बलिउड अभिनेता सलमान खान फेरि लफडामा परेका छन् । पटक–पटक अदालत र जेलको चक्कर काटिरहेका यी चर्चित अभिनेताले प्रहरीमा दिएको दुईवटा झूटो बयानको विषयमा जोधपुर अदालतमा मुद्दा परेको छ, जसमा यही २९ नोभेम्बरमा बहस हुँदैछ ।
केही समयअघि सलमानसँग भएको व्यक्तिगत हतियारको विषयमा जवाफ दिन अदालतले बोलाएका बेला सलमानले आफ्नो स्वास्थ्य अवस्था ठीक नभएको र कानमा समस्या भएको बताएका थिए । त्यही समयमा सलमान कस्मिरमा चलचित्र वजरंगी भाइजानको छायांकनमा व्यस्त थिए । यो विषयलाई लिएर वन अधिकारी ललित बोडाले सलमानका विरुद्धमा अदालतमा मुद्दा दायर गरेका थिए ।
सलमानले ८ अगस्ट २००३ मा मुम्बईस्थित वाद्रा पुलिस स्टेसनलाई आफ्नो हतियार हराएको जानकारी दिएका थिए, तर सलमानले जब त्यसको केही समयपछि आफूसँग रहेको हतियारको लाइसेन्स नवीकरणका लागि आवेदन दिए । उनले यसमा पनि झूटो बोलेको पत्ता लाग्यो । यो मुद्दा अहिले विचाराधीन छ । यदि सलमान यो मुद्दामा दोषी सावित भए भने ७ वर्ष जेल पर्नसक्छन् ।