लगानीका हिसाबले एउटा नेपाली चलचित्रलाई १ करोड रुपैयाँ सामान्य हुन थालेको छ । अभिनेता–अभिनेत्रीहरूले नै १० लाख रुपैयाँभन्दा कम पारिश्रमिकमा अभिनय गर्न आनाकानी गर्न थालेपछि यो क्षेत्रमा करियर बनाउन चाहने नयाँ अनुहारको आकर्षण बढ्दो छ । यसका साथै सुविधासम्पन्न सिनेमा हल, डिजिटल प्रविधिमा आधारित गुणस्तरीय चलचित्र, स्वदेशदेखि विदेशसम्मको बजार तथा अनलाइन राइट्सले गर्दा नेपाली चलचित्रको बजार विस्तार हुँदै गएको छ । चलचित्रको बजार विस्तारसँगै यसमा राम्रो पारिवारिक तथा शैक्षिक पृष्ठभूमि एवं आकर्षक व्यक्तित्व भएका नयाँ अनुहारको प्रवेश ह्वात्तै बढेको छ । वर्ष २०७५ सालको बाँकी ६ महिनाभित्र प्रदर्शन हुने थुप्रै चलचित्रमार्फत दर्जनौं नयाँ अभिनेता–अभिनेत्री दर्शकमाझ पुग्दैछन् । तीमध्ये सम्भावना बोकेका नौ नयाँ नायिकाको कथा :
कामना भुजेल, छिरिङ
असोज १२ गते प्रदर्शनमा आएको चलचित्र ‘छिरिङ’ मार्फत रजतपटमा उदाउने अभिनेत्री हुन्— कामना भुजेल । मुस्ताङमा छायांकन गरिएको यो चलचित्र बहुपति प्रथाको कथा प्रस्तुत गरिएको छ । चलचित्रमा कामनाले गायक निमा रुम्बा तथा यश कुमारका साथ जोडी बाँधेकी छिन् । छिरिङमा दुई अभिनेताले एउटी अभिनेत्रीलाई आफ्नो दाबी गर्ने रोचक कथा समावेश छ । त्यसकारण पनि यसमा कामनाको भूमिका महत्वपूर्ण थियो । चलचित्रमा कामनाले निमा र यशकी श्रीमतीको भूमिका निर्वाह गरेकी छिन् । कामना स्थापित मोडल हुन्, अर्थात् कामना पनि मोडलिङबाटै चलचित्रमा आउने नयाँ अनुहार हुन् । गायक तथा अभिनेता यश कुमार नै यो चलचित्रका निर्देशक हुन् । कामना धरानकी स्थायी बासिन्दा हुन् । पहिलो चलचित्रमै निमा रुम्बा तथा यश कुमार जस्ता लोकप्रिय अनुहारसँग अभिनय गर्न पाउँदा आफू उत्साहित भएको कामना बताउँछिन् ।
चलचित्रमा दुई भिन्न समुदायका दुई श्रीमान्का श्रीमतीको भूमिकाका लागि हामी मंगोलियन र आर्यन दुवैको मिश्रण भएको अनुहारको खोजी गरिरहेका थियौं । खोजीकै क्रममा मोडल कामना भुजेलसँग भेट भयो । उनमा पनि अभिनय गर्ने चाहना रहेछ । हामीले खोजेको पात्र उनको अनुहारमा देखेपछि अभिनयको प्रस्ताव राख्यौं, उनले सहर्ष स्वीकार गरिन् । चलचित्रमा अनुबन्ध गरेपछि हामीले उनलाई अभिनय प्रशिक्षण दियौं । छोटो समयको कार्यशालापछि नै उनी कामका लागि तयार भइन् । कामना चलचित्रमा खारिएकी परिपक्व कलाकार लाग्छिन् ।
यश कुमार, निर्देशक
उपासना सिंह ठकुरी, क्याप्टेन
