साप्ताहिक संवाददाता
म बाग्लुङको गलकोट उमाविमा कक्षा १२ मा अध्ययन गर्दै थिएँ । त्यही क्रममा मैले करुवाको पानी गीत सिर्जना गरेँ । त्यति बेला मलाई सांगीतिक क्षेत्रका बारेमा केही थाहा थिएन, तैपनि अरूको सिर्जना हेरेर आफ्नै लय, शब्द तथा स्वरमा ०५८ सालमा उक्त गीत रेकर्ड गराएँ । कक्षा १२ को अध्ययन पूरा भएपछि स्नातक तह अध्ययन गर्न म काठमाडौं आएँ । त्यसपछि मैले उक्त गीतलाई ०६१ सालमा बजारमा ल्याएँ । पञ्चेबाजामा आधारित यो गीतले खासै चर्चा त पाएन, तर मलाई यही गीतले सांगीतिक क्षेत्रमा लाग्न हौसला प्रदान गर्यो । यो गीतलाई मैले आफ्नो जीवनको पहिलो टर्निङ प्वाइन्टका रूपमा लिएको छु ।
नीलो फेवातालले चर्चामा ल्यायो
पहिलो गीत लगत्तै नीलो फेवाताल गीत सिर्जना गरें, जसमा मेरै शब्द, संगीत तथा स्वर छ, उक्त गीत मैले गायिका लक्ष्मी न्यौपानेसँग गाएको थिएँ । यो गीतले अत्यधिक मात्रामा चर्चा पायो । त्यसपछि मैले पछाडि फर्केर हेर्नु परेन ।
बरबर आँसुले मजबुत बनायो
यही सिलसिलामा म धौलागिरि क्यासेट सेन्टरमा आबद्ध भएँ । ०६३/६४ मा धौलागिरि क्यासेट सेन्टरबाट बरबर आँसु झर्दाखेरि गीत सार्वजनिक भयो । यही गीत सार्वजनिक भएपछि म आर्थिक रूपमा समेत मजबुत हुन थाले, त्यसपछि मात्र मलाई काठमाडौंमा बाँच्न सहज भयो ।
०६७ सालमा म्युजिक
कम्पनी खोलेँ
मलाई म्युजिक कम्पनीहरूले चिन्न थालिसेकेका थिए । धौलागिरि क्यासेट सेन्टरबाट मेरा थुप्रै सिर्जना बजारमा आए । यही क्रममा हामीले समर्पण म्युजिक कम्पनीको परिकल्पना गर्यौं, जहाँबाट चाहिं फूल राम्रो गुलाफको, यस्तै रै’छ माया, शीतल दिने पीपल समी छ, धेरै आँसु खसे आदि गीत बजारमा आए । यही क्रममा म श्रोता संगीत म्युजिक कम्पनीमा समेत आबद्ध भएँ, त्यहाँ पनि चर्चित गीतहरू सिर्जना भए । त्यसपछि मैले ०६७ सालमा अभ्यास डिजिटल म्युजिक कम्पनी दर्ता गरें । अहिले यसैबाट विभिन्न सिर्जना बजारमा ल्याइरहेको छु । यो कम्पनी खोल्नु मेरो जीवनको अर्को महत्वपूर्ण टर्निङ प्वाइन्ट हो ।