साप्ताहिक संवाददाता
परिवार नियोजनको अस्थायी साधनका रूपमा प्रयोग हुने कन्डमलाई यौन रोगबाट जोगिने भरपर्दो साधन पनि मानिन्छ । परिवार नियोजनको यो साधन नेपाल भित्रिँदा यसको नामसमेत भन्न अप्ठ्यारो मान्ने स्थिति थियो । गैरसरकारी संस्था परिवार नियोजन संघले २०१६ सालमा पहिलो पटक कन्डम नेपाल भित्र्याएको हो । संघलगायत अन्य संस्थाहरूको उक्त कार्यक्रम सफल भएसँगै नेपाल सरकार (तत्कालीन श्री ५ को सरकार) ले परिवार नियोजन तथा मातृशिशु कल्याण योजनाका रूपमा २०२३ सालमा औपचारिक रूपमा कन्डमको प्रयोगलाई जनस्तरमा लगेको हो ।
उतिबेला कन्डमको प्रवद्र्धनका लागि रेडियो नेपालबाट सूचना सम्प्रेषण गर्दा केटाकेटीले थाहा पाउँछन् भनेर सरकारले राति १० बजेपछि मात्र विज्ञापन बजाउन अनुमति दिएको लामो समय स्वास्थ्य मन्त्रालयअन्तर्गत काम गरी भर्खरै सेवानिवृत भएका डा. बाबुराम मरासिनि बताउँछन् । त्यतिबेला लुकी–लुकी प्रचार गर्नुपर्ने कन्डम अहिले नेपाली बजारमा बर्सेनि ५ करोड थान खपत हुन थालेको छ । यद्यपि यो पनि हुनुपर्ने जति पर्याप्त नभएको स्वास्थ्य अधिकारीहरूको भनाइ छ । अझै पनि खुल्ला रूपमा कन्डम उपलब्ध नहुनु, यौन शिक्षाका विषयमा खुलेर बहस नहुनु मुख्य समस्याका रूपमा रहेको डा. मरासिनीको अनुभव छ ।
विश्व बजारमा महिला र पुरुषले प्रयोग गर्ने दुई फरक खालका कन्डम उपलब्ध छन् । नेपाली बजारमा करिब १० वर्ष पहिलेदेखि महिला कन्डमले प्रवेश पाए पनि अझै यसले व्यापकता प्राप्त गर्न सकेको छैन । नेपाली समाजमा महिलाहरूले खुलेर किन्न वा लिन सक्ने अवस्था नआइसकेकाले यसको प्रयोग पुरुष कन्डमको जति हुन नसकेको परिवार स्वास्थ्य महाशाखाका पूर्व निर्देशक डा. नरेशप्रताप केशी बताउँछन् । खुल्ला बिक्री–वितरणमा देखा परेको साथै पुरुष कन्डमभन्दा महँगो पर्ने हुँदा यसको प्रयोग अपेक्षा गरिएजति नभएको जानकारहरू बताउँछन् ।