साप्ताहिक संवाददाता
कोरियाको इन्चियन शहरमा सम्पन्न पाँचौं लक्जरी ब्राण्ड मोडल अवार्ड, ग्लोबल फेसन वीक २०१८ मा नेपालको तर्फबाट सहभागीता जनाएका नेपाली मोडलहरु विक्रम आदित्य महासेठ, अदीती अधिकारी, रुबिष्का श्रेष्ठ र आदर्श ज्ञवालीलाई सफलता प्राप्त भएको छ । उक्त कार्यक्रममा नेपालका लागि अन्तराष्ट्रिय अवार्ड प्राप्त गर्ने क्रममा विक्रम र रुविष्काले ‘ब्राण्ड अनररी एम्बेसडर अफ एलबिएमए’ अवार्ड जितेका हुन् भने अदीतिले ‘फेसनिष्टा एण्ड ब्राण्ड अनररी एम्बेसडर फर जे जुन कस्मेटिक प्रोडक्ट’ तथा आदर्शले ‘बेष्ट पर्सनालिटी’ अवार्ड हात पार्न सफल भएका थिए ।
कोरियोको इन्चियनस्थित सोङडो अन्तर्राष्ट्रिय व्यापारिक जिल्लाको ग्राण्ड हायातमा गत अक्टोबर ३० तारिखमा सो कार्यक्रमको फाइनल प्रतिस्पर्धा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा सहभागि हुन पुगेका नेपाली मोडलहरु मध्ये विक्रम आदित्य नेक्स्ट मोडल्स नेपालको आयोजनामा सम्पन्न मोडल हन्ट नेपाल २०१७ का विजेता हुन् भने अदिति अधिकारी मोडल हन्ट नेपाल २०१८ का महिलातर्फका विजेता हुन् । यसैगरी रुबिष्का श्रेष्ठ सोही प्रतियोगिताका फस्ट रनर अप र आदर्श ज्ञवाली थर्ड रनर अप विजेता हुन् ।
विक्रम २०१८ एशिया मोडल फेस्टिबल फेस अफ नेपाल विजेता पनि हुन् । सो कार्यक्रमका लागि सहभागिहरुको प्रशिक्षण कोरियोग्राफर रोजिन शाक्यले गरेका हुन् ।