साप्ताहिक संवाददाता
नयाँ बानेश्वर, थापागाउँस्थित कुञ्ज थिएटरमा लिलामे माइलो नाटक मञ्चन हुने भएको छ । प्रभाकर न्यौपानेको कथा तथा निर्देशनको उक्त नाटक मंसिर १४ गतेदेखि पुस ७ गतेसम्म मञ्चन हुने बताइएको छ । मोरङको लेटाङ आसपासका मानिसहरूमा लक्षित गरेर तयार पारिएको उक्त नाटकलाई राज थापा काउचाले नाट्य रूपान्तरण गरेका हुन् ।
नाटकमा माइलो सन्तानलाई समुदायले हेर्ने दृष्टिकोण एवं माइलो भएर जन्मिएपछि पाउने सुख–दु:ख समेटिएको नाटकका निर्माता राजाराम गौतम बताउँछन् । उक्त नाटक मंसिर १२ गते सुकुम्बासी बालबालिका तथा १३ गते वृद्धाश्रमका बाआमालाई नि:शुल्क देखाइनेछ । उक्त नाटक माइला र माइली सन्तानले नि:शुल्क हेर्न पाउने व्यवस्था मिलाइएको निर्माता गौतमले बताए, तर त्यसका लागि भने माइलो आउँदा जेठो र कान्छोलाई समेत ल्याउनुपर्नेछ ।
यो नाटकमा विजय नेपाल, विरेन्द्र खातिन, निशा पाख्रिन तामाङ, पुष्प अवस्थी, सलमान गुरुङ, अल्बिना न्यौपाने, राजन भुजेल आदि कलाकारले अभिनय गर्नेछन् ।