साप्ताहिक संवाददाता
नेपालीमूलका बलिउड अभिनेता डेनी डेङ्जोङ्पाले थुप्रै नेपाली गीत गाएका छन् भने केही नेपाली चलचित्रमा अभिनयसमेत गरेका छन् । बलिउडमा त उनलाई ‘खरतनाक खलनायक’ को उपाधि नै प्राप्त छ । तिनै डेनी अहिले आएर आफ्ना छोरा रिन्जिङ डेङ्जोङ्पाको बलिउड पदार्पणका कारण चर्चामा छन् । डेनीका ६ फिट अग्ला छोरा रिन्जिङले हिन्दी चलचित्र ‘स्क्वाड’ मार्फत बलिउडमा पदार्पण गर्न लागेको पुष्टि भैसकेको छ ।
ज्याकी श्राफका छोरा टाइगर श्राफका बाल्यकालदेखिकै साथी हुन् रिन्जिङ । टाइगरको पहिलो चलचित्र ‘हिरोपन्थी’ को छायांकनस्थलमा पुगेको दिनदेखि नै आफूमा पनि चलचित्रमा अभिनय गर्ने रहर जागेको रिन्जिङले बताएका छन् । लन्डनमा उच्च शिक्षा हासिल गरेका रिन्जिङले अभिनय गर्ने पहिलो चलचित्रको छायांकन आगामी वैशाखतिर प्रारम्भ हुनेछ ।
छोराले चलचित्रमा अभिनय गर्न लागेको कुरा पुष्टि गर्दै डेनीले भनेका छन्–‘रिन्जिङले चलचित्रमा अभिनय गर्न लागेको कुराले म हर्षित छु । यो मेरो परिवारका लागि गौरवको क्षण हो । यद्यपि रिन्जिङले अहिले धेरै मेहनत गर्न बाँकी नै छ ।’ स्क्वाड एक्सन–थ्रिलर चलचित्र हो । ‘चलचित्रको स्क्रिप्ट पढेपछि यो मेरो लन्चिङका लागि उत्कृष्ट चलचित्र हो भन्ने लागेको छ, रिन्जिङले भनेका छन्– ‘यो चलचित्रका लागि म अहिले कडा प्रशिक्षण लिइरहेको छु ।’