साप्ताहिक संवाददाता
नयाँ गीत रेकर्ड गराएर त्यसको भिडियो सार्वजनिक गर्ने सोचमा छु ।
रामचन्द्र काफ्ले, गायक
म फेसबुकमा कसैले व्यक्त गर्ने गाउँले पाराका मौलिक बोली तथा थेगो टिपेर गीतमा प्रयोग गर्ने मानिस हुँ, तर दसैं–तिहारमा खाने, पिउने, खेल्ने काम बहिष्कारबाहेक अरू केही पनि पाइएन । अब फेरि मौलिक कुरामध्येबाट गीतलाई काम लाग्ने थेगो पाइएला अनि अर्को करोड क्लबे गीत लेखौंला भन्ने सोचिरहेको छु ।
राजेन्द्र थापा, गीतकार
दसैं–तिहारजस्ता चाडपर्व सकिएसँगै अब जाडो मौसम पनि सुरु भएको छ । यसका साथै विवाहको मौसम पनि सुरु हुनै लागेको छ । त्यसैले विवाहमा दुलहीका लागि नयाँ डिजाइन तथा जाडो मौसममा लगाइने बाक्ला अनि राम्रा पहिरनको कलेक्सन निकाल्ने सोचमा छु ।
मनिता थापा, फेसन डिजाइनर
लामो समयपछि नयाँ एल्बम प्रेमको भिखारी लिएर आएको छु । उक्त एल्बमको भिडियो पनि तयार भैसकेको छ, अब यसलाई रिलिज गर्ने सोचमा छु ।
गगन सरगम, गायक
नेपालीहरूको महान् चाड दसैं–तिहार एकदम रमाइलोसँग मनाइयो । अब चलचित्र ‘सम्हालिन्छ कहिले मन’ मा व्यस्त हुनेछु । अहिले धमाधम स्क्रिप्ट र संगीतको काम चलिरहेको छ ।
सुदर्शन थापा, निर्देशक
अब नेपालमा नील डेभिड्स एकेडेमी तथा सलोनलाई थप उचाइमा लाने जिम्मेवारी ममाथि छ भने भारतका ५ वटा राज्यका लागि मास्टर फ्रेन्चाइज दिने कागजमा साइन गरिसकेको छु । त्यसैले त्यसको काम पनि छ, नेपाली ब्रान्डलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने सोचमा छु ।
नील डेभिड कटवाल, हेयर स्टाइलिस
मेरो अफिसको काम अनि स्टेज प्रोगामका लागि विदेशतिर जाने सोचमा छु ।
बिनु शाक्य, मोडल
निर्माणाधीन चलचित्र शुभ लभको केही काम बाँकी छ, त्यो सिध्याउनतिर लाग्नेछु । यसका साथै अफिसको काम पनि उत्तिकै छ । भारतमा एउटा कार्यक्रम हुँदैछ, त्यसको तयारीसमेत गर्दैछु । त्यस्तै, इजिप्ट र रसियामा ज्योतिष अनि वास्तु सम्मेलन हुँदैछन् त्यहाँ जान आफूलाई तयार गर्दैछु ।
हरिहर अधिकारी, ज्योतिष तथा अभिनेता
म चिकित्सा पेसामा आबद्ध भएकाले दसैं–तिहारजस्ता चाडपर्व मनाउने फुर्सद निकाल्न पनि धेरै गाह्रो हुन्छ । यसपालिको दसैं–तिहार पनि अपरेसन थिएटरमै बित्यो । तैपनि समय निकालेर जसोतसो चाड मनाएँ । अब चाँडै एउटा नयाँ गीतको भिडियो लन्च गर्दैछु ।
विक्रान्त मेहता, चिकित्सक तथा गायक
म त जिन्दगी नै गीत–संगीतमा समर्पण गरेको मान्छे यही क्षेत्रमा रहेर दर्शकको रोजाइ र फरक खालका कोसेली बजारमा ल्याउने काममै तल्लीन हुनेछु ।
सुशीला गौतम, गायिका
नयाँ गीत रेकर्ड गर्ने, स्टेज कार्यक्रममा व्यस्त हुने, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको नयाँ भवन निर्माणमा लाग्ने सोचमा छु । यसका साथै नयाँ–नयाँ गीत सार्वजनिक गर्ने त छँदै छ ।
बद्री पंगेनी, गायक
देश–विदेशमा थुप्रै कार्यक्रम छन्, थुप्रै गीत गाइयो, माया पनि धेरै पाइयो । अब नयाँ पुस्ताका साथीहरूका लागि फरक शैलीका नयाँ गीत तयार गर्ने सोचमा छु । म विभिन्न संघ–सस्थामा समेत आबद्ध छु, तिनकै माध्यमबाट सामाजिक सेवा पनि गरिरहेकी छु । अब त्यसको रफ्तार बढाउने सोचसमेत छ ।
राधिका हमाल, गायिका
म एक्लै केही सोच्दिनँ, हाम्रो समूहले सोच्छ । तत्काल हामी एउटा सिनेमा हल खोल्ने तयारीमा छौं । त्यसपछि एउटा चलचित्रको कथा अध्ययन गर्दैछौं ।
दीपकराज गिरी, अभिनेता
अब म नयाँ गीतको तयारीमा छु ।
अनिता चलाउने, गायिका
दसैं–तिहारले गर्दा धेरै काम बाँकी छन् । त्यसैले अब पुरानै कामतिर लाग्नुपर्ला ।
सृष्टि खड्का, मोडल
नाटक ‘लिलामे माइलो’ मञ्चनको तयारीमा छ । अब यसकै प्रचारप्रसारमा लाग्नेछु ।
राजाराम गौतम, रंगकर्मी
खासै त्यस्तो नयाँ सोच त केही छैन । एउटा नयाँ प्रोजेक्टको तयारीमा सहभागी हुँदैछु ।
पृथ्वीराज प्रसाईं, अभिनेता
अहिलेसम्म मेरा लागि नयाँ काम भनेको चलचित्र ‘ए मेरो हजुर–३’ नै हो । त्यसैले चलचित्रको सुटिङ छिटो सक्ने अनि रिलिज गर्ने काममा लागिपर्छु ।
झरना थापा, अभिनेत्री
अब राष्ट्रिय शिक्षा नीतिमा बहस चलाउने सोचमा छु ।
कोमल वली, सांसद तथा गायिका
मेरो नयाँ गीत सार्वजनिक गर्ने तयारीमा छु । यसका साथै, जाडो मौसममा मेला–महोत्सवहरू धेरै हुने भएकाले त्यतैतिर व्यस्त हुने सोच छ ।
टंक तिमिल्सिना, गायक
आफ्नो नित्यकर्म अर्थात् नयाँ–नयाँ सांगीतिक सिर्जना गर्ने काम नै प्रमुख हो । विद्यालयमा विद्यार्थी भाइबहिनीहरूलाई संगीत सिकाउने काम पनि जारी रहनेछ ।
आनन्द राई, संगीतकार