २० अर्ब २४ करोड १० लाख रुपैयाँ प्राप्त गरेका थिए ।
६९ अर्बको पावरबल
सन् २०१३ को मे महिनाको पावरबल चिठ्ठा खुल्दा ग्लोरिया म्याकेन्जि रातारात अर्बपति भइन् । त्यतिबेला पावरबलको सर्वाधिक ठूलो धनराशिको पुरस्कार मानिएको यो चिठ्ठाको कुल पुरस्कार राशि ६९ अर्ब ८ करोड ८५ लाख रुपैयाँ थियो । ग्लोरियाले यो चिठ्ठामा पाएको रकम एकैपटक लिने निर्णय गरिन्, जसमा कर कट्टा गर्दा उनको हातमा ४३ अर्ब २९ करोड रुपैयाँ परेको थियो ।