साप्ताहिक संवाददाता
सस्तो मूल्यमा गुणस्तरीय स्मार्टफोन रुचाउनेहरूका लागि शाओमीले रेडमी–६ मोडलको मोबाइल बजारमा उतारेको छ । कम्पनीले नेपालमा उपलब्ध गराएका चार मोडलमध्ये यो फोन मध्यम स्तरको मूल्यमा उपलब्ध छ । १६ हजार ४ सय ९९ रुपैयाँमै फिंगरप्रिन्ट सेन्सर तथा गुणस्तरीय सेल्फी क्यामेरासहितको स्मार्टफोन प्राप्त गर्नु आफैंमा राम्रो कुरा हो ।
शाओमीको रेडमी सिरिजलाई इन्ट्री लेभल मानिन्छ । रेडमी ६ सोही सिरिजको स्मार्टफोन हो । यसमा ५ दशमलव ४५ इन्चको डिस्प्ले छ भने फ्रन्टमा सेल्फी क्यामेरा, इयरपिस, सेन्सर र कर्नरतिर ह्वाइट नोटिफिकेसन एलईडी छ । यसको दायाँ साइडमा पावर तथा भोल्युम बटन छ ।
यसमा दुईवटा जीएसएम सिमकार्ड प्रयोग गर्न सकिनुका साथै माइक्रो एसडी कार्ड स्लटसमेत छ । हाल नेपालमा प्रचलित फोरजी सिम तथा भविष्यमा आउने भीओएलटीई प्रविधि समेत यसले सपोर्ट गर्छ । यसमा हेडफोन ज्याक तथा सेकेन्डरी माइक्रोफोन माथिल्लो भागमा छ । पछिल्लो भागमा बायाँ साइडमा ड्युअल क्यामेरा छ र त्यसकै साथमा सिंगल एलईडी फ्ल्यास लाइट छ । यस मध्ये १२ मेगापिक्सेलको प्राइमेरी क्यामेरा छ भने ५ मेगापिक्सेलको डेप्थ सेन्सर छ ।
रेडमी–६ को तौल जम्मा १ सय ४६ ग्राम मात्र छ । यसमा भएको ३ हजार एमएएचको ब्याट्रीले पटक–पटक चार्ज गरिरहनुपर्ने झन्झटबाट केही भए पनि राहत दिन्छ । रेडमी ६ को बक्समा हेडफोन भने उपलब्ध छैन ।
शाओमीको स्मार्टफोन मिडियाटेक प्रोसेसरको सहयोगले चल्छ । यो १२ एनएम म्यानुफ्याक्चरिङ प्रोसेसमा आधारित अक्टाकोर प्रोसेसर भएको बताइएको छ । यो २ गिगाहर्ज क्षमताको छ । रेडमी–६ दुई भेरिएन्टमा उपलब्ध छ । एक ३ जीबी र्याम र ३२ जीबी स्टोरेज तथा अर्को ३ जीबी र्याम र ६४ जीबी प्रोसेसर । यी दुवैलाई माइक्रो एसडी कार्डको सहयोगले २ सय ५६ जीबीसम्म बढाउन सकिन्छ ।
यसमा घडी, क्यालकुलेटर, एफएम रेडियो, रेकर्डर, कम्पास आदि वाहेक एमआई स्टोर, एमआई कम्युनिटी, एमआई भिडियो आदिसमेत उपलब्ध छन् ।