भुवन केसीको नयाँ चलचित्र ‘क्याप्टेन’ छायांकनको पहिलो दिनदेखि नै चर्चामा छ । अनमोल केसीको आगामी चलचित्र भएकाले पनि दर्शकले यो चलचित्रको प्रतीक्षा गरिरहेका छन् । आगामी तिहारमा सार्वजनिक हुने उक्त चलचित्रमार्फत उपसना सिंह ठकुरीका रूपमा एउटी नयाँ अनुहार चलचित्र उद्योगमा प्रवेश गर्दैछिन् । अनमोलसँग अनस्क्रिन रोमान्स गरेकी उपासना आफ्नो भूमिका तथा समग्र चलचित्रप्रति नै उत्साहित छिन् । अनमोलको जोडीका रूपमा पदार्पण गर्न पाउनुलाई उपासनाले निकै सुखद मानेकी छिन् । उपसनाले चलचित्रमा छनौट भएपछिको लामो समय कार्यशालामा बिताइन्, जहाँ उनलाई चलचित्रका निर्देशक दिवाकर भट्टराईले अभिनयका तौर–तरिका सिकाए । बूढानीलकण्ठ, काठमाडौंकी स्थायी बासिन्दा उपासना स्नातक पहिलो वर्षमा अध्ययनरत छिन् । उपासनाले इन्स्टाग्राममा अपलोड गरेका सुन्दर तस्बिरहरूले नै उनलाई चलचित्र क्याप्टेनको नायिका बनाएको हो । अनमोलको जोडीका रूपमा प्रस्तुत भएकाले आफू छोटो समयमै चलचित्र क्षेत्रमा स्थापित हुने कुरामा उनी ढुक्क छिन् । चलचित्रमा आफ्नो क्षमताले भ्याएसम्म मेहनत गरेको उपसनाको भनाइ छ ।
जब क्याप्टेनको स्क्रिप्टिङ हुँदै थियो, तब एउटी इनोसेन्ट, क्युट अनुहार भएकी नयाँ युवतीको खोजी थालियो । त्यसक्रममा हामीले धेरै नयाँ अनुहारलाई भेट्यौं, अडिसन लियौं । त्यही सिलसिलामा हामीले एक दिन उपासनालाई फेला पार्यौं । हाम्रो चलचित्रको चरित्रमा उपासना नै पर्फेक्ट लागिन् र उनलाई लिने निर्णय गर्यौं । हाम्रो अपेक्षाअनुरूप नै उपासनाले क्याप्टेनमा उत्कृष्ट काम गरेकी छिन् । उनी आफ्नो चरित्रप्रति न्याय गर्न सफल छिन् । चलचित्र प्रदर्शन भएपछि आमदर्शकसहित समिक्षकले समेत हाम्रो छनौट सही छ भन्ने प्रतिक्रिया दिनुहुनेछ । चलचित्र हेर्ने दर्शकहरू उपासनाको प्रशंसक हुने कुरामा म ढुक्क छु ।
दिवाकर भट्टराई, निर्देशक
आस्मा गिरी, ड्रिम गर्ल
युट्युबको वेब सिरिज रङ टाइममा अभिनय गरेर चर्चामा आएकी मोडल आस्मा गिरीले केही म्युजिक भिडियो तथा विज्ञापनमा समेत अभिनय गरिसकेकी छिन् । मोडलिङमा सक्रिय रहेकै बेला आस्मालाई दर्शकले यही वर्षदेखि अभिनेत्रीका रूपमा समेत चिन्न थालेका हुन् । मंसिर ७ गते प्रदर्शनमा आउने चलचित्र ‘ड्रिम गर्ल’ मा उनी शीर्ष भूमिकामा प्रस्तुत भएकी छिन् । निर्देशक ऋषिराज आचार्यले आफ्नो महत्वाकांक्षी चलचित्रका लागि दर्जनौं नयाँ अनुहारबाट आस्मालाई छनौट गरेका हुन् । भारतमा अध्ययन पूरा गरेर स्वदेश फर्किएपछि आस्मा मोडलिङमा सक्रिय थिइन् । फुर्सदमा घुमघाम गर्न रुचाउने आस्माले कोरियोग्राफर गम्भीर विष्टसँग नृत्यको प्रशिक्षण लिने क्रममा चलचित्र ‘ड्रिम गर्ल’ मा अभिनय गर्ने प्रस्ताव पाएकी हुन् । चलचित्रको स्क्रिप्ट मन परेपछि मात्र आफू उक्त चलचित्रमा अभिनय गर्न तयार भएको आस्मा बताउँछिन् । वेब सिरिज, म्युजिक भिडियो तथा टिभिसीका लागि क्यामेराअघि प्रस्तुत भैसकेकाले ‘ड्रिम गर्ल’ मा काम गर्न आस्मालाई खासै असहज भएन । कुर्ता–सलवार र टिसर्ट–पाइन्टमा सजिन रुचाउने आस्मा बजारमा चलेको फेसन खासै फलो गर्दिनन् । ‘ड्रिम गर्ल’ को प्रदर्शनपछि आउने प्रतिक्रियापछि मात्र आस्माले दोस्रो–तेस्रो चलचित्रका बारेमा सोच्ने बताएकी छिन् ।
