साप्ताहिक संवाददाता
कार्तिकको चिसिंदो साँझलाई फेसनमय बनाउने क्रममा नक्सालस्थित वन्जला मस्काभा रेष्टुराँको बगैंचामा फेसन डिजाइनर आर्शिया बानुका बेहुली बेहुला मनमोहक पहिरनमा सजिएर आकर्षक रुपमा देखा परे । आर्शिया काउचर शीर्षकमा आफ्नो ब्राइडल वेयर कलेक्सन सार्वजनिक गरेकी डिजाइनर आर्शियाले तीन सिक्वेन्स मार्फत् आफ्ना सिर्जनाहरु प्रस्तुत गरिन् ।
ब्राइडल, गाउन र लेहेंगा सिक्वेन्समा मूलत: नेट, रअ सिल्क, भेल्भेट तथा ढाका प्रयोग देख्न पाइयो भने ती पहिरनमा जरदोजी, थ्रेड, मिरर, बिड्स तथा सिक्वेन्स वर्कको आकर्षण रह्यो ।
विभिन्न डिजाइनको लेहेंगा र गाउनको बाहुल्यता रहेको सो फेसन शोमा पुरुष मोडलले दौरा सुरुवाल र शेरवानी प्रदर्शन गरेका थिए । दुई पुरुष तथा दश महिला मोडलहरुको प्रस्तुतिमा सम्पन्न सो फेसन शोमा मिस नेपाल इन्टरनेसनल २०१७ नीति शाह तथा म्यानहन्ट इन्टरनेसनल नेपाल २०१२ सनिश शाक्य शो स्टपरका रुपमा थिए । कार्यक्रम अनुप सक्सेनाको कोरियोग्राफी तथा ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जि.र्इं.इ.को व्यवस्थापनमा सम्पन्न भएको थियो ।