साप्ताहिक संवाददाता
नेपाली कला संस्कृति र परम्परा अब नेपालमा मात्र सिमित रहेन । पर्यटन भित्राउन समेत महत्वपूर्ण भूमिका रहेको नेपाली संस्कृति नेपालीहरु प्रवासिने क्रम बढेसँगै विश्वका विभिन्न कुनामा नेपाल र नेपाली परम्परा सम्वन्धि विविध कार्यक्रम गरिन थालिएको छ ।
यसै साता पनि बेलायतमा नेवारी समुदायको महान पर्व म्ह: पूजा एवं नेपाल सम्वत् ११३९ वृहत सांस्कृतिक कार्यक्रमका साथ मनाइएको छ ।
बेलायत स्थित ‘पासा पुच गुठी साउथ ईष्ट लण्डन’को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेवारी परम्परा अनुरुप लाईनबद्ध भएर टपरीमा नेवारी परिकार र ऐलाको स्वाद लिएको दृश्य निकै रमणीय र नेपाल कै झल्को दिने देखिन्थ्यो ।
म्ह: पूजा गर्न करिब दुई सय जनाको सहभागीता रहेको थियो । नेवार समुदाय मात्र नभएर अन्य समुदाय पनि म्ह: पूजामा सहभागी भएका थिए । नेवारी भाषामा म्ह: भनेको शरीर हो । आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीर भित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष रहेको छ ।
प्रवासमा रहेर पनि नेवारी परम्परा, कला र संस्कृतिको संरक्षण र प्रवर्धनका लागि मात्र नभएर नयाँ पुस्तामा हस्तान्तरण गर्नुका साथै अन्य समुदायमा पनि प्रवर्धनका लागि यस्ता किसिमका कार्यक्रम गर्नु संस्थाको मुल उदेश्य रहेको अध्यक्ष सुशिल प्रजापतिले जानकारी दिए ।
कुमारी यात्रा र झांकीबाट शुरु गरिएको सांस्कृतिक कार्यक्रममा नेवारी समुदायमा लोकप्रिय मानिने धिमे बाजा, लाखे नाच, मंजुश्री नृत्य, हुलाँ प्याखा साथै विविध साास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।