ड्रिम गर्लका लागि हामी नयाँ अनुहारको खोजीमा थियौं, अडिसन चलिरहेको थियो । त्यही क्रममा आस्मा पनि अडिसनका लागि आइन् । धेरै जनाले अडिसन दिए पनि आस्मा मात्र छनौट भइन् । छनौट भएपछि हामीले उनलाई ४५ दिनको कार्यशालामा सहभागी गरायौं । कार्यशालामा आस्माले विभिन्न विधामा ज्ञान हासिल गरिन् । त्यसपछि मात्र हामी फ्लोरमा गएका हौं । छायांकनमा जानुअघि कुन सिन कसरी गर्ने भन्ने कुरा बुझ्न खोज्नु आस्माको विशेषता हो । आस्मा नेपाली चलचित्र उद्योगमा प्रतिभाशाली अभिनेत्रीका रूपमा उदाउने कुरामा दुईमत छैन ।
ऋषिराज आचार्य, निर्देशक
सुहाना थापा, ए मेरो हजुर – ३
अमेरिकाबाट व्यवस्थापनमा स्नातक गरिरहेकी सुहाना थापा चलचित्रमा अभिनय गर्न ६ महिनाको अध्ययन विदा लिएर नेपाल फर्किएकी छिन् । चलचित्र निर्माता सुनिल कुमार थापा तथा अभिनेत्री/निर्देशक झरना थापाकी छोरी हुन्— सुहाना । एक वर्षअघि अध्ययनका लागि अमेरिका गएकी सुहाना आफ्नै बुवाले निर्माण गर्ने तथा आमाले निर्देशन गर्ने चलचित्र ‘ए मेरो हजुर–३’ मा अभिनय गर्न नै स्वदेश फर्किएकी हुन् । केही साताअघि पोखरामा शुभमुहूर्त गरिएको यो चलचित्र यही असोज १५ गते फ्लोरमा जाँदैछ । उक्त चलचित्रमा सुहानाले अभिनेता अनमोल केसीसँग अनस्क्रिन रोमान्स गर्नेछिन् । चलचित्रमा अनमोलले गायकको भूमिका निर्वाह गर्दैछन् भने सुहानाले उनकी प्रशंसक हुँदै प्रेमिकासम्मको भूमिका निर्वाह गर्नेछिन् । सन् १९९६ को मे महिनामा जन्मिएकी सुहाना अहिले २२ वर्षकी भइन् । अभिनेत्रीका रूपमा झरना थापा लोकप्रियताको शिखर उक्लिरहेकै बेला सुहाना जन्मिएकी थिइन् । अभिनेत्री आमा तथा निर्माता बुबाकी छोरी भएकाले पनि सुहानाको रगतमै अभिनय बगिरहेको छ भन्दा फरक पर्दैन । झरना र सुनिलले छोरीलाई कलाकार बनाउने योजना धेरै पहिले नै तयार पारेका थिए । अहिले आएर उनीहरूको सपना साकार भएको छ । ए मेरो हजुरका दुई संस्करण दर्शकले अत्यन्त रुचाएका कारण तेस्रो श्रृंखला पनि दर्शकको प्रतिक्षाको सूचीमा छ । आफ्नै नामको ब्यानरबाट ठूलो पर्दाको चलचित्रमा पदार्पण गर्न लागेकी सुहाना आफ्नो पहिलो चलचित्रको प्रदर्शनपछि मात्र यो क्षेत्रलाई निरन्तरता दिने कि अध्ययन पूरा गर्न अमेरिकातर्फ लाग्ने भन्ने कुराको निर्णय गर्नेछिन् ।
चलचित्रको स्क्रिप्ट तयार भएपछि अभिनेताका रूपमा अनमोल केसीलाई अनुबन्ध गर्ने निश्चित भयो । अनमोलले अभिनय गर्ने पक्का भएपछि अभिनेत्री को राख्ने भन्ने कुराको चर्चा चल्यो । छोरी सुहानालाई हामी एउटा राम्रो चलचित्रबाट लञ्च गर्ने योजना बनाइरहेका थियौं । ए मेरो हजुर–३ को स्क्रिप्ट अनुसार पनि सुहानाले उक्त भूमिका निर्वाह गर्न सक्ने भएपछि उनैलाई प्रस्ताव राखियो । हाम्रो प्रस्ताव स्वीकार गर्न उनलाई केही सेकेन्ड पनि लागेन । उनी अभिनयका लागि तयार भएपछि अनमोलको जोडीका रूपमा सुहानालाई प्रस्तुत गर्ने निर्णय भएको हो । म सुहानाकी आमा भए पनि उनले अभिनय गर्ने पहिलो चलचित्रकी निर्देशक पनि हुँ । मलाई आशा छ, उनले मेरो मात्र होइन, दर्शकको समेत चित्त बुझ्ने गरी अभिनय गर्नेछिन् ।
झरना थापा, निर्देशक
डा.सूर्या थापा, शुभ लभ/तिमी र म
नेपाली चलचित्रकी नयाँ अनुहार सूर्या थापाका दुई भिन्न परिचय छन् । पेसाले उनी दन्त चिकित्सक हुन् । त्यसबाहेक उनी पार्ट टाइम मोडलसमेत हुन् । डा. थापाले केही फेसन शोमा क्याटवाक गर्नुका साथै केही टिभिसीका लागि समेत मोडलिङ गरिसकेकी छिन् । यतिबेला भने उनी एउटा नयाँ चलचित्रको छायांकनमा व्यस्त छिन् । युवा ज्योतिष हरिहर अधिकारी अभिनेताका रूपमा पदार्पण हुन लागेको चलचित्र ‘शुभ लभ’ सूर्याको पहिलो चलचित्र हुनेछ । यो चलचित्रको निर्देशन सन्तोषबाबु लोहनीले गरिरहेका छन् । यो चलचित्र निर्माणकै क्रममा रहेका बेला सूर्या अर्को एउटा चलचित्रमा पनि अनुबन्धित भैसकेकी छिन् । केही साताअघि घोषणा गरिएको चलचित्र ‘तिमी र म’ मा सूर्याले अभिनेता कबिर खड्कासँग अनस्क्रिन रोमान्स गर्ने निश्चित भएको हो । चलचित्र तिमी र मको छायांकन अस्ट्ेरलियामा गरिनेछ, जसलाई सरोज पोखरेल तथा अस्ट्ेरलियन निर्देशक मेट बिलियम्सले संयुक्त रूपमा निर्देशन गर्नेछन् । चिकित्सा पेसामा आबद्ध भए पनि सूर्याले राम्रो ब्यानरको चलचित्रका लागि समय निकाल्ने बताएकी छिन् ।
क्रिस्टिन पौडेल, शुभ लभ
क्रिस्टिन पौडेल अघिल्लो वर्ष सम्पन्न एउटा सौन्दर्य प्रतियोगिताकी विजेता हुन् । मिस टिन–२०१७ की विजेता क्रिस्टिन पनि डा. सूर्या थापासँगै चलचित्र ‘शुभ लभ’ मार्फत रजतपटमा पदार्पण गर्न लागेकी छिन् । चलचित्रमा उनले अभिनेता हरिहर अधिकारीकी प्रेमिकाको भूमिका निर्वाह गरिरहेकी छिन् । त्यसो त क्रिस्टिनलाई यसअघि पनि केही नेपाली चलचित्रबाट प्रस्ताव नआएको होइन । यद्यपि स्क्रिप्ट चित्त नबुझेका कारण उनले केही प्रोजेक्ट अस्वीकार गरिन् । शुभ लभको स्क्रिप्ट सुनेपछि भने उनलाई यो चलचित्र गुमाउनु हुँदैन भन्ने लाग्यो ।
ज्योतिष हरिहर अधिकारीको कथामा निर्माण हुने तथा उनैले अभिनय गर्ने चलचित्रका लागि दुई जना अभिनेत्री चाहिने भयो । त्यसका लागि हामीले अधिकारीसँग जोडी मिल्ने अनुहारको खोजी गर्न थाल्यौं । खोजिकै क्रममा सूर्या तथा क्रिस्टिनसँग भेट भयो । दुवैको अडिसन लिएपछि उनीहरू नै हाम्रो चलचित्रका लागि उपयुक्त हुनेछन् भन्ने लाग्यो । दुवै जना मोडलिङ पृष्ठभूमिबाट आएका कारण अभिनय गराउन खासै गाह्रो भएन । यो चलचित्रको प्रदर्शनपछि अभिनेताका रूपमा हरिहरसँगै अभिनेत्रीका रूपमा डा. सूर्या तथा क्रिस्टिन स्थापित हुने कुरामा म ढुक्क छु ।
सन्तोषबाबु लोहनी, निर्देशक
शिल्पा मास्के, कागजपत्र तथा द ब्रेकअप
सन् २०१४ मा निर्माण भएको छोटो चलचित्र ‘सुटिङ फर एलिफेन्ट’ मा अभिनय गरिसकेकी शिल्पा मास्के नृत्यमा अब्बल मानिन्छिन् । सन् २०१६ मा हलिउड चलचित्र ‘डक्टर स्ट्ेरन्ज’ मा अभिनय गरेकी शिल्पाले बेलायतको सिटी एकेडेमी अफ पर्फर्मिङ आटर््स, लन्डनबाट अध्ययन पुरा गरेकी हुन् । शिल्पाले केही टिभिसीमा समेत अभिनय गरिसकेकी छिन् । यो वर्षदेखि उनी नेपाली चलचित्रकी नायिकाका रूपमा समेत चिनिनेछिन् । शिला कागजपत्र तथा द ब्रेकअप शीर्षकका दुई चलचित्रमार्फत दर्शकमाझ आउँदैछिन् । कागजपत्रमा उनले नाजिर हुसैनसँग काम गरेकी छिन् भने द ब्रेकअपमा उनलाई आशिरमान देशराज जोशीको जोडीका रूपमा पाइनेछ । कागजपत्रलाई अपिल विष्टले निर्देशन गरेका हुन् भने द ब्रेकअपका निर्देशक हेमराज बिसी हुन् ।
इच्छा कार्की, द ब्रेकअप
मेकअप आर्टिस्टका रूपमा व्यस्त इच्छा कार्की केही वर्षअघि एउटा सौन्दर्य प्रतियोगितामा विजयी भएकी थिइन् । अग्लो कदकी इच्छाले द ब्रेकअपमा आशिरमान देशराज जोशीसँग अनस्क्रिन रोमान्स गरेकी छिन् । इच्छाले आफ्नो पहिलो चलचित्रको चरित्र तथा आफ्नो व्यक्तिगत जीवनमा प्रशस्त समानता भएको बताएकी छिन् । उनी आफ्नो चलचित्र यात्राको सम्पूर्ण श्रेय निर्देशक हेमराज बिसीलाई दिन्छिन् । बिसीमार्फत नै उनी नेपाली चलचित्रमा आएकी हुन् ।
चलचित्र द ब्रेकअपका लागि म बिल्कुलै नयाँ अनुहारको खोजिमा थिएँ । शिल्पा मास्के नेपाली चलचित्रका लागि नयाँ भए पनि अभिनयका लागि नयाँ थिइनन् । इच्छा कार्कीलाई म मेकअप आर्टिस्टका रूपमा चिन्थें । चलचित्रमा एक जना अभिनेतासँग दुई अभिनेत्रीलाई अभिनय गराउनुपर्ने थियो । शिल्पा र इच्छाका रूपमा मैले द ब्रेकअपका दुई नयाँ अभिनेत्री पाएँ । दुवैले यो चलचित्रमा उत्कृष्ट काम गरेका छन् ।
हेमराज बिसी, निर्देशक
उकुषा गिरी, ब्याचलर बन्टी
व्यस्त निर्देशक मिलन चाम्सले निर्देशन गर्ने नयाँ चलचित्र ‘ब्याचलर बन्टि’ मार्फत रजतपटमा पदार्पण गर्न लागेकी नयाँ अनुहार हुन्— उकुषा गिरी । उकुषाले आफ्नो पहिलो चलचित्रमा अभिनेता अनमोल केसीसँग अन स्क्रिन रोमान्स गर्दैछिन् । प्रेम कथामा आधारित यो चलचित्रको छायांकन दसैंपछि प्रारम्भ हुनेछ, जसमा अधिकांश दृश्य युरोपको हुनेछ । उकुषा मोडलिङमार्फत चलचित्रमा आउन लागेकी कलाकार हुन् । अघिल्लो वर्ष काठमाडौंमा सम्पन्न मिस एसिया नेपालमा विजेता भएपछि गिरीले मिस एसिया ग्लोबल–२०१७ मा नेपालको प्रतिनिधित्व गर्दै बेस्ट पर्सनालिटी तथा ब्युटिफूल आइजको शीर्षक उपाधि समेत जितेकी थिइन् । भीमसेनगोला, काठमाडौंकी उकुषा भरखर १९ वर्ष पुगिन् । छोटो समयमै र्याम्प तथा विज्ञापन मोडलिङ गरिसकेकी उकुषाले केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन् ।
चलचित्रमार्फत नयाँ प्रतिभा भित्र्याउने क्रममा उकुषा गिरी पनि त्यसकै निरन्तरता हुन् । उनको व्यक्तित्व तथा अभिनय गर्न सक्ने क्षमताकै कारण हामीले उनलाई ब्याचलर बन्टीमा अनुबन्ध गरेका हौं । उकुषाको मोडलिङ अनुभवले पनि चलचित्रलाई फाइदा पुग्ने मैले अनुमान गरेको छु ।
मिलन चाम्स, निर्देशक